Logo मंसिर २०, २०७७ शनिबार


आफ्नै कारण घेराबन्दीमा ओली, बैठक ‘इग्नोर’ गर्ने आधारसम्म गुम्दै

-दीपेन्द्र दोङ तामाङ/नरेश न्यौपाने

काठमाडौं । बहुमत सचिवालय सदस्यका तर्फबाट कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेश गर्नु भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक घेराबन्दीमा पर्नुभएको छ ।

अध्यक्ष दाहालको प्रस्तावमा बहुमत सदस्यको सहमति रहेकोले सचिवालय बैठकमा सहजै पारित हुने सम्भावना बलियो भएपछि ओली दबाबमा पर्नुभएको छ । त्यसैले ओली समूहले सके प्रस्ताव फिर्ता गराउने नसके सचिवालय वैठक नै इग्नोर गर्ने रणनीति बनाएको छ । तर दुवै अवस्था सहज नदेखेपछि ओली समूह अहिले राजनीतिक घेराबन्दीमा परेको हो ।

त्यसो त अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले केही दिन यता राजनीतिक भेटघाट बढाउनुभएको छ । त्यसक्रममा उहाँले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेतालाई भेटिसक्नु भएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेर यसबारेमा परामर्श लिनुभएको छ ।

राष्ट्रपतिसँगको भेटमा दल विभाजन सम्बन्धी अध्यादेशको बारेमा समेत छलफल भए पनि एकपटक फिर्ता भैसकेको अध्यादेश पुनः ब्युताउँदा अदालती झण्झटमा पर्ने भन्दै राष्ट्रपति भण्डारीले सबैभन्दा राम्रो विकल्प उपाध्यक्ष गौतमलाई राजी गराउनु हुने सुझाव दिनुभएको स्रोतले बतायो । राष्ट्रपतिसँगको पराशर्मपछि उपाध्यक्ष गौतमलाई बालुवाटार बोलाएर छलफल गर्नुभए पनि उपाध्यक्ष गौतमले सबै कुरा सचिवालय बैठकमै गर्ने जवाफ दिनुभएपछि प्रधानमन्त्री थप तनावमा पर्नुभएको छ ।

त्यसैक्रममा पूर्व एमालेका प्रभावशाली नेताहरूलाई यसअघि नै भेटिसक्नु भएका अध्यक्ष ओलीले हिजो सोमबार राति आफ्नो समूहका सदस्यहरुसँगै पूर्व माओवादी पृष्ठभूमिका नेता देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीलाई बोलाएर निकासबारे सुझाव लिनुभएको थियो । अरु नेताहरुले जस्तै आफूहरुले पनि पार्टी एकताको रक्षाका लागि दुई अध्यक्ष मिलेर अघि बढ्नुको विकल्प नभएको र त्यसमा पहल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको नेता पौडेलले बताउनुभयो ।

बुधवारका लागि सचिवालय बैठक रोक्ने वा फेस गर्ने दुवै आधार कमजोर बन्दै गएको अवस्थामा अघिल्लो दिन आज मंगलवार पनि अध्यक्ष ओली पक्षले भेटवार्तालाई निरन्तरता दिएको छ । प्रधानमन्त्री ओलीकै निर्देशनमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र पार्टी महासचिव विष्णु पौडेलबीच आज बिहानै भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा पार्टीमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

पौडेलले दुई अध्यक्षलाई मिलाउन सहजीकरण गरिरहनुभएको छ । भोलिका लागि बोलाइएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली केही समयपछि सार्नुपर्ने पक्षमा हुनुहुन्छ भने ओलीसँग असन्तुष्ट अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल पक्षले ओली पक्ष सामेल नभए पनि भोलि नै सचिवालयको औपचारिक बैठक डाक्नका लागि तयारी तीव्र पारेको छ । यसैबीच पार्टीभित्रकाे अन्तरसंघर्षमा लामाे समयदेखि माैनता साँधिरहनु भएका गृहमन्त्री रामबहादुर थापाले पनि प्रचण्डलाई अन्तमा साथ दिने वचन दिइसक्नुभएकाे बताइन्छ ।

