कीर्ते नागरिकता दिएको आरोपमा २ पक्राउ

बागलुङ । जिल्ला अदालत बागलुङले कीर्ते नागरिकता सिफारिस गर्ने वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।
बागलुङ नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित ५ जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।
पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालीन वडा नम्बर ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ परेका छन् ।
अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न पनि प्रहरीलाई निर्देशन गरेको छ ।
फरक अभिभावक बनाएर कीर्ते नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका वडा नम्बर ६ बाट पंकज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।