Logo मंसिर २०, २०७७ शनिबार


कथाः तिहार

-पुण्यप्रसाद खरेल

उज्यालो हुनुपूर्व उठी पवि । इनारमा गएर सानो बाल्टीबाट ठूलो बाल्टीभरी पानी झिकी । नुहाई, धुने लुगा धोई र आँगनअगाडिको डोरीमा धोएका लुगा फिँजाएर टाँगी । घर बढारकुँडार गरी, पोतपात गरी । कोठेबारीमा गई झुल्कँदो घामसँग उन्मुक्त हाँसेका सयपत्री फूलका थुँगाहरू टप–टप टिपी । उसका मनमा, सेतो ठाडो टीको, त्यहाँ सातै रङका मसिना टीका, टाउकामा सयपत्री फूलको पगरी र गलामा त्यस्तै उसको सीपले ठूलासाना थुँगाहरू, तोरीफूले र अलिक गाढा पहेँलो रङका थुँगाहरूको अन्तर मिलाएर बनाएको माला लगाएको झर्झराउँदो हँसिलो भाइको अनुहार आइरहेको थियो । अहा ! कति सुहाउँछ सयपत्री फूलको माला भाइलाई ! ऊ ज्यादै रोमान्चित पनि भई ।

तीन–चार वर्ष भयो ठूलो परिवारबाट अलग्गिएर यो घरमा ऊ र ऊसँगै तीनजनाको परिवार सरेका । उसको लोग्ने उदय हिजै दिदीका घर जाने भनेर गएको छ ।

नानी सुतिरहेको छ, उठेको छैन । आज त किन यतिवेरसम्म निदाइरह्यो हँ ?

उसले टिपेका फूलको डाली सिकुवामा राखी र भित्र पसेर नानीलाई हेरी । स्वाँ–स्वाँ निदाइरहेथ्यो ऊ । वाहिर निस्कँदा उसका आँखा अनायास पर मूलबाटातिर गए । त्यस्सै, आउँदै गरेको भाइको आकृति उसका मनमा नाच्यो । उसलाई थाहा थियो, भाइ यति चाँडो आइपुग्दैन । छिट्टै आए पनि दस–एघार बज्छबज्छ । कि त हिजै आउँथ्यो, आज आउँदा त बेला त्यही हो । जान्दाजान्दै पनि उसका आँखा त्यता गैहाले ।

पल्लाघर राईनी ठूलीको चाल पनि पविकै जस्तै छ । पविभन्दा ऊ अलिक ढुक्क छे । उसको भाइ हिजै आइपुगेको छ । बेलुका खाई–पिई सुतेको अहिले उठेकै छैन । राईनी ठूलीले पवितिर हेरेर प्रश्न गरी–“दिदीहाऊ ! भाइ आउनुभो कि आजै आउने ?”

“छैन नि ! आजै आउने भन्थ्यो फोनमा । खोइ, दस–एघार बजे आइपुग्छ होला” पविले भनी ।

“आज त बन्द अरे नि त दिदी ! लिम्बूवानले हो कि खम्बुवानले हो बन्द गरेका छन् अरे ! ऊ राजुले भनेको” राइनी ठूलीले भनी ।

“हो र !” झसङ्ग भई पवि । आज बन्दको कुरा सुन्दा नराम्रा दुर्घटनाको खबर सुनेजस्तै भयो पविलाई । उसै त बन्दका कुराहरू यति धेरै रुढीझैं फैलिएका छन् अचेल, कि कसैलाई मन नपर्ने भए पनि यो जतिबेला पनि, जहाँ पनि बन्द उपस्थित हुनसक्थ्यो ।

‘बन्द भयो र भाइ आउन पाएन भने ? …’ एउटा कोक्याउने सन्त्रास आङ सिरिङ्ङ गर्दै पविका मनभित्र भित्रसम्म पस्यो । उसका हातखुट्टा लुलिए । चाडवाडका बेला बन्द नहुनु पर्ने सानो आसा रह्यो । बन्दकर्ताहरू विरुद्ध उसको मनमा ठूलो द्रोह जन्मियो । अझ उसलाई राजुलाई आफैं गएर सोध्न मनलाग्यो । राजु, राईनी ठूलीको भाइ, आफ्नै भाइजतिकै त हो नि ! उसले ठानी र सोध्न जान तर्खर गरी ।

