इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई पक्राउ गरिएको छ ।
३ करोड रूपैयाँभन्दा बढी रकम ठगीको आरोपमा न्यौपानेलाई पक्राउ गरिएको हो । नेपाल इन्जिनियरिङ कलेजले ३ करोड ७१ लाख रुपैयाँ ठगेर न्यौपाने सम्पर्कबिहिन भएको उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिनुभयो ।
उनलाई आज दिउँसो काठमाडौंबाट पक्राउ गरिएको थापाले बताउनुभयो । न्यौपानेमाथि थप अनुसन्धान भइरहेको छ । न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकालको अध्यक्ष रहेका थिए । उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ ।
उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ । तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा पनि न्यौपाने मुछिएका थिए ।
रामेछाप मन्थली नगरपालिका वडा नंं ८ का न्यौपाने हाल काठमाडौं महानगरपालिका वडा नंं ४ स्थित चण्डोलमा बसोबास गर्दै आएका छन् ।