Logo मंसिर २०, २०७७ शनिबार


खुशीराम पाख्रिन : समाजवादको आन्दोलनका सुरिलो योद्धा

-दीपेन्द्र दोङ तामाङ

जनवादी गायक तथा संगीतकार खुशीराम पाख्रिन जीवनमा खुशी थिए कि थिएनन् ? तर उनका गीतहरु सुन्नेहरु भने खुशी हुने मात्र होइन जुरुक्क उठ्थे । मजदूरको कथा र व्यथालाई दुरुस्तै उनेर सिर्जना गरिएका उनका गीतहरु सुनेर कति धुरुधुरु रुन्थे त कति क्रान्तिको आगो बाल्न जुरुक्क उठ्थे । सामान्य श्रोता र दर्शक मात्र होइन भूमिगत अवस्थामै चुनवाङमा आयोजित सांस्कृतिक कार्यक्रममा खुशीराम पाख्रिनको रचना र संगीतमा प्रदर्शन गरिएको गीति नाटक हेरेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भक्कानिएर रोएका थिए । उनीसँगै उपस्थित डा बाबुराम भट्टराई लगायतका नेताहरुलाई पनि मन थाम्न मुस्किल परेको थियो ।

जनगायक खुशीराम पाख्रिन गरीब, निमुखा र सुकुम्बासीको बस्तीमा पुगेर त्यहीको वास्तविकतालाई शब्दमा उन्थे र सङ्गीतबद्ध गर्थे । खुशीरामहरुकै सपना र संघर्षको बलमा मुलुकमा गणतन्त्र घोषणा भएको डेढ दशक बढी भैसकेको छ । मुलुकमा व्यवस्था त फेरियो तर मजदुर र श्रमिकका दिन फेरिएनन् । जुन व्यवस्था भए पनि बिहान बेलुकाका छाक टार्न धौधौ हुने बस्ती मुलुकमा अझै थुप्रै छन् ।

खुशीरामका गीतले यस्तै झुपडीका जीवन बोल्थे र अझै बोलिरहेका हुन्छन् ।

कालो वनको बीचैमा खेतालाको गाउँ
हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाउँ

मजदूरको यस्तै वास्तविक अवस्थालाई शब्दमा उतारेर उनले सांस्कृतिक आन्दोलन गरेका थिए । त्यसैले खुशीरामका गीतले क्रान्ति, साहस र मुक्तिका कुरा बोल्छ । खुशीरामको भौतिक शरीर नभए पनि उनका गीतले अहिले पनि सामाजिक व्यवस्थासँग विद्रोह गरिनै रहेको छ ।

मानिसको दैनिक जीवनसँग जोडिएका खुशीरामको खुशी भनेकै पछाडि परेका वर्गको उत्थान हो र समाज रुपान्तरण थियो । तर सपना पूरा नहुँदै विसं २०७४ मङ्सिर ५ गते चितवनमा मञ्चमा गीत गाउँदागाउँदै हृदयाघातबाट उनको निधन भएको थियो । जसले आजीवन गीत संगीतकै माध्यमबाट क्रान्ति गरे, जीवनको अन्तिम घडीसम्म गाइ नै रहे । गाउँदा गाउदै ढले र अन्तिम सास फेरे । एउटा स्रष्टा र योद्धाका लागि योभन्दा सम्मान र गौरव अरु के हुन सक्छ र ?

खुशीरामले गीत सङ्गीतमार्फत शोषणकाविरुद्ध जनतालाई जागरुक बनाउन ठूलो भूमिका खेलेका थिए । खुशीरामका सहयात्री गृहमन्त्री रामबहादुर थापा बादलका अनुसार गणतन्त्र स्थापनामा खुशीरामको योगदान स्मरणीय छ । तर उनले सोचेको सपना पूरा गर्न अझै समाजवादको आन्दोलन जारी छ ।

युवा पत्रकार तथा स्रष्टा संगीत श्रोता खुशीरामका बारेमा लेख्छन्–उनी त थिए नेपाली सङ्गीत इतिहासको त्यो धारामा, जसले लोकलयलाई जनताको सुखदुःख र न्यायप्राप्तिको आन्दोलनसँग निरन्तर जोड्यो, गाउँबस्ती र प्रवाससम्म भरिया, कुल्ली र निमुखाको मर्म गाउँदै हिंड्यो । उनी लोकगीतको प्रगतिवादी फाँटका सरल, इमानदार र प्रतिबद्ध साधक थिए । संगीत सिर्जना र गायनमा विचारबद्ध भएर बिताएको झन्डै चार दशक अवधिमा पाख्रिनले आफ्नो त्यस्तो मौलिक पदचाप छाडेका छन्, जो अहिलेको चमकधमक दुनियाँले नदेख्न सक्छ तर इतिहासले अवश्यै त्यसको मूल्यांकन र पुनःमूल्यांकन गर्नेछ ।

पहाडी जिल्ला गोरखाको निम्नवर्गीय तामाङ परिवारमा जन्मेका खुशीरामको बालादिन र युवा उमेर चितवनमा बित्यो ।