राईनी ठूलीले भनी – “राजु निदाइरहेको छ । एकछिनपछि सोधे पनि त हुन्छ नि !” उसले मुखले दोहो¥याई तर उसलाई मनमनमा छिट्टै निधो गर्न मन पनि लागिरह्यो ।

राईनी ठूलीका ती अप्रिय कुराहरू सुन्दैवर्दै पवि माला उन्न बसी । सियोधागोसँग फूलहरू खेल्न थाले । फूलहरू उन्दै यस्सो छातीमा नापेझैं गर्दै उसले माला उनीसकी । उसको छोरो उठेर आँखा मिच्तै आयो उतिर ।

“बाबा ! जानू ! उ पल ग’ल सूः गलेल आनू !” पविले तोतेबोलीमा छोरालाई अराई ।

उसको नानी साँच्चै थपक्कन आँगन तरेर पर्तिर टुक्रुक्क बस्यो । उसले ठूलो खोयोजत्रै लिँड पनि लडायो । पविले हेरी, लिँड पनि लडाएको देखेर ऊ खुसी पनि भई । “ए ! नानीले त दुबै काम पो एकैसाथ छिनेछ !” इनारछेउको वाहिर लैजाने बाल्टीमा पानी ल्याएर नानीलाई धोइपखाली गरी, कट्टु–सुरुवाल लगाईदिई अनि नानीले लडाएको लिँडलाई पनि अलिक परको खाडलमा फ्याँकी ।

नानीले “मलाई माला ! मलाई माला !” भनेर कल गर्न थाल्यो ।

“हुन्छ हुन्छ ! मेला बाबालाई म लाम्मो माला उनिदिन्छु ! पख न !” उसले फकाई ।

“मलाई पैला ! मलाई पैला माला !” उसले अझ ढिपी कस्यो ।

भित्र पसी र दोडा सेलरोटी दिएर छोरालाई फकाई–“लु बाबालाई पापा, पापा खानू ! म लाम्मो माला पनि उनिदिन्छु ल !”

“पैला मलाई माला !” उसले जिरह कायम राख्दै पापा समात्यो ।

भाइका लागि, छोराका लागि माला उनीसकी पविले । ‘बन्दले भाइ छेकिने हो कि ?’ उसको मनको औडाहा कायमै थियो । राइनी ठूलीको भाइ राजुलाई वाहिर मुख धुँदै गरेको देखी उसले र सोध्नका लागि त्यता पाइला सारी ।

“भाइ ! आज केको बन्द अरे ?” पविले सोधी ।

“खोइ लिम्बुवानको बन्द भन्ने हल्ला गर्थे हिजो उतातिर । त्यसैले त म हिजै आको । नभए त म पनि आजै आउथेँ नि !” राजुले भन्यो ।

“के साँच्चै बन्द हुन्छ त आज ?” उसले फेरि प्रश्न दाहोर्याई ।

उसले उत्तर नपाउँदै राईनी ठूलीका आँगनमा देउसेको एउटा टोली ओर्लियो–“झिलिमिलि, झिलिमिलि, केको झिलिमिलि, फूलको झिलिमिलि, बत्तीको झिलिमिलि – देउसीरे !” देउसी खेल्नेहरूको तीन–चार जनाको हुल राईनी ठूलीका आँगनमा लठ्ठी ठोक्तै “देउसी रे ! देउसी रे !!”

