‘कानूनकाे अभावमा स्थानीय तहमा काम गर्न अप्ठ्याराे’

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघबाट बन्नुपर्ने कतिपय ऐन कानूनहरु नबन्दा प्रदेश सरकार र स्थानीय तहलाई काम गर्न अप्ठेरो परेको बताउनुभयो । शुक्रबार आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो धारणा राख्नुभएको हो ।
सबै कुराको वातावरण बनेपनि ऐनकै कारण काम नहुने स्थिति देखा परेको उहाँको भनाइ छ । त्यसैले अबको हिउँदे अधिवेशनमा त्यस्ता सबै ऐन कानूनहरु निर्माण गरी संघीय संरचनाका सबै निकायहरुलाई काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
‘संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ । संघ र प्रदेशले बनाउनुपर्ने कतिपय नबन्दाखेरी स्थानीय तहलाई अप्ठेरो छ । वातावरण बनिरहेको छ तर ऐनकै कारणले झेल्नुपर्ने भएको छ ।’ उहाँले भन्नुभयो, ‘जे जति छन् भोलीका दिनहरुमा यति लामो अवधि गइसकेको छ अब यो हिउँदे अधिवेसनमा कम्तिमा पनि ऐन त बन्ने परिमार्जन हुने संशोधन हुने जाने प्रक्रिया हुन्छन भइरहन्छन् । तर संघले ऐनहरु नबनाइदिएर हामीले काम गर्न पाएनौं भनेर प्रदेश र स्थानीय तहले गुनासो नहुनेगरी अब बाँकी नीति बनाएका छौं तिनलाई कार्यान्वयनमा लाने हो ।’
तिमिल्सिनाले भन्नुभयाे, ‘म कानून मन्त्रीलाई विशेष गरी भन्न चाहन्छु त्यस्ता ऐन जति सबै यो हिउँदे अधिवेसनमा पास गरेर अब प्रदेश र स्थानीय तहका लागि संघले बनाउने कुनैपनि ऐनहरु बाँकी छैन भनेर भन्न सक्ने हामी बन्नुपर्छ ।’