शुरुमा बेदना सांस्कृतिक समूहसँग आवद्ध थिए खुशीराम । पछि सामना सांस्कृतिक परिवारका संस्थापक बने उनी । तर जुन समूहमा रहे पनि उनले सिर्जना गरेका सबै गीत अहिले पनि जीवन्त छन् । जनजीवनसँग जोडिएका गीत पस्केर लोक जीवनलाई आधुनिकीकरण तथा क्रान्तिकारीकरण गर्न खुशीरामका गीतहरु सफल छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा खुशीराम आफैंले भनेका थिए, ‘म रामेश, रायन, मञ्जुलहरूका गीत सुनेर किशोर उमेरमा प्रभावित भएको हुँ । पञ्चायतकालमा व्यवस्थाविरोधी संगीत सिर्जना गरेर नयाँ धारा निर्माण गर्ने वेदना र संकल्प परिवार रायन र रामेशहरूले नै चलाएका थिए । पञ्चायतकै दोस्रो प्रहरमा यही धारामा निस्केका जनवादी संगीतकर्मीहरूमध्येका हुन् खुशीराम । गायन, सङ्गीत र रचनाकारका त्रिवेणीे पाख्रिन २०३५ सालदेखि औपचारिकरुपमा सङ्गीतमा लागेका थिए । विसं २०३८ मा उनले ‘सगरमाथाको काखबाट’ भन्ने प्रगतिवादी गीत औपचारिकरुपमै ल्याए ।

चालिसको दशकको सुरूमा उनको गीतिसंग्रह ‘आँसुको भाका’ प्रकाशित भयो । माक्र्सवादी समालोचक तथा चिन्तक मोहन वैद्य ‘चैतन्य’ ले उक्त गीतिपुस्तकको समीक्षा गर्दै २०४४ सालमा खुशीरामलाई ‘सबल श्रमजीवी प्रतिभा’ भनेका थिए । उक्त पुस्तकमा उनले भरिया, कुल्ली, मजदुर, सुकुम्बासी, महिला, किसान, विद्यार्थी, बालबालिका, सिपाही, प्रवासीजस्ता श्रमजीवी र निम्न वर्गका जनताको सुखदुःखलाई गीतमा ढालेका थिए ।

विसं २००९ कात्तिक ९ गते गोरखाको खरिबोटमा जन्मिएका खुशीराम प्रगतिशील र सांस्कृतिक अभियानका अगुवा थिए । उनका झण्डै २०० गीत प्रकाशित र सङ्गीतबद्ध अनुमान छ धेरै अप्रकाशित छ । उनको ‘आँसुको भाका’ गीतिसंग्रह दुई भागमा संकलित छ भने कलम, जनादेशलगायत पत्रिकामा उनका थुप्रै रचना प्रकाशित छन् ।

जनताकै घरदैलोमा रमाउने र जनताकै सुखदुःख र मुक्ति आन्दोलन तथा परिवर्तनका क्षेत्रमा उनको योगदान छ । सशस्त्र द्धन्दकालमा उनले आफ्ना एक छोरा पनि गुमाए तर सांगीतिक प्रतिबद्धतामा कहिल्यै विचलित भएनन् । राष्ट्रियता, जनजीवन र क्रान्तिकारीधार बोकेका खुशीराम जीवनका अन्तिम पलमा पनि मञ्चमा गाउदै थिए–

हजारौँको बलिदानले कालोयुग ढलेको छ
सिर्जना र समृद्धिको बाटो खुल्न थालेको छ ।

जनवादी गीत संगीतमा जीवननै खर्चेका खुशीरामलाई जीवनको उत्तराद्र्धमा सबैभन्दा बढी चिन्ता नेपाली गीत संगीतकै थियो । मृत्यु हुनुभन्दा अढाई महिनाअघि २०७५ भदौ २१ सामाजिक सञ्जाल फेसबुकमा उनले जनपक्षीय गीत सुन्ने संस्कार हराउँदै जान लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए । त्यसको कारकका रूपमा ‘वर्ग मुक्तिको लडाइँ’ को अहिलेको हालततिर उनले संकेत गरेका थिए । उनले लेखेका थिए–

‘साथीभाइहरू तथा जनताको प्रेरणाले नै धेरै गीतहरू लेखियो । अब त जनपक्षीय गीत सुन्ने संस्कार हराउँदै जाला भन्ने डर भइसक्यो । तर सच्चा जनताका पक्षधरहरूले आफ्नो वर्गको मुक्तिको लडाइँ जुनसुकै रूपमा होस्, जारी राख्नेछ । त्यसरी नै युग बदल्ने जनसंगीत पनि कहिल्यै निभ्ने छैन । आफ्नो ठाउँबाट निरन्तर कलमहरू चलिरहनेछ, स्वरहरू गुन्जिरहनेछ ।’

जनताका प्रिय गायक र सर्जक खुशीराम आस्याङलाई पनि कमसेकम तिनै वर्गले कालान्तरसम्म सम्झिरहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।