तिहारमा मात्रै विदेशियाे ७ अर्ब रुपैयाँ

काठमाडौं । झिलीमिली र रमझमको पर्व तिहार तपाई हाम्रो घरबाट विदा भएको छ । तर, तिहार गएसँगै नेपालीको अर्बौ रुपैयाँ पनि विदेशीको खल्तीमा पुगेको छ ।झिलीमिलि बत्ति, भाइ मसलादेखि फूलसम्म विदेशबाट आयात हुँदा नेपालले हरेक वर्ष तिहारसँगै अर्बौ रुपैयाँ गुमाउने गरेको छ । तिहारमा बजार बेचिने ९० प्रतिशत सामान विदेशबाट आयात हुन्छ । नेपाली टोपीका ठाउँमा चाइनाको रुमाल, पाला दियोको ठाउँमा विद्युतिय झिलिमिली बत्ती, भाइमसलाका ठाउँमा रक्सीसहितका विदेशी खाध्यान्न दिने चलन बढ्दै गएको छ । जसले नेपाली पन र नेपाली संस्कृति त मासिदै गएको छ नै नेपालबाट अर्बौ रुपैयाँ विदेशीको पोल्टामा पुग्ने गरेको छ ।
यो वर्षमात्रै फूल, भाइमसला, विद्युतिय बत्ती र तिहारका लागि चाहिने अन्य सामाग्रीहरुको आयतलाई हेर्ने हो भने करिब ७ अर्ब रुपैयाँ विदेश गएको छ । पछिल्लो समय आधुनिकताको नाममा नेपालीहरु बस्तुहरुलाई बेवास्ता गर्ने र विदेशी सामानप्रति मोह देखाउने क्रम बढेको यो तथ्यांकले पुष्टि गर्छ ।
३० करोड बराबरको बिजुली बत्ती
हरेक वर्ष तिहारकै लागि भनेर करोडौंको माला र झिलिमिली बत्तीको आयत हुँदै आएको छ । गत वर्ष करिब ६० करोड बराबरको विभिन्न रंगीविरंगी विद्युतिय बत्ती आयात भएको थियो । तर, यो वर्ष कोरोनाले बजारमा निकै प्रभाव परेको हुनाले गत वर्षको तुलनामा निकै कम सामान आयात भएको नेपाल इलोक्ट्रिक व्यवसायी महासंघले जनाएको छ । बजारमा एक सयदेखि २५ हजारसम्मको मूल्य पर्ने तिहारलक्षित विद्युतिय बत्तिहरु बिक्री हुने गरेको छ । नेपालमा चीनबाट करिब ७० प्रतिशत र भारतबाट ३० प्रतिशत विद्युतीय सामग्री आयात हुने गरेको महासंघले जनाएको छ ।
१ करोड बराबरको फूल आयत
यो बर्ष तिहारको लागि मात्रै करिब १ करोडको फूल भारतबाट आयत भएको छ । विगतलाई हेर्ने हो भने २५ करोड मुल्य बराबरको सम्मको फूल नेपालले आयत गर्ने गरेको थियो । यो बर्ष करिब ९१ प्रतिशत फुल नेपालमै उत्पादन भएको र ९ प्रतिशत मात्रै फुल भारतबाट आयत भएको नेपाल फ्लोरिकल्चर एसोसियशनका अध्यक्ष कुमार कसजु श्रेष्ठको भनाइ छ ।
हुन त केही वर्ष यता आएर तिहारमा मखमली र सयपत्रीको माला कम देखिने गरेको छ । यसको ठाउँमा प्लाष्टिक तथा कृत्रिम मालाको पनि प्रयोग बढदै गइरहेको छ । भारतबाट भित्रिएका प्लाष्टिकका कृत्रिम मालाले यो बर्ष पनि धेरै स्थानमा तिहार मनाएको देखिएको छ ।
२० करोडको भाइमसला
बत्ति र फूलमा मात्रै नेपाली पैसा विदेशीएको छैन् । भाइमसलामा समेत करोडौं रुपैयाँ बाहिरिएको छ । विदेशबाट सजाएर पठाएको भाइ मसला दिने प्रवृति नेपाली पैसा बाहिरिने क्रम अझै बढेको छ ।
भाइ मसलामा प्रयोग हुने ल्वाङदेखि पेस्तासम्म भारतसहित वाहृय मुलुकबाटै आउने गरेको छ । चालु आर्थिक वर्षको तीन महिनाको तथ्याकं हेर्दा यो अवधिमा २० करोड ६ लाख रुपैयाँ बराबरको भाइ मसला आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार भारतसहित, चीन, अफगानिस्तान, भियतनाम, सिंगापुर, अमेरिका लगायतका देशबाट ४ हजार ४ सय ३६ टन भाइ मसलामा प्रयोग हुने यी मसला आयात भएको छ । ओखर मात्रै ५ करोड ४९ लाख रुपैयाँको आयात भएको छ । भाइमसलामा प्रयोग हुने अन्य सामाग्री पनि यति नै मूल्य बराबरको आयात भएको भन्सार विभागको तथ्याकंले देखाउँछ । विदेशी सामान पोको पारेर बनाइने भाइ मसलाले भित्र्याएको आर्थिक विसंगतिलाई कम गर्न हामी सबैले आफ्नै देशमा पाकेका सुन्तला लगायतका फलफूलहरुको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा संस्कृतिविद् प्रा.डा. वीणा पौड्यालले जोड दिनुभएको छ ।
तिहारमा दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई लगाउने सप्तरंगी टिकादेखि उपहारजन्य सामाग्री पनि विदेशबाटै आउने गरेको छ । जसबाट पनि नेपालको करोडौं रुपैयाँ विदेशीने गरेको तथ्यांकले देखाउँछ । दिदिबहिनीले टीका लगाइदिएपछि दाजुभाइलाई टोपी लगायतका विभिन्न उपहार दिने र दाजुभाइले नगद तथा उपहार दिने चलन छ । उपहारका लागि पहिले पहिले पाल्पाको ढाका टोपी निकै लोकप्रिय थियो । तर, आजकल यसको ठाउँ चाइना र भारतबाट ल्याइएका कपाडाले लिने गरेका छन् । यसरी विदेशी सामानको प्रयोग र मोहका कारण तिहारका बेला बजार प्राय विदेशीबाट आएका सामानले मात्रै भरिने गरेको ब्यापारीहरुको अनुभव छ ।
तिहार नेपालीको ब्यापार विदेशीको । यो क्रम हरेक वर्ष बढ्दै गएको छ । नागरिकमा विदेशी सामानको मोह जसरी बढ्दै गएको छ स्वदेशी उत्पादनलाई बढाउन सरकारी बेमतलव पनि उसै गरी चुलिएको छ । सरकारले चाहाने हो भने फूल, बत्ति र भाइमसलामा बाहिरिएको अर्बौ रुपैयाँ जोगाउन सक्छ । तर, राज्यले यसतफै ध्यान नदिएको ब्यापारीहरुको बताउँछन् ।