मेचीनगरमा भेटियो ‘हरित परेवा’

काठमाडौं । चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पार्नुभएको छ । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका वडा नम्बर ७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको उहाँले जानकारी दिनुभयो । नेपालमै पहिलोपल्ट यो प्रजातिको चरा भेटिएको उहाँको भनाइ छ ।
चराहरुका बारेमा पुस्तक लेख्दै आउनुभएका डा. हेमसागर बरालले यस्तो चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसक्नुभएको छ । ‘मैले यही मंसिर ९ गते बिहान ८ः३० बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा ४ अनौठा परेवाजस्ता चरा देखेँ’, मेचीनगर वडानम्बर ६ निवासी खरेलले भन्नुभयो, ‘फोटो खिचेर पंक्षी संरक्षण संघ र डा. बराललाई पठाएँ, उहाँले यो पक्षी हरित परेवा रहेको र पहिलोपल्ट भेटिएको पुष्टि गर्नुभयो ।’
चराहरुको खोजी र संरक्षणमा विगत पाँच वर्षदेखि लागिरहनुभएका उहाँले झापा, इलाम, सुनसरी, चितवनलगायत स्थानमा डुलेर पंक्षीको तस्वीर खिच्ने र तिनको संरक्षणका लागि जनचेतना जगाउने काम गर्दै आउनुभएको छ ।
नेपालमा ८ सय ८६ प्रजातिका चरा भएको आधिकारिक तथ्यांक छ । हरित परेवालाई अहिलेसम्म पाइने चराको सूचीमा राखिएको छैन । अब चराहरुको प्रजाति ८ सय ८७ पुगेको मान्नुपर्ने चरा खोजकर्ता खरेलको भनाइ छ । घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने भएको हुँदा यो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ ।
हरित परेवा पाइनु चरा संरक्षण र चरा पर्यटनका दृष्टिले ठूलो उपलब्धि मानिएको छ । मेचीनगरका मेची र नन्दा नदीको किनारका दलदले क्षेत्र र इलामसँगको सिमानामा रहेको चुरे जंगल क्षेत्रमा ३ सय प्रजातिका चराको बासस्थान भएको बताइन्छ । उहाँले ती चरालाई संरक्षण गरी पर्यटक आकर्षित गर्न सकिनेतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।