Logo मंसिर २०, २०७७ शनिबार


स्मरणमा तिहार

-अर्जुन आचार्य

मेरो एकजना मित्रले “दशैलाई छोटकरीमा स्मरण गर्नु भएको रहेछ अब तिहारलाई पनि स्मरण गरेर केही लेख्नुस् न ! तपाईंहरु गाउँमा जन्मिनु भो, हुर्किनु भो। केही सुनाउनुस् यसै पनि गाउँका किस्सा रमाइलो खालका हुन्छन् !” भनेपछि, दशैंको टीकाको भोलिपल्ट मैले हुन्छ नि कोसिस् गर्छु है ! भनेको थिएँ, नभन्दै तिहार आइपुगेछ ।

बिहानै गोठ मुनिको मलखातको झिक्रा (गाईभैंसीको गोबरलाई जम्मा पार्न बाँसबाट बनाइएको खाडल) मा बसेर काग करायो भने हजुर आमाले हा  गरेर उडाउनु हुन्थ्यो र भन्नु हुन्थ्यो “आज यो काग किन झिक्रामा बसेर कराउँछ !” सुकेको बाँसले बारेर बनाइएको गोठको मलखातमा बसेर काग करायो भने अशुभ हुन्छ रे भन्ने कुरा हजुरआमाको मुखबाट सुनेपछि, म घर हुँदा त्यो काग मलखातको झिक्रामा बस्नसम्म पाएन काराउनको त कुरै छोडौ !

त्यही काग एका बिहानै घर मुनिको कुटमेराको रुखमा बसेर कराउदा हजुरआमाले भन्ने गर्नुहुन्थ्यो “आज को मान्छे पाहुना आउने रैछ्न् कि यसले राम्रो खबर लिएर आयो आवाज पनि अर्कै छ” मैले उसलाई कहिले लखेटिनँ, आउथ्यो र दील खोलेर कराएर जान्थ्यो !

मलाई घरमा पाहुना आउँदा खुब खुशी लाग्थ्यो ! हाम्रोतिर घर बढार्ने कुँचो झुक्किएर ठाडो भयो भनेपनि पाहुना आउछन् भन्ने चलन छ ! मैले घरमा गल्ती गरेर गाली खाने दिन पाहुना आउन भनेर कुँचो ठाडो पार्ने गर्थे । कहिलेकाही त्यो आइडिया काम गरी पनि हाल्थ्यो ! घरमा मान्छे आएको बेला गाली अलिक कम खाइन्थ्यो ! पाहुना आउनु संयोग थियो जस्तो अहिले लाग्छ। त्यतिबेला त्यही कागको सन्देश या कुचोको प्रभाव हो भन्ने लाग्थ्यो !

हजुरआमाले कौवाभाषा बुझ्नु हुन्थ्यो क्यारे शुभ अशुभ छुट्टाउनु हुन्थ्यो ! मैले मलखातको झिक्रो र कुटमेराको रुख हेरेर छुट्टाउथे !
कुकुरलाई बफादार प्राणी भनिन्छ ! घरमा कुकुर नभए पनि बिहान खाना खादा एकगाँस खानाको डल्लो बनाएर बाहिर राखिदिनु हुन्थ्यो । डुल्दै आएका कुकुरले खाने गर्थे । मलाई घरपालुवा जनावरमध्य कुकुर मनपर्ने जनावर हो । एकपटक रहर गरेर ल्याएर पालेको थिए त्यही पनि मर्यो । त्यसपछि पाल्ने मन लागेन ।

घरमा हल गोरु थिए। ठुटे र तारे नाम गरेका । म सानै हुँदा बेच्नु भएको त्यति सम्झना छैन । ठुटे गोरु मान्छे जस्तो थियो । जंगलमा चर्न जादा बाटो बिराएर हरायो भने ‘ए, ठुटे’ भनेर बोलाउदा हम्बाञ्ञ् गर्थ्यो भन्नुहुन्थ्यो आमाहरुले ।

मैले थोरै भूमिका बाँधेर काग, कुकुर र गोरुको बारेमा किन लेखेको भने यो चाड यिनीहरुको पनि हो जसले हामीलाई वर्ष भरी विभिन्न किसिमले साथ दिएका छन् ।

दशैको पुर्णिमाको भोलिपल्टबाट नै तिहारको तयारीमा लाग्थे अंकल, दाईहरु । मादलको खरी भर्ने, बजाउने सामानको जोहो गर्ने, भैलोको टिम बनाएर तयारी गर्ने ।  गाउँमा ठूलो भैलो र सानो भैलो अनी देउसिरे गरेर तीन प्रकारका भैलो हुन्थे । ठूलो भैलोमा मारुनी (मारुले), पुर्सुङे हुने गर्दछन् । यो रातीमा खेलीन्छ। जसमा उमेरले अलिक पाका खालका लोग्ने मान्छे खेल्ने गर्दछन । मादल मुरली झ्याली यसका प्रमुख बाजा हुन् ।

