पारस खड्का आइसीसीको दशकको उत्कृष्ट खेलाडीमा मनोनित

काठमाडौँ । नेपाली क्रिकेटर पारस खड्का आइसीसी एसोसिएट प्लेयर अफ दी डिकेडको मनोनयनमा परेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सार्वजनिक गरेको एसोसिएट प्लेयर अफ दी डिकेडको मनोनयनमा खड्कासहित ६ जना खेलाडी परेका छन् ।
नेपालका खड्कासँगै स्कटल्यान्डका कायल कोएट्जर, क्यालम म्याकलियोड र रिकी बेरिङ्टन, पपुआन्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् ।
आईसिसीका एसोसिएट सदस्यका खेलाडीमध्ये सन् २०१० देखि २०१९ को बीचमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई यो अवार्ड दिइनेछ। विजेताको टुंगो भोटिङबाट हुने आइसिसीले जानकारी दिएको छ। भोटिङ खुला भइसकेको छ।
३३ वर्षीय पारसले नेपाललाई टीट्वेन्टी विश्वकपमा छनोट गराउन र एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता दिलाउन पारसले कप्तानी भूमिका निर्वाह गरेका थिए।
उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र एक अर्धसतक तथा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र तीन अर्धसतक बनाएका छन्।
उनी डेढ दशकयता नेपाली सिनियर राष्ट्रिय टोलीमा छन्। उनी सन् २००९ देखि एक दशक सिनियर राष्ट्रिय टोलीको कप्तान रहेका थिए। उनले गत वर्ष मात्र कप्तानबाट सन्याश लिएका थिए।