वर्ल्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपाललाई तीन स्वर्णसहित १० पदक

काठमाडाैं । पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनमा भएको ओपन २०२० वर्ल्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरि १० पदक हात पार्न सफल भएको छ । नेपाली खेलाडी सञ्जु देशार, सुबिता गौतम र अनुभा मग्रातीले नेपालका लागि स्वर्ण दिलाएका हुन् ।
महिला १४ देखि १८ बर्ष एडभान्स समूहमा सञ्जुले फिलिपिन्सकी काई डेनिस्टल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै नेपालका लागि स्वर्ण दिलाएकी प्रतियोगितामा निर्णायक तथा प्रशिक्षक रवि शाहीले जानकारी गराएका छन् । सुविता गौतमले नेपालकै जुलियाना मोक्तानलाई रजतमा खुम्चाउँदै स्वर्ण हात पारिन् । गौतमले १० वर्ष मुनि इन्टरमिडियट विधामा उक्त पदक प्राप्त गरेकी थिईन् । नेपालका लागि स्वर्ण जित्ने क्रममा अर्की खेलाडी अनुभाले ११ देखि १४ बर्ष ईन्टरमिडियट विधामा नेपालकै नान्सी क्षेत्रीलाई पराजित गर्दै स्वर्ण पोल्टामा हालिन् ।
१० दिन अगाडि मात्र क्यानडा कराते संघको आयोजनमा भएको सातो कप ईन्टरनेशनल २०२० मा नेपाका लागि स्वर्ण दिलाएका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धर भने रजतमानै खुम्चन बाध्य भए । मानन्धर पुरुष ४५ वर्ष एडभान्स विधामा मोरोक्कोका अजिर कायरसँग पराजित हुँदै रजतमा खुम्चन बाध्य भए ।
यस्तै, २२ देखि ४५ महिला एडभान्स् विधामा रिना श्रेष्ठ ईटालीकी ईलियोनोभा कोलेट्टाेसँग पराजित हुँदै रजतमा नै चित्त बुझाउन बाध्य भईन् । सातो कपमानै स्वर्ण दिलाउन सफल नेपाली अर्की खेलाडी निता आचार्य पनि रजतमा खुम्चिईन् । १९ देखि २१ वर्षको गर्ल्स एडभान्स विधामा आचार्य ईटालीकी सारा लङ्गो संग पराजित भएकी थिईन् । सत्कार घर्ती मगर र राजकुमार श्रेष्ठ भने कास्य पदक भन्दा माथि पुग्न सकेनन् । मगर १० वर्ष मुनि ब्वाईज एडभान्समा र राजकुमार २२ देखि ४५ वर्ष एडभानसमा पराजित हुँदै कास्यमा सिमित भएका हुन् ।
२० देखि २१ नोभेम्बर संम्म संचालित च्याम्पियनसिपमा नेपालसहित १६ राष्ट्रका २ सय ५० खेलाडीहरुले आफ्नो कौशलता अनलाईन मार्फत प्रदर्शन गरेका थिए ।