सानो भैलो मजुरा र खैजडीको समिश्रण सहित बनेको हुन्छ। अत्यन्तै निर्दोष । यो टिम ९ देखी ११ जनाको हुन्थ्यो। जोसँग बजाउने चिज छन् उनीहरुलाई प्राथमिताका साथ सम्मानपुर्वक टिममा राखिन्थ्यो । केही नहुनेहरु टिममा पर्ने सम्भाबना न्यून हुन्थ्यो। अर्को हुन्थ्यो देउसिरे । जहाँ दिदी बहिनीहरु खेल्ने गर्नुहुन्थ्यो । यो ठ्याकै कस्तो हुन्थ्यो मलाई अड्कल भएन । दिदीबहिनीहरु खेल्ने भएकाले नाचगान पक्कै हुन्थ्यो । रमाइलो हुन्थ्यो होला ।

देउसी खेल्ने भन्ने प्रचलन भएपनि भनभन भाई हो भैलो नै हुन्थ्यो। म सानो भैलोको भट्टाउने मान्छे, अब सानो भैलोलाई थोरै स्मरण गरौ ।
ए काकी के गर्न लाग्नु भो ?  ‘बल्ल दैलो (कुँचो, घुर) कसेर गरेर सकियो अब भैंसीलाई पानी दिएर जुठो भाँडो सकाएपछि चिया पकाउने हो . कता हिडिस् ठुला ? ”खैजडीको जोहो गर्न जादा बाटा मुनिकी काकीले भन्नु हुन्थ्यो ।

दशैलाई बिदाइ गरेपछि तिहार आइपुग्न २०/२२ लाग्छ । यो बीचमा जोत्न बाँकी रहेका बारी, काट्न सकिने खरबारीको खर सकिसक्नु पर्ने चटारो हुन्थ्यो । यसैपनि गाउँका काम केही गरे सकिदैनन् । “तिहारा मओल जानी भनिकिम हेर छोरा, तिहार नि आइसको, रोटा पकाउन त्यसै छ्न्, माला बनाउन फूल नि गतिलो फुलेन”काकीले भन्नुहुन्थ्यो ।

गाउँदेखि पारीपट्टी जोत्नी दाईको घर थ्यो । दाईले गहुँ छर्न आएको बेला तिम्लाई खैजडी दिउँला भनेका थिए। पूर्णिमाका अर्को दिनबाट धाउदा धाउदा गाई पूज्ने दिनको बिहानसम्म बल्ल हात लाग्थ्यो। पहिले नरम भएर दिन्छु भनेका दाईले भाडा लाग्छ भन्थे, त्यही दिनबाट भैलो खेल्ने हो । साथीहरुलाई बचन दिएको छु। अब नलीई गएँ भने, भैलो खेल्न नि नपाईने, विश्वासघाती नि हुने भैगो लैजान्छु त नि भनेर आफ्नो गोजीबाट २० रुप्पे भाडा तिरेर लिएर आएको थिएँ ।

दिनभरी भैलो खेलर सय रूपैयाँ जती जम्मा हुन्थ्यो ३ दिन सम्म चिच्याऊदा चिच्याऊदा बल्ल बल्ल तीन सय जती हुँथ्यो । बुढ़ापाकाले तिहारको दान आफ्नो खुसीले गर्ने हो जबरजस्ती हुदैन भन्थे । बरु रोटी खाएर जाऊँ भन्थे । अब २/५ रुप्पे गरेर जम्मा पारेको धेरै जस्तो लागथ्यो । सबैलाई बराबर हुने गरेर बाढेपछि भैलो सकिनथ्यो ।

मलाई डम्फो (खैजडी) बनाउने हुटहुटी चलेको थियो । सधैं अरुको मागेर कती बजाउनु आफ्नो हुनुपर्छ भन्ने लागेको थियो। जीजु हजुरबाको पालामा त मजुरा खैजडी घरमै थिए अरे । हजुर बा, बा र हाम्रा पालासम्म आउदा ति लोप भैसकेका थिए ।

गोहोराको छालाबाट खैजडी बनाउन सकिन्थ्यो आफ्नो त्यति उपती थिएन। एकदिन गाउँका काका पर्नेले गोहोरो(गोही प्रजातीको स्थानधारी जिब) मार्नु भएको रैछ । “साना मसँग छाला छ तिम्ले ठेकाको मुख जुवाड गर” काकाले भनेका थिए । खैजडी बनाउन मही बनाउने ठेकी वा दही जमाउने ठेकीको खाँचो पर्थ्यो । मही बनाउने अलिक ठुलो हुन्थ्यो । दही जमाउने ठीक्क हुन्थ्यो ।  मैले घरमा दही जमाउन राखेको ठेकीको मुख (घाटीबाट) काटेर लिएर गएँ । त्यसपछि पाएको सजायले रत्नाकर जस्तो म बाल्मिकी जस्तो हुन पुगेको थिए । समग्रमा मलाई यस्ता काम गर्नु स्वाभाबिक लाग्थ्यो ।

