Logo माघ १५, २०७७ बिहीबार


नेकपा विवाद : ओलीले अध्यक्ष छोड्छन् वा प्रधानमन्त्री ?

टिप्पणी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका लागि केही दिन मात्रै बाँकी रहँदा पार्टीका दुवै समूह आ- आफ्नो तयारीमा सक्रिय बनेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको भूमिका सकारात्मक नहुँदा पार्टी र सरकार दुवै अपेक्षाकृत ढंगबाट चल्न नसकेको निष्कर्ष निकालेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका अन्य वरिष्ठ नेताहरुको समूहले ओलीले दुईमध्ये एक पद छोड्नैपर्ने अन्यथा ‘अर्को निर्णय’ गर्नुपर्ने अवस्था आउने बताउन थालेको छ ।

देशभर मदन भण्डारी फाउण्डेशनका नाममा छुट्टै सक्रियता देखाइरहेका प्रधानमन्त्री ओलीले गत सचिवालय बैठकमा आफूले राखेको मन्तव्य जस्ताको तस्तै आफू अनुकुलका सञ्चारमाध्यामबाट सार्वजनिक गरेपछि अर्को समूहले पनि प्रचण्डले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र अध्यक्षद्वयबीच आदान-प्रदान भएका पत्रहरुसहितको बुकलेट देशभरका कार्यकर्ता माझ पठाउन थालेको छ । यससँगै गत ३ गतेको सचिवालय बैठक १३ गतेका लागि सर्दा पार्टीमा एक प्रकारको ‘युद्दविराम’ जस्तै भएको र त्यसले समस्या समाधान गर्ने अपेक्षा गरेका तल्लो तहका कार्यकर्ता दुई ध्रुबमा विभाजित हुने क्रम पनि बढेको छ ।

पार्टी विवाद मिलाउन भनेर लागिरहेका दोस्रो तहका नेताहरुमा वैमन्यश्यता बढेको छ । विवाद समाधानका लागि आन्तरिक पहलकदमीमा निरन्तर जुटिरहेका वरिष्ठ नेता माधव नेपाल पक्षका युवा नेताहरु समेत स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि ओली समूहले चितवनमा योजनाबद्द र सुनियोजित ढंगबाट दुर्व्यवहार गरेको भन्दै आक्रामक बन्न थालेका छन् । ओली र प्रचण्डबीचको संवादहिनतामा सहजता ल्याउन सक्रिय नेताहरु यसरी चिढिन थालेसँगै नेकपा विवाद थप संवेदनशील मोडमा पुगेको देखिन्छ ।

विवाद समाधानका उपायको खोजी

नेकपामा अन्तरसंघर्ष जुन तहबाट पेचिलो बन्दै गए पनि अझै केही नेताहरु भने पार्टी एकढिक्का राख्न सकिने उपायबारे विमर्श  गरिरहेका छन् ।

महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य घनश्याम भुसालले अघिल्लो ३ गतेको बैठक बस्ने वातावरण बनाउन खेलेको भूमिका हेर्ने हो भने अहिले पनि केही नेताहरु कुनै पनि हालतमा विभाजन हुन नदिने अभियानमा जुटेको सहजै अनुमान गर्न सकिन्छ ।

पार्टी विवाद सल्टाउने कुनै सूत्र नदेखिएका बेला मंगलबार गृह जिल्ला रूपन्देही पुग्नुभएका महासचिव विष्णु पौडेलले एकता भएदेखि नै अप्ठ्यारा र जटिल मोड देखिएको तर अहिलेको परिदृश्य पृथक् देखिएको भन्दै नेकपाको भविष्य साँच्चिकै कठिन मोडमा पुगेको बताउनुभएको छ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

दुईमध्ये एक पद छोड्नुपर्ने ‘बटमलाइन’

नेकपामा पार्टी जटिल मोडमा पुगेको ठम्याइसहित विभाजन रोक्ने गरी सहमति जुटाउन विभिन्न विकल्पमा छलफल चलिरहेको छ । यसमा खासगरी दोस्रो पुस्ताको नेताहरुको सहभागिता बढेकाे देखिन्छ ।

उनीहरुले पार्टी भित्रको शक्ति सन्तुलनमा दुई अध्यक्ष तथा वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति भागबन्डा गरेरै भएपनि महाधिवेशनसम्म लैजान सकिन्छ कि भन्ने रणनीति बनाइरहेका छन् । तर ओली, दाहाल र नेपाल तीनै पक्षका ती नेताहरुमा यस्तो रणनीतिमा पनि आफू अनुकूलकै स्वार्थ बढी देखिन्छ ।

प्रधानमन्त्री ओली पक्षधर नेताहरूको पहिलो सर्त अध्यक्ष दाहालले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने छ । दाहालको प्रस्तावले कम्युनिस्ट आन्दोलन भाँडेकाले त्यसलाई फिर्ता नगरेसम्म सहमतिको सम्भावना नरहेको ओलीपक्षका स्थायी कमिटी सदस्य केशव बडालले बताउनुभयाे ।

तर प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरू पार्टी विभाजन नै हुने अवस्था आउँदा एक कदम पछि हट्न र त्यसका लागि कुनै विकल्पमा जान सक्नुपर्ने पक्षमा देखिन्छन् ।

नेपालपक्षीय नेताहरूले भने आज पार्टीमा उत्पन्न परिस्थितीको कारण प्रधानमन्त्री ओली भएको र उनले दुई पदमध्ये एउटा छान्नुपर्ने र एउटा छोड्नुपर्ने ‘बटमलाइन’ बनाएको देखिन्छ । नाम उल्लेख नगर्ने शर्तमा नेपाल निकट एक स्यायी कमिटी सदस्य भन्छन्, ‘पार्टी एकताबद्ध बनाउन ओलीले कम्तिमा पनि एक पद छोड्नुपर्ने हुन्छ ।’ ओलीले अध्यक्ष छाडे भने वरिष्ठ नेता नेपाल अध्यक्ष हुने, प्रधानमन्त्री छाडे भने प्रचण्ड प्रधानमन्त्री बन्ने गरी प्रचण्ड-नेपाल समूहमा भद्र सहमति बनेको पनि उनले बताए ।

प्रधानमन्त्री ओली र नेपाल पक्षका नेताहरुमा ओली सरकारलाई नै कम्तीमा यो कार्यकालभरि सत्ता सञ्चालन गर्न दिँदा स्थायी सरकार सञ्चालनको सन्देश जाने भएकाले ओलीले अध्यक्ष छाडेर सरकार सञ्चालन गर्नुपर्नेमा मोटामोटी सहमति जस्तो देखिएको पनि ती स्थायी कमिटी सदस्यको भनाइ छ ।

प्रधानमन्त्री पक्षका दोस्रो समूहका नेताहरुले प्रचण्डभन्दा वरिष्ठ नेता नेपालसँगको एकतालाई बढ्ता जोड दिन थालेकोले पनि ओलीले नेपालका लागि त्याग गर्नसक्ने र यहीँ बिन्दूबाट नेकपामा देखिएको यो पटकको संकट टर्ने आँकलन गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।