पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

काठमाडौं । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार दिउसो १ बजेतिर भएको दुर्घटनामा पाइलटको मृत्यु भएको हो । उनीसँगै उडानमा रहेकी युवती घाइते भएकी छन्।
मृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे रहेको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।
पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर दुर्घटनामा परेको थियो। ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने क्रममा करिब २ किलोमिटर टाढा खसेको प्रहरीको भनाइ छ।
दुर्घटनामा परी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२, बासुकीकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन। उनको अहिले मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कोरोना महामारीले ठप्प भएको पोखराको पर्यटनलाई चलायमान बनाउन नेपाल हवाई उड्डयन संस्था (ना) ले पछिल्लो समय प्याराग्लाडिङमा ६० प्रतिशतसम्म छुट दिएको छ। सोही छुटको उपयोग गर्दै यतिबेला पोखराको आकासमा कावा खानेहरु बढिरहेका बेला यो दुर्घटना भएको हो।