घरभरी सुन्तला हुन्थे साथीको लहलहीमा लागेर छिमेकीका सुन्तला चोर्नु । गाडा बनाउन खरबारिका बाँस काट्नु, त्यही गाडाको डिजेल बनाउन । गिठीका बोक्रा काट्नु, बारीका मुला गोड्नु खाएको खानु नखाएको फाल्न्नु, स्कुलबाट आँप टिप्न जानु, तिजु (खल्टुक)का रुख चाहार्नु, काफल र ऐसेलु खादै जंगल डुल्नु, तिजुको रुखबाट लडेर मुखभरी चोट लाग्दा ठेस लागेर लडेको भनेर झुट बोल्नु, माछा भनेर ठूलो टाउको गरेका चेपागाडा छोपेर ल्याउनु, तिनै चेपागाडा पाल्न भनेर गहुँको बिऊ भन्डार गर्न ल्याएका गिलेन काट्नु, खाजा (यो खाजा, नास्ता वाला खाजा हैन साथीहरु मिलेर खाने अहिलेको पार्टी जस्तो) खान भनेर लुकिलुकी जानु यस्तै यस्तै…।

यति गर्दा पनि अरुसँग कुटपिट लडाईं झगडा भने कहिले भएन ।  तिहारका मादल बजेपछि कटुसको दाना कानो हुन्छ भन्ने चलन छ ।
गोबर्धन पूजाको अघिल्लो साँझ चिउरीको दुनामा तेल राखेर घरको ढिकी,जाँतो, गोठका बस्तुभाउलाई निमन्त्रणा गरिन्थ्यो ।
भोलिपल्ट गाईपूजाको दिन गाईपूजेपछि बसुधारा (तेल, चामलको पिठोमा टीका राखेर घोलेर ढोकाको संघारमा)हाल्ने गरिन्थ्यो त्यसपछि बल्ल देउसी भैलो खेल्ने बाटो खुल्थ्यो । घरको दोबाटो काट्ने गरेर बाधेको तोराणले छुट्टै रंग भर्ने गर्थ्यो ।

यसरी पाँच दिनसम्म मनाईने तिहारको बारेमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरी मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ। यसरी रहँदा (बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।

यसरी हर्षाेल्लास पूर्वक चाडपर्व नमनाएको वर्षौ भएछ । एउटै कोखको दिदीबैनी नभए पनि निधार खाली बस्नु नपर्ने, टपरी भरीका रोटी आज पनि उत्तिकै याद आउछ्न् ।  उमेर बढ्दै जाँदा जिम्मेवारी थपिदै जानु र रमाइलो घट्दै जानु स्वाभाविकै हो । तैपनि ती दिन स्मृतिका पानामा स्वर्णिम अक्षरले लेखिएका छ्न् ।

चाडपर्व हरेक वर्ष आउछ्न् उस्तै उमंग लिएर, अनि धेरथोर खुशी दिएर जान्छन् । हिन्दू धर्मका चाडबाडका आफ्नै महत्व छन् । त्यसो त अन्य धर्मालम्बीहरुका चाडबाडले पनि आफ्नै महत्व बोकेका छन् । अझ भनौ छुट्टै पहिचान बोकेका छन् । हिन्दू धर्मलाई मान्नेहरुले मनाउने चाडबाड एउटै भएपनि मनाउने तरिका भने जातजाती अनुसार फरक फरक छ जुन आफैमा रोचक छ ।

हामी नेपालीहरुले एकअर्काका धर्म होस् या संस्कृती सबैलाई सम्मान गर्दछौ । यो हाम्रो विशेष पक्ष हो । देशभित्र आफ्नाआफ्नै पहिचान भए पनि समग्रमा हाम्रो राष्ट्रिय पहिचान नेपाली नै हो ।

पछिल्लो समयका बालबालिकाहरुले चाडबाडको महत्व बिर्सिदै गरेको आभाष हुन्छ । चाडपर्बलाई फेसनको रुपमा लिनु, मौलिकता हराउनु र अश्लीलता भित्रिदै जानुले पनि हाम्रा मौलिक पर्वहरुको महत्व घट्दै गएको त हैन भन्ने कताकता आभास हुन थालेको छ । भलै पहिले पहिलेको जस्तो किस्सा नबन्लान् तर अहिलेको बच्चाहरुलाई पनि मौलिकतामा रमाउन सिकाउनु पर्दछ । सानातिना कुरानै किन नहुन् सुनाउनु पर्दछ । जसले गर्दा महत्व सधैं रहिरहोस्। उनीहरुलाई पनि हौसला बढोस्, चासो रहिरहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।