काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रवासी नेपाली एकता मञ्च युकेका नेताहरुले पार्टीमा बढेको दलाल पूजिँवादको प्रभावले संकट बढेको बताउँदै त्यसबाट सचेत रहन नेताहहरुलाई आग्रह गरेका छन् । मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम नेता कार्यकर्ताका नाममा एक आगेह पत्र लेख्दै यस्तो पार्टीलाई जसरी पनि एकताबद्ध गर्न अनुरोध गर्नुभएको हो ।प्रवासी एकता मञ्च युकेका कोही पनि नेता तथा कार्यकर्ता पार्टीको यो वा त्यो ध्रुवका रुपमा छुट्टिएर आपसी गालिगलौजमा नउत्रिन पनि उहाँहरुले आग्रह गर्नुभएको छ । अध्यक्ष र सचिवले संयुक्त रुपमा लेख्नुभएको अनुरोध पत्रमा भनिएको छ, ‘आम नेपाली जनताले बुझेजस्तै हाम्रो पार्टी नेकपा अहिले चरम संकटको अवस्थामा आइपुगेको छ । कम्युनिष्ट पार्टीमा विचारको बहस हुन्छ र हुनु पनि पर्छ । तर हाम्रो पार्टीमा यो समयमा विचारको बहस छैन । समस्या छ त केवल पार्टीको विधि, रणनीति र कार्यनीति भन्दा बाहिर नेताहरुको व्यवस्थापनमा । कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन गर्न आतुर माफिया हुन् ।’अनुरोध पत्रमा पार्टी एकताको मर्मलाई ध्यान दिँदै समाजवादमा पुग्ने नेपाली जनताको सपनाको कदर गर्न, आफ्नै गौरवपूर्ण विगतको कदर गर्दै सचेत हुन र विद्यमान जटिल समयमा एक आपसमा आफ्नै पार्टीका नेता, कार्यकर्तालाई संकेत गरेर सामाजिक सञ्जाल र कुनै पनि सञ्चार माध्यममा अभिव्यक्ति नदिन पनि अपील गरिएको छ ।
अनुराेध पत्रकाे पूर्ण पाठ:प्रिय कमरेडहरूअभिवादन !नेपालका दुई ठूला र महत्त्वपूर्ण कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र एनेकपा माओवादीको बिचमा भएको ऐतिहासिक एकतापश्चात् आम नेपाली जनता र समाजवादी समाजको सपना देख्नेहरूको जीवनमा आएको खुशियाली अभूतपूर्व थियो । तर, नेकपाका शीर्ष तहमा रहेका भनिएका नेताहरूकै कारण निकट विगतको त्यो खुशियाली धेरै समय टिकिरहन सकेन । शीर्ष तहकै पुराना नेताहरुको व्यवहारका कारण पार्टी एकता र दुई तिहाई बहुमतको सरकार क्रमशः कमजोर हुँदै गइरहेको कुरा जनता सामु छर्लङ्गै छ ।
विगतमा नेताकाे स्तुतिगान, गुट र चाकडीकै भरमा जिम्मेवारी हासिल गरेकाहरू नै बढी उत्तेजित भएर अहिले गुटको पहरेदारी गर्दै पार्टी एकताविरूद्ध विषवमन गरिरहेका छन् ।
खास गरेर कोभिड -१९ को महामारी पछि नेपालको कम्युनिष्ट आन्दोलनलाई नै प्रश्न उठ्ने गरी पार्टीको माथिल्लो निकायमा भइरहेको विधि, पद्दति, संस्कार र अनुशासनबिहीन क्रियाकलापले सम्पूर्ण पार्टीपंक्ति नै सिथिल छ । यससँगै पार्टी नेताहरु आग्रह–पूर्वाग्रहमिश्रित गुटगत गतिविधि, अनुशासनहीनता र व्यक्तिगत तावेदारीमा तल्लीन देखिएका छन् । त्यस्तै यतिबेला ‘सर्प देख्दा दुलो बाहिर हात, माछा देख्दा दुलो भित्र हात’ भन्ने नेपाली उखानसँग मिल्दोजुल्दो भएको छ कार्यकर्ताहरूको मनोविज्ञान पनि।गुट र व्यक्ति केन्द्रित फाइदामा भासिएर लामो समय एउटै आन्दोलनमा सरिक कमरेडहरू निम्न स्तरको गालीगलौजमा उत्रिएका छन् । पार्टीका जिम्मेवार कमरेडहरुले सामाजिक सञ्जाल, सार्वजनिक मन्तव्य र पार्टीका फोरम समेतमा नराम्ररी आफ्नो सक्कली अनुहार देखाइरहेका छन् । विगतमा स्तुतिगान, गुट र चाकडीकै भरमा जिम्मेवारी हासिल गरेका साथीहरू पछिल्लो समयमा अझ बढी उत्तेजित भएर गुटको पहरेदारी गर्दै पार्टी एकताविरूद्ध विषबमन गरिरहेका छन् । यसले जनता र तल्लो तहका कार्यकर्तामा विभाजनको रेखा झन् कोरिने र निराशा उत्पन्न हुने स्थिति आउँछ ।
