म्यानपावर सञ्चालकले दिए प्रधानमन्त्रीसम्म पहुँचको धम्की

काठमाडौं । म्यानपावर व्यवसायीहरुले गर्ने असुली धन्दा नयाँ भने होइन । पछिल्लो समय विभिन्न म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारीको लागि ती देशहरुबाट कुनै कामदारको माग नै नभएपनि उनीहरुले कामदार माग भएको भन्दै सयौँ ब्यक्तिहरुसँग राहदानी संकलन गर्दै पैसा समेत असुली गरिरहेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारण तत्कालीन समयमा नेपालबाट कामदार लैजान सम्बन्धित देशले नै रोक लगाएका थिए । तर अहिले बिस्तारै माग आउन थालेपछि म्यानपावर कम्पनीको धन्दापनि चल्न चालेको छ ।
कोरोनाले विश्वव्यापी महामारी सिर्जना गरेसँगै नेपाल सरकारले पनि गत फागुनको अन्त्यदेखि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति रोकेको थियो । पछिल्लो समय नेपाल सरकारले गत भदौ १५ गतेबाट मात्रै नयाँ तथा पुराना श्रम स्वीकृति खुला गरेको थियो । रोजगार खुला भएका गन्तव्य मुलुकमा सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला भएपनि रोजगारदाता मुलुकबाट कामदारको डिमाण्ड अर्थात मागपत्र नै नआइ म्यानपावर कम्पनीहरुले विभिन्न व्यक्तिसँग पासपोर्ट र रकम समेत असुली गरेको पाइएपछि वैदेशिक रोजगार विभागले त्यस्ता म्यानपावरहरुमा छापा मारेको छ ।
कतार प्रहरीमा डिमाण्ड आएको भन्दै केही म्यानपावरले रकम असुली गरेको सूचना आएपछि मंगलबार वैदेशिक रोजगार विभाग, प्रहरी र सञ्चारकर्मीहरु सहितको संयुक्त टोलीले केही म्यानपावर कम्पनीहरुमा छापा मारेको हो । मंगलबार काठमाडौं महानगरपालिका वडा ८ मा पर्ने गौरीघाटमा रहेको डिडी ह्युमन रिसोर्स म्यानपावरमा छापा मारेको थियो । अनुगमनको टोली पुग्दा उक्त म्यानपावरले कतार प्रहरीमा लानको लागि भन्दै धेरैको पासपोर्ट संकलन गरेको, केहीलाई तालिम समेत दिन थालेको समेत पाइएको थियो । डिडी ह्यूमन रिसोर्स म्यानपावरमा सोमबार पनि विभागले छापा मारेको थियो । मंगलबार पुग्दा भने केहीलाई बोलाएर संकलन गरेका व्यक्तिहरुको पासपोर्ट फिर्ता समेत गर्न थालेको भेटिएको थियो ।
मंगलबार विभागको टोली पुनः डिडी म्यानपावरमा पुग्दा त्यहाँ उसले पासपोर्ट दिँदै गरेको पनि भेटियो । पहिले कतार प्रहरीमा माग भएको जानकारी आएकाले पासपोर्ट बुझाएको तर अहिले म्यानपावर कम्पीले फिर्ता लिन बोलाएको कारण आफू म्यानपावर कम्पनीमा आएको उनको भनाइ छ ।
जतिबेला विभागको टोली डिडी म्यानपावरमा पुगेको थियो, त्यतिबेला त्यहाँ मानिसहरुको चहलपहल बाक्लै थियो । म्यानपावरको कागज अध्ययन गर्दा के सम्म भेटियो भने, एक वर्ष अगाडि नै आएको डिमाण्ड देखाएर उनीहरुले अहिले तालिम दिइरहेका छन् । तर विभागको टोलीसँगै पुगेको जनता टेलिभिजनले उक्त दृश्य आफ्नो क्यामेरामा कैद गर्न खोज्दा म्यानपावर सञ्चालकले क्यामेरा बन्द गर्न धम्की दिए ।
म्यानपावरको दादागिरी त्यतिमै सीमित रहेन । विभागबाट अनुगमनका लागि गएको टोलीले मुचुल्का उठाउन लाग्दा समेत सञ्चालकले अभद्र व्यवहार गरे । सञ्चालकले विभागले टोलीलाई मुचुल्का उठाउनसमेत दिएनन्, बरु प्रधानमन्त्री कार्यालयसम्म पुग्ने हैसियत भएको मान्छे भन्दै धम्काउन खोजे ।
म्यानपावरका सञ्चालकले आफूले गलत काम नगरेको तर विभागले पटक–पटक दुख दिएर व्यवसाय चलाउन समेत नदिएको आरोपसमेत लगाउन भ्याए । सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारीको लागि कामदार पठाउन पाइने कानुनी व्यवस्था त । तर सरकारले तोकेको न्युनतम रकम अर्थात् १० हजार रुपैयाँ मात्रै लिएर कामदार पठाउनुपर्छ । तर उक्त म्यानपावरले सम्बन्धित देशबाट डिमाण्ड नै नआएको खण्डमा पनि डिमाण्ड आएको, राम्रो सेवा सुविधा रहेको, मनग्य कमाइ हुने भन्दै युवाहरुबाट प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म लिने गरेको विभागको दाबी छ ।