नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा बुटवल, मोरङ र कास्कीमा २/२ जना र काठमाडौंमा १ जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मोरङको लेटाङ नगरपालिका वडा नंं. २ का ७० वर्षीय संक्रमित पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिनुभयो ।
यस्तै मोरङकै रतुवामाई नगरपालिका वडा नंं ८ का ८० वर्षीय कोरोना संक्रमित वृद्धको गएराति होम आइसोलेसनमै मृत्यु भएको छ । उता कास्कीको पोखरामा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका वडा नं. १३ का ६६ वर्षीया महिलाको गएराति मृत्यु भएको गण्डकी प्रदेशका कोरोना फोकल पर्सन डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
यस्तै लमजुङको मध्यनेपाल नगरपालिका वडा नं.७ का ८७ वर्षीया कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको डा. शर्माले जानकारी दिनुुभयो । यस्तै, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोनाका कारण मृत्यु भएको छ । शाक्यको आज बिहान काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
उता बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बुटवलका र अर्का एक जना अर्घाखाँचीका रहेका छन् । गत कार्तिक १४ गते संक्रमण पुष्टि भएका बुटवल उपमहानगरपालिका वडा नं ९ का ८५ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । त्यस्तै अर्घाखाँचीका पाणीनी गाँउपालिका वडा नं.५ का ७५ वर्षका पुरुषको पनि आजै विहान मृत्यु भएको अस्पताले जनाएको छ ।