कालिज र बन्दुकसहित ५ शिकारी पक्राउ

म्याग्दी । बेनी नगरपालिका वडा नम्बर ४ मा हतियार र कालिजसहित ५ शिकारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दी नगरपालिकाको थामडाँडाको अर्जे खोलाको जंगलमा वन्यजन्तु चोरी शिकारी गर्ने शिकारीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बेनी नगरपालिका वडा नम्बर ४ थामडाँडाका ४९ वर्षीय पूर्ण गुरुङ, २० वर्षीय सन्दीप गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, ३६ वर्षीय सकबहादुर गुरुङ र २१ वर्षीय सञ्जय गुरुङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । रातको समयमा जंगलमै पक्राउ परेकाहरुको साथबाट कालिज र एक थान एक नाले भरुवा बन्दुकसमेत बरामद गरिएको चौधरीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरु विरुद्ध वन्यजन्तुको अवैध चोरी शिकारी र अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । वन्यजन्तुको चोरी शिकारी हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले विशेष टोली परिचालन गरेको थियो ।