‘कोरोनाविरुद्धको खोप ल्याउन अध्यादेशको तयारी छ’

काठमाडौं । सरकारले कोरोना विरूद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउन सजिलो होस् भन्ने उद्देश्यले एक अध्यादेशको तयारी गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले खोप परीक्षण सफल हुनासाथ आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिनुभयो ।
पुर्वी नेपालका विभिन्न स्थानमा बनिरहेका स्वास्थ्य संस्थाको अवलोकन गर्दै विराटनगर पुग्नुभएका स्वास्थ्य मन्त्री ढकालले अध्यादेश तयारी अवस्थामा राखिएको बताउनु भएको हो । विराटनगरमा कोशी अस्पताल र प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को स्थलगत निरीक्षणपछि मन्त्री ढकालले देशभरका अस्पतालहरुमा सुविधा सम्पन्न ३ हजार ५ सय शय्या थप्न लागेको समेत जानकारी दिनुभयो ।
नयाँ थपिने ३ हजार ५ सय सुविधासम्पन्न शय्यामध्ये २ हजार काठमाडौंमा र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने उहाँको भनाइ छ । शय्या थपिएपछि अस्पतालहरूको सेवा थप प्रभावकारी हुने मन्त्री ढकालको विश्वास छ ।
कोरोना नियन्त्रणको काम र स्वास्थ्य क्षेत्रको सुधार दुवै एकैसाथ अघि बढाइएको उल्लेख गर्नुहुँदै मन्त्री ढकालले एउटा पनि अस्पताल नभएका ६४९ स्थानीय तहमा न्यूनतम ५ शय्ययाको अस्थायी अस्पताल निर्माणको काम थालनी गरिएको बताउनुभयो ।