कराउन लागे । त्यो देउसी टोली पविका आँगनमा पनि स¥यो । उसलाई झर्को पनि लाग्यो । अलिक अघिसम्म देउसेलाई सिधा दिन उसलाई त्यही शरीर फूलको थुँगोजस्तै हलुङ थियो । अहिले त्यही शरीर लिहीजस्तो गह्रुङ्गो भयो । गारो–गारो मान्दै गएर चामल, फूलपाती र एउटा रूपयाँ भएको थाल बाहिर राखिदिई । “आज त गाडीहरू बन्द अरे नि भाइ ? तपाईँहरूले केही थाहा पाउनुभो ?” उसले ती देउसे टोलीलाई सोधी ।

“केको यस्तो चाडवाडका बेला बन्द हुन्छ ? कसले मान्छ तिनको बन्दसन्द ?” ती देउसेहरूले भने ।

पविलाई तिनको कुरा खुप राम्रो लाग्यो । तिनीहरूले देउसीको आसिक सिध्याएकै थिएनन् । उसले अरु एउटा रूपयाँ त्यहाँ थपिदिई ।

देउसेहरू चामल र पैसा पोक्याएर अर्का घरतिर सरे । “हामी त्यसै आएका हैनौ, बली राजाले पठाएको … देउसीरे !” तिनले तिहारजस्तै पारे ।

पविले भाइटीको लगाउने सामानहरू तयार गरी । अलिकति दुबो खोजेर ल्याई र तेलको सानो बट्टाका मुखमा राखी । भाइलाई उसले तेलले छेक्नुपथ्र्यो, दियो–कलश ठीक पारी । एउटा ओखर र लोहोरो पनि ल्याई र ढोकाको एकापट्टि राखी । टीका लगाइदिएर भाइलाई खान दिने परिकारहरू मिलाई– सेलरोटी, अनरसा, स्याउ, केरा, सुन्तला, नरिवलको चानो, मिश्री, काजु, किसमिस, छकडा …इत्यादि । उसले भाइलाई सुहाउने एउटा टोपी र राम्रो सर्ट किनेकी थिई । टोपीको दाम सधैंभन्दा दोब्बर उसले तिरेकी थिई, सर्टको त्यस्तै । चीजबीजको दाम छोइनसक्नु गरी बढेकाले उसलाई दिक्क पनि लागेथ्यो तर भाइ सम्झेर त्यो बिर्सीथी । अहिले ऊ भाइ पुज्ने कुरामै केन्द्रित थिई । उसँगै उसको छोरो तोते बोल्दै उसलाई सघाउने र अल्झाउने गर्दै थियो । ऊ यता भाइटीकाका सामान ठीक पार्ने र ठाउँँठाउँँमा राख्नमा व्यस्त थिई । उसका आँखा घरिघरि पर सडकमा धाउन थालेथे । त्यस्तैमा एउटा युवक गलाभरि माला लगाएर, निधारमा टलक्क टीको टल्काउँदै हिँडेको उसका आँखामा प¥यो । “अहो ! भाइ पुज्ने बेला पनि भएछ ! भाइ आइपुगिहाले त !…” एक्कासि धुकधुकी बढ्यो ।

“भाइ आइपुगेपछि मात्र खाना बसाउँ कि अहिल्यै बसाउँ ? आएपछि टीकोसिको गरेर अनि थपक्क खाना खान त पकाइराख्ता नै ठीक हुन्छ । फेरि केही गरी भाइ ढिलो आयो भने त सेलाएर केही न कामको हुन्छ । सेलाएर चीसो भाएको भात भाइलाई मन पर्दैन” पविका मनमा भात बसाउने र पर्खिने बारेमा कुरा खेले । के गरुँ के गरुँ भयो । यस्तैमा राईनी ठूली आँगनमा निस्किएर उतिर हेर्दै बोलिन् –“दिदीहाऊ ! भाइ आइपुग्नुभयो ?”

“खोइ र ! अब त आइपुगे पनि हुन्थ्यो नि !” प…र सडकतिर आँखा लगाउँदै पविले उत्तर गरी ।

“तपाईँका पनि भाइ आइपुग्नुहुन्छ र सँगसँगै भाइ पुजौं भनेको त ! टीको लगाका, माला भिरेका मान्छे दोहोरिलत्ता हिड्न थाले पर सडकमा । के गरुँ हाऊ दिदी ? भाइ आजै फर्किने भन्छ !” राइनी ठूलीले भनी ।

“वहिनी ! अब तिमी पूज भाइ ! लाइद्यौ भाइलाई टीका । अब टीकाको बेला पनि त भयो । हिजै आएको भाइ ! किन भोकभोकै पेट सुकाएर ! अब मैले त पर्खिनै पर्यो! तिमी लाइद्यौ ! …” पविले भनी ।

