Logo बैशाख २, २०७८ बिहीबार


तिहार पर्वको पौराणिक र सांस्कृतिक पक्ष

प्रा.डा.सोमप्रसाद उपाध्याय

नेपालीहरूले मनाउने दोस्रो ठूलो हिन्दूपर्व तिहार हो । यो पर्व कार्तिककृष्ण त्रयोदशीबाट शुरू भएर कार्तिकशुक्ल द्वितीयासम्म जम्मा पाँचदिन मनाइने र यस पर्वका अवसरमा यमराजको पूजाआजा गरिने हुनाले यसलाई यमपञ्चक पनि भनिन्छ । यस चाडमा किन यमराजको पूजा हुन्छ भन्ने सम्बन्धमा एउटा पौराणिक कथा पाइन्छ, जसअनुसार एकपटक दूतहरूले यमराजलाई रोगी, बृद्ध र अकालमा मृत्यु हुनेहरूलाई ल्याउनु नपरेमा राम्रो हुने विचार व्यक्त गरेछन् भने यमराजले पनि उक्त समयमा घर सफासुग्घर राखी उनको पूजाआजा गरेमा मानिसहरूको अकाल मृत्यु हुने छैन भन्ने कुरा बताएछन् । यता यमराजका दूतहरू काग र कुकुर समेत भएकाले तिहारमा तिनीहरूको
समेत पूजाआजा गर्ने चलन यहींबाट शुरू भएको हो भन्ने जनविश्वास छ ।

तिहारको उत्पत्तिका सम्बन्धमा प्राप्त किम्बदन्तीअनुसार जसले पाँच दिनसम्म घरआँगन सफा राखेर यमराजको पूजा गर्दछ, त्यसको अकाल मृत्यु हुँदैन । यो चाड यस आधारमा यमराजको पूजाआजासँग सम्बन्धित छ रहेको मानिन्छ । त्यसैले यसलाई यमपञ्चक पनि भनिन्छ । यसैगरी यमराजकी दिदी यमुनाले यमराजको पूजा गरेको तथा दिदीभाइको माया अटल रहोस् भन्ने कामना गरेको हुनाले भाइटीका लगाउने गरिएको मान्यता राखिन्छ । यसले दाजुभाइ र दिदीबहिनीका बीचमा प्रेम र सद्भाव प्रकट गर्न सहयोग गर्दछ भन्ने विश्वास गरिन्छ ।

तिहारको पहिलो दिन कागको र दोस्रो दिन कुकुरको पूजा गर्ने चलन छ । त्यस्तै तिहारको तेस्रो दिन अर्थात् कार्तिक कृष्णऔंसीका दिन विहान लक्ष्मीका रूपमा रहेका गाईको र साँझमा लक्ष्मीको पूजाआजा गर्ने परम्परा पाइन्छ । धन्यधान्यकी देवी लक्ष्मीको पूजाआजाका सम्बन्धमा जनमानसमा प्रचलित एउटा कथाअनुसार वामनावतार विष्णुले बलीको यज्ञ पूरा हुन नदिएपछि उनीसँग विष्णुले के माग्नु छ भनी सोधेकोमा बलीले पनि जुन घरमा यमपञ्चक र दीपावली गरिन्छ, त्यस घरमा लक्ष्मीले बास गरून् भन्ने कुराको माग गरेकाले विष्णुले बलीको इच्छा पूरा हुने आश्बासन दिएछन् । उक्त कथनअनुसार त्यसै समयदेखि तिहारका समयमा दीपावली गरेर लक्ष्मीपूजा गर्न लागिएको हो भनिन्छ । नेपाली समाजमा प्रचलित शिवरात्री, मोहरात्री, कालरात्री र सुखरात्रीमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रीका रूपमा लिने गरिन्छ । त्यस दिन बत्ती बालेर विशेष उत्सवका साथ लक्ष्मीपूजा गर्ने परम्परा छ । गाउँघरमा त्यसै रात महिला र कन्याहरू भैलो खेल्ने
गर्दछन् ।

तिहारको चौथो दिन या कार्तिकशुक्ल प्रतिपदाका दिन गोरू पूजा, बली पूजा र गोबर्धन पूजा गर्ने चलन छ । काठमाडौं उपत्यकाका नेवारहरूचाहिं त्यस दिन आफ्नाे दीर्घायुका लागि म्हपूजा गर्ने गर्दछन् (कोइराला, २०५२ः ३६) । त्यसै दिनदेखि नेपालमा नेपाल सम्वत्को नयाँ साल शुरू हुने गर्दछ ।

यता तिहारको अन्तिम दिन या कार्तिकशुक्ल द्वितीयाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको पूजा गर्दछन् । भाइपूजाको शुरूवातसम्बन्धी एउटा पौराणिक कथाअनुसार अघि एकपटक यमराजकी बहिनी यमुनाले दाजु यमराजलाई आफ्नो घरमा निम्ता गरिछन् । वहिनीको निम्ता मान्न यमराज पनि यमुनाको घरमा गएछन् । यमुनाले दाजुको सत्कार सम्मान गरी पूजा गरेको र उनले अरू दिदीबहिनीले पनि यस्तै दाजुभाइलाई भेट्न पाउन् भन्ने बर माग्दा यमराज खुशी भएकाले उनले त्यस्तै हुने बर दिएछन् र त्यसै दिनदेखि तिहारमा दिदीबहिनीले भाईपूजा गर्न लागेका हुन् भनिन्छ । भाइपूजाको दिनदेखि तिहार पर्व पनि समाप्त हुने गर्दछ ।

तिहारपर्व नेपालमा कहिलेदेखि मनाउन लागियो भन्ने कुरा हालसम्म स्पष्ट हुन सकेको छैन । नेपाल सम्वत शुरू भएताका या ई. ८७९ देखि चाहिं यो पर्व वर्सेनि मनाउने गरिएका प्रमाणहरू पाइन्छन् । तसर्थ यो पर्व पनि प्राचीन कालदेखि नै मनाउन लागिएको हुनसक्ने अनुमान गरिएको छ । नेपाली जनमानसमा यसलाई हर्षोल्लास र खेलकुद तथा मनोरञ्जनको पर्वका रूपमा मनाउने चलन छ । हाल पनि तिहारका समयमा देउसी, भैलो, पिङ र अन्य प्रकारका खेलकुद खेल्ने र रमाईलो गर्ने गरिन्छ (उही, पृ. ३८) ।

तिहारगीतमा चर्चा गरिने वलिराजा को हुन् ?

तिहारका समयमा भैलो र देउसी खेल खेलिन्छ । उक्त अवसरमा गाइने गीत भैलो र देउसीगीत हुन् । त्यस्ता गीतहरू लोकगीत अन्तर्गत पर्दछन् र तिनीहरूलाई तिहारका अवसरमा गाइने हुनाले तिहारगीत पनि भनिन्छ । देउसी प्रथा भने जुम्लाका राजा वलिराजले चलाएको पनि उल्लेख पाइन्छ (कोईराला, २०५२ः ३९) ।

तर यसका ठोस प्रमाण भने पाउन सकिएको छैन । यता तिहारगीत तथा देउसी गीतमा अन्य विषयबस्तुका साथमा वलिराजाको पनि चर्चा गर्ने गरिन्छ । तसर्थ देउसीगीत र वलिराजाका बीचमा सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ । भारतमा भने तिहारको समयमा देउसी र भैलो खेल्ने चलन नपाइने हुँदा यसको चलन नेपालमा नै शुरूवात भएको अनुमान छ । नेपालमा देउसी पुरूषहरूले र भैलो महिलाले खेल्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।