फिल्म बनाउने पैसा जुटाउन बाख्रा चोर्ने दाजुभाइ पक्राउ

एजेन्सी । फिल्म बनाउन पैसा नपुगेपछि बाख्रा चोर्ने दुई दाजुभाइ पक्राउ परेका छन् । बाबुले बनाएको फिल्ममा छोराको मुख्य भुमिकामा अभिनय थियो । तर पैसाको अभावले सुटिङ रोकिएपछि उनीहरु बाख्रा चोरी गर्दै बेचेर पैसा जुटाउनमा लागि परेका बुझिएको छ ।
३० वर्षका भी निरन्जन कुमार र उनका दाजु ३२ वर्षका लेनिन कुमारले तमिलनाडुको वाशरमेनपेट क्षेत्रमा विगत ३ वर्षदेखि बाख्रा चोरिरहेका टाइम्स अफ इण्डियाको रिपोर्टले देखाएको छ ।
उनीहरुले बाख्रा बेचेर आएको पैसा जम्मा गरेर फिल्म बनाउन लगानी गर्ने सोच बनाएका थिए । तर, गत शनिबार उनीहरु पक्राउ परेका हुन् ।
दैनिक रुपमा दाजुभाइले १० वटासम्म बाख्रा चोरी गर्दै प्रतिगोटा ८ हजारमा बेच्थे र त्यो पैसा फिल्म बनाउनका लागि जुटाएका थिए । तर पक्राउ परेसँगै त्यो क्रम रोकिएको छ ।
सुरुमा दैनिक २ वटा मात्र बाख्रा चोरी गरेपनि उजुरी नपरेपछि उनीहरु नियमित रुपमा चोरीमा लागि परे । मान्छे नभएको मौका छोपेर बाख्रा चरिरहेको ठाउँबाटै उनीहरु कारमा बाख्रा हालेर हिन्ने गर्थे ।
गएको अक्टोबर ९ मा मधावरम क्षेत्रका पलानी नामका व्यक्तिको एउटा बाख्रा हराएसँगै उनले प्रहरीमा उजुरी दिए । पलानीको उजुरीपछि बाख्रा हराएको क्षेत्रको सीसीटिभी जाँचमा पुलिसले बाख्रा चोरी भएको देख्यो तर कारको नम्बर प्रस्ट बुझिएन । अनुसन्धानको क्रममा पुलिसले त्यस क्षेत्रमा अरुको पनि एउटा वा २ वटा बाख्रा हराएको तर उनीहरुले उजुरी नगरेको पत्ता लागेको थियो ।
शनिबार प्रहरीले बाख्रा चोरी गर्दै गर्दा ती दाजुभाइलाई पक्राउ गरेको हो । पिता विजय शंकरले ‘नी थान राजा’ नामको फिल्म बनाउँदै थिए र फिल्मको मुख्य भूमिकामा दाजुभाइ थिए । फिल्म बनाउने पैसा सकिएपछि यी दाजुभाइले फिल्म बनाउन पैसा जुटाउन बाख्रा चोरी गर्न थालेका प्रहरीले बताएको छ ।