“कि तिहीँ देवसरकामा फोन छँदैछ, एकपल्ट गएर भाइलाई फोन लाउनू न दिदी ! कति बेला हिड्नुभयो थाहा हुन्छ !” राइनी ठूलीले राम्रा कुरा गरी ।

“हो त नि ! कस्तो त्यति सुद्धि पनि नआको ! म गएर फोन गरेर आउँछु । तिमी पूज भाइ, लाइद्यौ टीका भाइलाई !” पविले भनी र छोरालाई अल्मल्याएर निस्किई घरबाट ।

एक छिनपछि फर्केर आई पवि । उसको अनुहारमा खुसी पनि थिएन तर त्यस्तो चिन्ता पनि थिएन । उ सम्झिँदै थिई–‘विहान राती नै बाटो लागेको मान्छे यतिबेला आइपुग्नुपर्ने पनि हो । तर खोइ र ! बाटामा केही भएको त होइन कि !’

ऊ फर्केर घरमा आइपुग्दावर्दा प…र मूलबाटामा दुई–चार जना मान्छे गुरूप्प भेला भएझैं देखिए । एक छिन केके कुरा गरागर गरे । तीमध्ये एकजना फटाफट पवि भएतिरै आउँदै देखी उसले । भाइ त होइन । भाइ भए त ऊ दुई पाइला हिँड्दै चिन्थी । आफ्नो भाइको हिडाइ ऊ सजिलै खुट्याउँथी । निकै नजिक आएपछि चिनी, पछाडि–मास्तिर हरि दाइ रहेछन् । यसपाली उनीहरू टीका लाउँदैनन् । हजूरआमाको वर्ष दिन भएकै छैन ।

पविले हरि दाइलाई सोधी–“केको हो ? निक्कै मान्छे गुरूप्प देखिए त्यहाँ बाटामा ! केहो दाजु ?”

“माथि मोडमा नि ! … अचेल के सानो निहुँ भए पुगिहाल्छ, … चार–पाँचोडी केटी विदेश जाने भनेर जाँदै गरेका अरे ! “कहाँ ती त बेच्न लगेका पो त !” भनेर पुलिसले समाएछ । त्यो बेच्न लाने भनेर त्यही बजारकै एक जना दलित आइमाईलाई समाएछ । होइन कि होइन भनेर त्यो आइमाई रोइकराई गर्छे अरे ! त्यही कुरा नि, बुहारी ! त्यति सानो कुरा बढेर भरे त त्यहाँ गड्याङ र गुडुङ्, भाग रे भाग भो अरे !” हरिदाइले भने ।

“गाडी चल्दैछन् दाइ ?” पविले सोधी ।

“गाडी त चल्दैथिए । त्यही गड्याङ्गुडुङ्ले कोहीकोही लफङ्गाहरू गाडीका बाटामा ढुङ्गा राख्ने, अब गाडी बन्द गर्ने भनेर हल्ला गर्ने गर्न लाग्याथे । पुलिस आएर तिनलाई खेदाउँदैथ्यो । हामी यता लागिहाल्यौं । त्यसपछि के भो को नि ! यस्ता चाड–बाडा बेला गाडी त के रोकिन्थ्यो होला र ! … किन ? कि भाइ आइपुगेको छैन ?” हरि दाइले सोधे ।

“छैन नि ! हेर्नु न ! आजै आउने भनेर फोन गरिरथ्यो । आइपुग्ने बेला पनि भयो । त्यही बाटो हेर्दैछु । सबेरै हिडेको अरे !” पविले भनी ।

“कहाँबाट पो आउने अरे ?”

