७२ जुवाडे प्रहरी नियन्त्रणमा

तनहुँ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले चाडपर्वको समयमा ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले ७ लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । जिल्लाको डुम्रे, बेलचौतारा, भानु, व्यास, शुक्लागण्डकी नगरपालिका र बन्दीपुरलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
यसरी पक्राउ परेका जुवाडेलाई मुद्दा दर्ता गरि सकिए पनि फैसला हुन बाँकी रहेको उहाँले बताउनुभयो । जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद र ३० हजारसम्म जरिवाना वा दुवै हुनसक्ने मुलुकी अपराध ऐन संहिता, २०७४ को १३२ नम्बरमा उल्लेख छ । प्रहरीले बरामद गरेका बिगो जफत गर्ने कानूनी व्यवस्था छ । उहाँले भन्नुभयो, ‘जुवातास खेल्ने खेलाउनेलाई अहिले तारेखमा छाडिएको अवस्था छ ।’
प्रहरीले जुवातास खेल्नेहरुबारे सूक्ष्म अनुसन्धान गर्दै सुराकीको आधारमा जुवाडेलाई धमाधम पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा अघि बढाएको छ । स–साना जुवाडेलाई पक्राउ गरिए पनि ठूला जुवाडेलाई पक्राउ गर्न नसकिएको र उनीहरुलाई निसानामा राखिएको प्रहरीले जनाएको छ ।