यूरोप पठाइदिन्छु भन्दै पैसा असुल्ने म्यानपावरमा सिलबन्दी

काठमाडौं । वैदेशिक रोजगार विभागले ललितपुरस्थित म्यानपावर कम्पनी मुनलाइट इन्टरनेसनल प्रालिमा सिलबन्दी गरेको छ । उक्त म्यानपावरले विभागबाट स्वीकृतिबिना युरोपलगायतका विभिन्न मुलुक पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा असुलेको विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अवैध रुपमा विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाइरहेको भन्ने सूचना पाएपछि विभागको टोली कात्तिक ४ गते आकस्मिक अनुगमनमा गएको थियो ।
अनुगमनमा जाँदा कार्यालय बन्द रहेको र सञ्चालकलाई बारम्बार सम्पर्क गर्दा पनि विभागमा उपस्थित नभएकाले हिजो मुनलाइट म्यानपावरको कार्यालय सिल गरिएको विभागले बताएको छ । साथै, वैदेशिक रोजगारीमा जान भनी रकम बुझाएका व्यक्तिलाई १५ दिनभित्र विभाग वा श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पनि आग्रह गरिएको छ ।