“इटहरीबाट नि ! आइपुग्ने बेला त भयो नि ! गाडीबाट ओर्लिएर त त्यही आधा घन्टा पनि त लाग्दैन नि !” पविले भनी ।

“इटहरीबाटै हो भने त आइपुग्नुपर्ने । विराटनगरबाट आउन भने मुस्किल पथ्र्यो । फोरमका मान्छेले एकछिन्–एकछिन्मा दुहुवीतिर बन्द गरिहाल्छन् । खनारतिर मजदूरहरूको केके भैरहन्छ । यता त पथरीतिर, उर्लावारीतिर लिम्बूवानको अलिक कच्याककुचुक हुन्छ । अँ झिलझिले–केरखातिर पनि के के भैरहन्छ है । तर पनि इटहरीदेखि पूर्वचाहिँ अलिक भरपर्दो नै छ । पश्चिमतिर त सप्तकोशी फुटेर कति वर्षलाई हो अब ?” हरिदाइ बोल्दैबोल्दै घरतिर लागे ।

पविका आँखा फेरि सडकतिर एकोहोरिए । उसको छोरो कल गर्न लाग्यो–“आमा हो ! भोक लाग्यो !”

“ल हेल ! दुईदुईवटा लोटी–पापा खाको होइन ? अहिले मामा आउनुहुन्छ । अनि मामाछँङै बछेल माम खाने नि, ल !” उसले छोरालाई फकाउन खोजी ।

राईनी ठूलीले भाइलाई पूजी । उसले पनि गएर “अब तेलले तीन फन्का, दियो कलशले तीन फन्का छेक ! ढोकामा ओखर फोर !” भनी ।

“कपालमा तेल लाइद्याल ! अब टीका लाइद्याल ! ठाडो कि गोलो कस्तो मन पराउँछन् भाइले सोधेर लाइद्याल ! अनि अब त्यो रातो, नीर, नीलो, केशरी … लाइद्याल !” भनी । सयपत्री फूलका ती उज्याला मालामा झुल्के घामजस्तो झर्झराउँदो देखिएको राईनी ठूलीको भाइ, राजु कस्तो राम्रो देखियो ।

अमिलो अनुहार लाएर पवि बाटातिर हेर्दैहेर्दै फर्की । राजुले राईनी ठूलीलाई पनि टीका र माला लाइदियो र दुबै चेली–माइती खानेकुरा पट्टि अल्मलिए ।

‘भाइ आइपुगी हाले त हुन्थ्यो नि !’ पविका मनमा एउटा अतृप्त कामना जाग्यो । उसका आँखाले फेरि प…रको सडक चिहाए ।

नानीलाई हतेर्दै ऊ पर्तिर सडकतिर निस्किई । सडकमा दोहोरिलत्ता मान्छेहरू, कोही पैदल, कोही साइकलमा, कोही भुट्भुटेमा, कोही रिक्सामा, आआफ्नै धुनमा दौडिरहेका थिए । ‘राजमार्गसम्म जाउँ कि’ जस्तो पनि लाग्यो उसलाई, त्यहीँ ‘कसैलाई साधौं कि’ पनि भयो । अँध्यारो अनुहारमा एकछिन् उभिई । आउँदै गरेको रिक्साका रिक्सावाललाई उसले सोधी–“ए रिक्सावाल दाजु ! पश्चिमबाट गाडीहरू आउँदैछन् कि छैनन् ? तपाईँले थाहा पाउनुभयो ?”

“कता हो बन्द गर्ने र पुलिससँग झगडा बढ्यो पनि भन्थे । तैपनि अलिक अघिसम्म त आउँदै थिए । अहिले पर… पथरीमा कि कानेपोखरीमा जाने र आउने मोटरसाइकल जुधेर दुई–तीन जना मान्छे मरे अरे । अनि रोकिएको छ । तर अब खुली हाल्छ भन्थे” रिक्सावालले भन्यो ।

