कक्षा १२ का परीक्षार्थी र कर्मचारी सबैलाई मास्क अनिवार्य

काठमाडौं । भोलि मंगलवारदेखि शुरु हुने यस वर्षको कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा केन्द्रमा आउँदा, सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । हेल्थ डेस्कमा हात धुने र ज्वरो नाप्ने व्यवस्था हुनेछ । विद्यार्थी, निरीक्षक र परीक्षा केन्द्रमा रहने कर्मचारीले अनिवार्य मास्क लगाउनुपर्नेछ ।
एउटा कोठामा बढीमा २० जना परीक्षार्थी मात्र राख्न पाइनेछ । विद्यार्थीलाई दुई÷दुई मिटरको दूरीमा मात्रै राख्नुपर्नेछ । कुनै परीक्षार्थीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा छुट्टै कोठाको व्यवस्था गर्नुपर्नेछ । परीक्षा बोर्डले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ । परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् ।
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले सबैलाई ढुक्क हुन आग्रह गर्नुभएको छ । परीक्षा केन्द्र वरपर भीडभाड नगर्न मन्त्री पोखरेलले अभिभावकसँग आग्रह गर्नुभएको छ ।
परीक्षाको सिलसिलामा विद्यार्थीलाई कोभिड संक्रमण पुष्टि भएर परीक्षामा सहभागी हुन नसक्ने अवस्था आएमा फेरि परीक्षा दिन पाउने व्यवस्था मिलाइएको पनि उहाँले प्रष्ट पार्नुभएको छ ।