सरकार परिवर्तन हुने हल्ला मात्र : प्रधानमन्त्री

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुने हल्लामा कुनै सत्यता नभएको बताउनुभएको छ । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रुपमा लागिपरेको दाबी गर्नुभयो ।
उहाँले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताउनुभयो । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उहाँको दाबी थियो ।
प्रधानमन्त्री ओलीले घुन्साको कञ्चनजङ्घा क्षेत्र सबै पर्यटकका लागि खुला गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो । यस क्षेत्रमा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्बाङलगायतको सहभागिता थियो ।