खुइय गरी पवि । जे नहोस् भनी ठान्थी ऊ, त्यही भएछ । बरु पूर्वतिर भए त्यसले उसलाई त्यति रोक्ने थिएन । अब वाहाँबाट कसरी आउँछ त्यो भाइ ? उसका नौ नारी गले । भोकले पनि उसलाई गाँज्न थाल्यो । कतै कसैको भुट्भुटेमै आउने भएर त्यहाँ परेको त होइन होला नि ! उसका मनमा नचाहिँदो पिर र चिन्ता पनि पस्यो । टाउकाका सिधामाथिबाट घाम पश्चिमतिर ढल्किए । भोक र पिर धुर्रिएर पविलाई थिल्थिलो पार्न थाले । उसका मनमा कुराहरू खेले – “पोहोर–परार माओवादीहरूले अफ्ठेरो पारेका बोलामा बरु यति अचाक्ली भएको थिएन । अब माओवादी नै सरकारमा भएपछि, राजालाई निकाला गरेपछि सबैतिर शान्ति हुन्छ, सुख हुन्छ भन्ने लाग्याथ्यो । अचेल पनि उही बन्दका बन्द, उही कुटाकुट र मारामार । चीजबीज र वस्तुभाउको दाम बढेर छोइनसक्नु मुहुँगो । नयाँ नेपाल, नयाँ नेपाल भन्थे उही पुरानो भन्दा विकामे नयाँ नेपाल भन्नुजस्तो । क्याहो यस्तो ? चाडवाडका बेला बन्द अरे । यो जात र उ जात भन्याछन् ! मान्छेहरू भाग बन्डा लागेका छन् । किन यस्ता भका मान्छेहरू ? सप्पै मान्छे नै त हुन् नि आखिर ! सप्पै मिलेर बस्ने कुरा छाडेर, जातजात तँ ठूलो र म ठूलो गरेर कस्तो नयाँ नेपाल हुने हो ? … उत्ताउला भका छन्, रक्सी धोकेका छन्, भुट्भुटे कुदाका छन्, ठोक्काएर मरेका छन्, कोही चेत्ने होइनन्, सरकार पनि रोकथाम गर्ने होइन ! कुदाउन जान्नेले कुदाको हो कि, सिकारुले कुदाको हो कि ? छ्यान विचार भएन । मान्छेको ज्यानको केही मोल भएन । इस् … …” खुप् पिरिई पवि । थुप्रै असन्तुष्टिका कुराहरू गाँजिएर उसका घाँटीमा कुँडुलो लागे । पार्टीपार्टीका मान्छेहरूले कुटाकुट र मारामार गरेको त छाप्छाप्ती भएकै हो तर माओवादीले जस्तै फेरि अपहरण, हत्या, चन्दाका कुरा एफ एमले दोहोर्याएको सुन्दा उसलाई दिक्क लागिरहन्थ्यो । अब सरकारले रोक्छ कि, अब सरकारले तिनलाई समात्छ कि ? आसआसमै दिन बित्थे ।

उसको मन रन्थनिइरहेको भए पनि आँखा भने बाटामा ओछिएकै थिए । सानो छोराले ट्याउँ–ट्याउँ बोलेर उसलाई अल्मल्याउँथ्यो वा भनौं फुल्याउँथ्यो । अब उसलाई ‘मामासँगै खाने’ भनेर उसले पर्खाइन । उसले छोरालाई छोराले मन पराउने खाना, दूध र भात खान दिई ।
पर्खाइको समय चिप्ले कीराको गतिमा हिँड्छ भने आनन्दको समय हवाइजहाजमा उड्छ । चिप्ले कीराकै गतिमा भए पनि दुई बज्यो । पविको धैर्य पनि दिनसँगसँगै ढल्किन लाग्यो । राईनी ठूलीको भाइ राजुले हात जोडेर विदा माग्यो । पविलाई पनि–“दिदी बस्नुहोस् है !” भनेर हाँस्तै हाँस्तै बाटो लाग्यो । उसले राजु हिडेको, गएको देखिने ठाउँँसम्म हेरी । भाइलाई विदा गरेर राईनी ठूली आई पविका आँगनमा । पविलाई सान्त्वना दिन थाली–“बन्द खुलेपछि आउँछन् होला ! आउँछन् आउनचाहिँ ! तर तपाईँलाई भोक लाग्यो नि दिदी ! फलफूल त खानु हुन्छ नि ! म ल्याउँछु ल, स्याउ, सुन्तला छन् मसँग, ल दिदी ?”