त्यसका लागि आज मगंलबार साँझसम्म ओलीपक्षका गतिविधि नियाल्ने, त्यसपछि आजै साँझ या भोलि बिहान अनौपचारिक बैठक बसी सचिवालयको औपचारिक बैठकका एजेण्डा तय गर्ने दाहाल–नेपाल पक्षको तयारी छ। भोलि बुधवार पूर्वनिर्धारित समयमा सकेसम्म सहमतिमै बैठक बस्न प्रयास भइरहेको बताउदै दाहाल–नेपाल पक्षका नेता एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सहमति नभए पनि सचिवालय बैठक भोलि नै बस्ने जानकारी दिनुभएको छ ।

सचिवालय बैठकका सम्भावित एजेण्डा :

यसअघि सचिवालयय बैठक बस्नुअघि नेकपामा पार्टी विधानअनुसार एजेण्डा तय गर्ने चलन थियो । दुई अध्यक्षबीच छलफलका विषयमा सहमति भएपछि मात्रै पार्टी महासचिवलाई बैठक बोलाउन अध्यक्षद्वयमध्ये एकजनाले निर्देशन दिने गर्थे ।

योपटक सचिवालय बैठक भोली बस्ने मिति त तय गरिएको छ तर अध्यक्षद्वयबीच नै संवादहिनताको अवस्था छ । बैठक बस्नुपूर्व अध्यक्षहरुबीच समन्वय गराउन महासचिव विष्णु पौडेलको सक्रियता बढेपनि दुई अध्यक्षबीच छलफलको सम्भावना देखिदैन । यसैले दुई अध्यक्षबीच संवाद नै नभइकन बस्ने बैठकको मूल एजेण्डा कार्यकारी अध्यक्ष दाहालको प्रस्तावअनुसार अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद त्याग्नुपर्ने वा दुईमध्ये एक पद छोड्नुपर्ने हुनेछ ।

ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छोड्न आग्रह गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार र पार्टी दुवै अपेक्षा अनुसार चल्न नसकेको बरु दुवै संरचनामा ओलीको एकलौटी र समन्वय नगर्ने स्वभावका कारण संकट उत्पन्न भएको निष्कर्ष निकालेकोे दाहाल नेपाल समूहले पहिले दुवै पदबाट राजीनामा दिन आग्रह गर्ने र त्यो नमाने एक पद भएपनि छोड्न आग्रह गर्नेछ । तर ओलीले दुवै पद नछोड्ने अडान लिँदै आउनुभएको छ ।

पार्टी विधि पद्धति र बैठकका निर्णयका आधारमा सञ्चालन गर्ने

असन्तुष्ट नेताहरुले ओलीका कारण पार्टी विधि र पद्धतिमा नचलेको भन्दै अध्यक्ष ओलीले आत्मालोचना गर्नुपर्ने विषयलाई बैठकमा एजेण्डाका रुपमा प्रस्तुत गर्ने सम्भावना छ । यसअघि मनोमानीपूर्ण ढंगबाट गरिएका केही निर्णयको खारेजी र पछिल्लो स्थायी कमिटीको बैठकका निर्णयलाई जस्ताको तस्तै पालना गर्नुपर्नेमा उनीहरुले जोड दिनेछन् ।

सरकार र पार्टीबीच समन्वय स्थापित गर्ने

कार्यकारी अध्यक्षलगायतका नेताहरुले नेकपाले तय गर्ने भनिएको समाजवादको बाटोमा वर्तमान सरकारले एक पाइला पनि अघि नबढाएको आरोप लगाइरहेका छन् । जसको कारण ओलीले सरकारका कामकारबाहीमा पार्टीमा कहिल्यै पनि परामर्श नगरेको र दिएको सल्लाह पनि अटेर गरेको उनीहरुको भनाइ छ । यसर्थ सचिवालय बैठकमा भविष्यमा सरकार र पार्टीबीचको सम्बन्ध र समन्वय कस्तो हुने भन्ने विषयलाई एजेण्डा नै बनाएर छलफल गरिने छ ।

उल्लेखित प्रस्ताव बनाएर बैठकमा छलफल हुने देखिएपनि नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने यो पटक ओलीलाई जनता र पार्टीको अपेक्षाअनुसार सरकारको नेतृत्व गर्न नसकेको र पार्टीलाई पनि अनिर्णयको बन्दी बनाएकोले दुवै पद छोड्न लगाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।