नयाँ जोश, जाँगर, विचार र नेतृत्वबारे बहस गर्नुपर्ने ठाउँमा कार्यकर्तालाई हनुमाने शैलीमा रक्षाकवच बनाइएको छ ।
आम नेपाली जनताले बुझेजस्तै हाम्रो पार्टी नेकपा अहिले चरम संकटको अवस्थामा आइपुगेको छ । कम्युनिष्ट पार्टीमा विचारको बहस हुन्छ र हुनु पनि पर्छ । तर हाम्रो पार्टीमा यो समयमा विचारको बहस छैन । समस्या छ त केवल पार्टीको विधि, रणनीति र कार्यनीति भन्दा बाहिर नेताहरुको व्यवस्थापनमा । कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन गर्न आतुर माफिया हुन् । विद्यमान आत्मकेन्द्रित भागबण्डाको लडाइँमा पनि खराब पक्षलाई नै पुरानो नेतृत्वले हर्ताकर्ता बनाएको छ । पार्टीभित्र विचौलियातन्त्र हाबी भएको छ । उच्च निकायका नेताहरू सरकार र पार्टी दुवैतिर निर्णायक भूमिकामा छन् । उनीहरुका क्रियाकलापले कार्यकर्ता र शुभेच्छुकलाई झन् उत्तेजनामा ल्याइरहेको छ । पार्टीका समस्या समस्या झन् बढिरहेका छन् । नयाँ जोश, जाँगर, विचार र नेतृत्वबारे बहस गर्नुपर्ने ठाउँमा कार्यकर्तालाई हनुमाने शैलीमा रक्षाकवच बनाइएको छ ।
कमरेडहरु !यहाँनेर संसारकै मेहनती जातमा गनिने कमिलाको प्रकृतिको एउटा उदाहरण उपयुक्त हुन्छ । एउटा काँचको ठुलो सिसीभित्र १००/१०० वटा राता र काला कमिला राखेर हेरौं । त्यहाँ केही पनि नराम्रो हुँदैन, दुबै जातका कमिला मिलेरै बसेका हुन्छन् । तर, त्यो सिसी हातमा लिएर मान्छेले एक पटक मात्र जथाभावी हल्लाएर टेबुलमा राखिदिएमा स्थिति ठीक उल्टो हुन्छ । त्यहाँ काला र राता कमिला एक आपसमा लडाईं शुरू गर्छन्, सकेसम्म एउटाले अर्कोलाई मार्न थाल्नेछन् ।रातो कमिलाले कालोलाई र कालो कमिलाले रातोलाई शत्रु ठान्नेछन् । बिचराहरूलाई आफ्नो शत्रु काँचको भाँडो हल्लाउने मानिस हो भन्ने पनि थाहा हुँदैन । अहिले हाम्रो समाज र पार्टीको हकमा पनि यही तीतो सत्य लागु भएको छ । मुलुकमा एक जातिविरूद्ध अर्को जाति, एक पार्टीविरूद्ध अर्को पार्टी अनि अझ हाम्रो पार्टीको हकमा चाहीँ एउटा गुट विरूद्ध अर्को गुट प्रयोग भइरहेका छन् । हामीलाई दलाल पूँजीवादले एउटा बन्द सिसीभित्र राखेर यसरी नै हल्लाइरहेको छ ।
नेकपालाई दलाल पूँजीवादले एउटा बन्द सिसीभित्र राखेर यसरी हल्लाइरहेको छ ।
कमरेडहरू !हामीले यति बेला यसरी एक आपसमा लड्नु भन्दा पहिला त्यो सिसी हल्लाउने दलाल पूँजीवादको नोकरको पहिचान गर्न जरुरी छ । कमरेडहरु यो घडीमा हामी सावधानी अपनाऔं, संयमित होऔं र नआत्तिऔं । नबहकिऔं र अरुलाई पनि नबहकाऔं । पार्टी एकताको मर्मलाई ध्यान दिँदै समाजवादमा पुग्ने नेपाली जनताको सपनाको कदर गरौं । आफ्नै गौरवपूर्ण विगतको कदर गर्दै सचेत हुनुपर्ने यो जटिल समयमा एक आपसमा आफ्नै पार्टीका नेता, कार्यकर्तालाई संकेत गरेर सामाजिक सञ्जाल र कुनै पनि सञ्चार माध्यममा अभिव्यक्ति नदिने प्रवासी नेपाली एकता मञ्च युकेका सदस्य एवम् शुभचिन्तकलाई सचेत रहन आग्रह गर्न चाहन्छौं।
न्यानो अभिवादनसहित !सुरेश गौतम राजेन्द्र पुडासैनीसचिव अध्यक्ष
प्रवासी नेपाली एकता मञ्च युके