“पर्दैन ! पर्दैैन !! भाइ नपुजी म केही खान्न !” ढिपी कसी पविले, तर राईनी ठूलीले दुईवटा स्याउ र दुईवटा सुन्तला हातैमा चेपेर ल्याई र खान कर गरी ।

भोकको दबाब र राईनी ठूलीका करले पविले एउटा स्याउको दानो दाँतैले टोकी । “यो पनि खानू ! कोठाका पिँधमा भुस खाँदेजस्तो हुन्छ”

राईनी ठूलीले अर्को दानो पनि दिई । दुई दाना स्याउ र एउटा सुन्तला उसैले खाई, एउटा सुन्तला छोराले सिध्यायो । तीन बज्यो । पविको भाइ आइ पुगेन । उसलाई भाइ आइ नपुगेको पिरसँग अब ती भुट्भुटे ठोक्किएर मर्नेहरूका नाममा आफ्नो भाइको नाम नपरोस् भन्ने व्यथा थपियो । भुट्भुटे त कुदाउँदैनथ्यो उसको भाइ तर आज बा, यतै आउने कुनै साथी परेर भुट्भुटेमै आउँदैथ्यो र त्यही ठोक्किएको हो कि ? … गाडी चल्न थाले कि ? पिरमाथि पिरले पविको मन शिथिल भयो । छोरालाई आँखा छलेर पर सडकमा निस्किई । अघिकै झैं एउटा राजमार्गतिरबाट आउने रिक्सालाई उसले सोधी–“रिक्सावाल दाजु ! गाडीहरू चल्दैछन् ?”

“पश्चिमबाट रोकिएका थिए । अहिले भर्खर खुल्यो भन्थे त्यहाँ मान्छेहरू !” रिक्सावालले भन्यो ।

पविको एउटा मन अलिक हलुङ भयो, अर्को मन उस्ताको उस्तै छ । भाइ आई नपुगुन्जेल त्यो अर्को मन उस्ताको उस्तै रहने होला । “माथि चोकमा पनि अघि गड्याङ गुडुङ भयो भन्थे नि !” पविले सोधी ।

“ए ! त्यो त त्यतिबेलै पुलिसले ठेकान लायो । चाडवाडका बेलामा झगडा गरेर त्यस्सै बाटो बन्द गर्न ? …” रिक्सावाल भन्दैभन्दै प…र पुग्यो ।

पविले मूल सडकको त्यस बिन्दुबाट प…र राजमार्गतिर आँखा गाडेर हेरी । रिक्साको लर्को र पैदल यात्रुहरूको ताँती थियो, साइकल र भुट्भुटेको दौडादौडी थियो । एउटा लर्को उतिर आउने, अर्को लर्को उतिरबाट जाने ! आउने प्रत्येक रिक्साका यात्रुहरूलाई उसका आँखाले चिन्न खोजे । पैदल यात्रुहरूका आँखामा आँखा लाएर भाइका आँखा खोजी । अहँ ! उसले खोजेका आँखा फेला परेनन् । उसको तिहारको खुसियाली क्षण–प्रतिक्षण स्खलित हुँदैहुँदै कमजोर हुन थाल्यो ।

मूलसडकबाट पविका पाइला देवसरका घरतिर सोझिए । उसले त्यहाँ गएर इटहरी फोन गरी । फोन बुबाले उठाउँनुभयो । उसले रुन्चेस्वरमा भाइ अझै आइनपुगेको कुरा भनी । बुबाले भन्नुभयो–“पथरीमा दुर्घटना भयो र मान्छे मरेअरे । गाडी रोकिएकाले ऊ कानेपोखरीमै तीन–चार घण्टा बसेछ । “अब के गरुँ ? म फर्किउँ ?” भनेर यहाँ सोध्यो । मैले गाडी खुल्यो भने ढिलै भए पनि जा छोरा ! दिदीले बाटो हेरिराखेकी होली !” भनेको छु । अब त्यहाँ आइपुग्छ, छोरी ! अब चिन्ता नगर !”

