१० लाख लागतमा पाटेनागी पुग्ने सडक बन्दै

भगीरथ भण्डारी
इलाम । नगरपालिकाकाे १० लाख लागतमा वडा मार्फत पर्यटकीय नगरी पाटेनागी पुग्ने सडक निर्माणको काम सुरु भएकाे छ । नगरपालिका ३ पुवामझुवा स्थित पाटेनागी पुग्ने सडक निर्माणको काम सुरु भएकाे हो ।
इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले यहि महिना भित्र सडक पुर्याउनको लागि बल गरिरहेको र देउराली सम्म सडक पुर्याउने बताउनु भएको छ । उहाँले भन्नुभयो ‘सडक पुगे सँगै अन्य पूर्वाधार खानेपानी बिजुली पर्याउने र त्यहाँ भएको स्रोत व्यवस्थापन गर्न जग्गालिजमा उपलब्ध गराउने र त्यसलाई एउटा सुन्दर इलामको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको छ ।’
इलाम नगरपालिकाको बागखोर देखि पाटेनागी नजिकैको विव्ल्याटे सम्म पुर्याउने लक्ष्यका साथ काम भईरहेको वडा नम्बर तीनका वडाध्यक्ष तिर्थ गुरुङले बताउनुभयो ।
पाटेनागीको मूख्य आकर्षण
तीन हजार मिटरको उचाईमा रहेको यस क्षेत्रबाट चाँदी झैं टलकिएका हिमालको आनन्दसँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ । यहाँबाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँबाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै भू भाग नियाल्न सकिन्छ ।
यसठाउँमा रेडपाण्डा पाउने भएको कारण विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको अवलोकनका लागि पनि यो ठाउँ महत्वपूर्ण रहेको छ ।
यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोलालगायत खोलाहरूको उद्गम स्थल र नाग ठुङ्गा भएकोे कारण धार्मिक हिसावले पनि अव्वल मानिन्छ । गाई वस्तुले दुध दिएन भने नाग ठुङ्गामा पुजा गर्दा गोठ सप्रने धार्मिक विश्वाससमेत रहेको पाइन्छ ।
नाग ठुङ्गामा नाग, शंख लगाएतका विभिन्न किसिमका आकृति देख्न सकिन्छ भने यस क्षेत्रमा १२ प्रजातिका गुँरास पनि पाइन्छन् ।