दोश्रो कार्यकालका लागि विधानसभामा ह्यारीको उम्मेदवारी

अमेरिकाको मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट विधानसभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिनुहुने भएकाे छ । महामारीको कारण परोक्ष रुपमा आयोजना भएको उहाँकाे उम्मेदवारी घोषणा तथा कोष वृद्धि कार्यक्रममा एकै पटक २६ हजार डलर सहयाेगसमेत संकलन भएको छ ।
विधानसभा सदस्य भण्डारीले प्रत्यक्ष प्रसारण कार्यक्रममार्फत आफूले उम्मेदवारी दिने जानकारी दिनुभएकाे हाे । जुम कार्यक्रममा विभिन्न व्यक्तिले उनलाई सहयोग गर्ने घोषणा गर्दा कूल २६ हजार डलर संकलन भएको जनाइएको छ ।
त्यहाँ स्थित व्यवसायी ध्रुव वन्तका अनुसार जुम कार्यक्रममा सहभागि दर्जनौ विभिन्न पेशामा संलग्न व्यक्तिहरुले मन्तव्य राखेका थिए । सबैले पुन: एक पटक भण्डारीलाई जिताउनु पर्ने भन्दै आवश्यक सहयोगको वचन दिएका छन् । आर्थिक सहयोगको साथै पूर्ण सहयोग रहने उनीहरुको प्रतिबद्धता छ ।
विधानसभामा नेपाली समुदायका जन प्रतिनिधि हुँदा नेपाली समुदायलाई सहयोग पुग्ने विश्वास लिइएको छ । उनले यस अघि गरेको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै दोश्रो पटक जिताउन लाग्नु पर्ने भन्दै उपस्थित सबैले प्रतिबद्धता जाहेर गरेका छन् ।
भण्डारीले आफूले नेपाली समुदायलाई पनि सक्दो सहयोग गरेको र आफूले गरेका कामका बारेमा संक्षेपमा प्रकाश पर्दै पुन: एक पटक सहयोग माग गर्नुभएकाे हाे । भण्डारी अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिले मूलधारको राजनीतिमा राज्य बिधान सभा सदस्यको रुपमा खाता खोल्ने व्यक्ति हुनुहुन्छ । उहाँ मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने सम्भवत पहिला नेपाली मूलका व्यक्ति पनि हुनुहुन्छ ।
नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उहाँ अमेरिका आउनुभएकाे हाे । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउनु हुन्थ्याे । अमेरिकामा पनि उहाँ प्राध्यापन पेशामा नै संलग्न रहँदै आउनुभएकाे छ । -एजेन्सी