पविले फोन राखी । वाहिर निस्किएर लुरुलुरु घरतिर लागी । अघिभन्दा अलिक हलुङ भए उसका पाइला । घरमा गई । छोरालाई टीका लाइदी । माला लाइदी । रोटी खान दी । वाहिर पिँढीमा निस्किएर सडकतिर आँखा लाएर बसी । अब आइपुग्ला, अब आइपुग्ला गर्दागर्दै उसले आजको चार बजाई । राईनी ठूलीले त उसप्रति धेरै सहानुभूति देखाई ।

पविका मनमा कुराहरू खेल्नथाले–“त्यही इटहरीबाट आउन त यस्तो कुनै ठेकान रहेन । अस्ति दशैंमा देवसरका छोरा काठमान्डूबाट चार दिन लाएर आए, जाँदा त्यस्तै चार दिन लगाएर पुगे अरे । के भ’को हो यस्तो ? विकास हुने भनेको त उल्टोउल्टो पो छ ! कहाँ बन्द ? केको बन्द ? कस्ले बन्द ? थाहै हुँदैन ! यता विजुली बल्थ्यो पोहोर–परार त निभ्दैनथ्यो । अचेल विजुली पनि अधियाँ मात्रै बल्छ । स्कुल–पाठशाला अधियाँ पढाइ हुने ! खोइ ? कस्तो नयाँ नेपाल हो ? …” घाम डाँडामा बसेथे । पविको आसा पनि मर्दैमर्दै डाँडामा पुगेको घाम भएको थियो । ऊ एकोहोरिएकी थिई । उसको छोरो देउसे–भैलेको खेलाईमा अल्मलिएको थियो ।

उसले अन्तिम आसाझैं गरी प…र बाटामा आाखा पुर्याई। उसको भाइ आउँदै गरेको जस्तो लाग्यो उसलाई । घाममा ओइलाएको सिस्नुमा पानी छम्किएझैं उसको मरेको आसा एक्कासि व्यूँतियो । ‘होइन कि ! होइन कि !’को शङ्का मनमा आउन नै नपाई उसको जिऊ हान्निएछ भाइतिर । भाइले आँगन टेक्नै नपाई उसले भाइलाई छाँदहाल्न पाई । भाइ पनि आसर्जेमा पर्यो, किन दिदी यति साह्रो अत्तालिएकी हुन् भनेर । दिदीका आँखाभरी आँसु देखेर, दिदीको कुनै वाक्य नै फुट्न नपाएको देखेर, ऊ पनि भावुक भयो, ऊ पनि दिदीलाई हेरेको हेर्यै भयो, अवाक् भयो ।

के सुरमा हो, पविले एकाएक दैलाका छेउमा राखिएको ओखर दैलाका ठेलामा राखेर ड्याम्म लोहोरो बजारी । ओखरका हड्डी धुलोपीठो भएर चारतिर छरिए । उसले ताली प्याट्प्याट् पारी । नसुहाउँदो हाँसेर उसले भाइलाई हेरी ।

पविको भाइ आइपुगेको कुरा राईनी ठूलीले थाहा पाइछ । देउसे–भैलेलाई सिधा दिएर आइपुगी दैलाछेउ ऊ पनि । पविले आफ्नो भाइ पुजेको दृश्य उसले अपलक हेरी ।

पविले भाइलाई टीका लाइदी । टोपी लाइदी, माला लाइदी, पगरी लाइदी, सर्ट दिई । खानेकुराका थोकहरू उसका अगाडि राखीदिई । भाइलाई घ्याप्प अँगालो हाली र भावुक भएर भनी–“जेमराजलाई धुलोपीठो पारेँ भाइ मैले आज । अबदेखि मेरो भाइ सके अघिल्लै दिन नभए पनि दस बजेभन्दा पहिले नै आइपुग्छ !”

सयपत्री फूलका मालामा उसले भाइलाई विहानैको घामजस्तै देखी । भाइले पनि पविलाई टीका लगाइदियो । राईनी ठूली उनीहरूको यो खुसीमा साक्षी बस्तै थिई । ऊ पनि प्रफुल्लित भई ।

केही क्षणअघिसम्म पविको दुःखमा उसको दुःख एक जिउ भएर गाँसिएको थियो । पविको लोग्ने उदय पनि गलाभरी मालासँग “ए ! अनि भाइ भर्खर आइपुग्नुभयो कि क्याहो ?” भन्दै झुलुक्क झुल्किए ।

एकछिन अघिको चिन्ता नाश भयो, खुसीयाली छायो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।