नागढुंगा-कलंकी सडकखण्डमा जडित सीसी क्यामरा प्रहरीलाई हस्तान्तरण

काठमाडौं । नागढुंगा-कलंकी सडकखण्ड अन्तर्गत जडान गरिएका सीसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ । चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सीसी क्यामराको आज उद्घाटन गरी प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारका रुपमा रहेको नाढुंगाबाट कलंकीसम्मको सडकखण्डमा सीसी क्यामरा जडान भएका छन् । शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न, ट्राफिक नियमको उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन सीसी क्यामरा जडान गरिएको हो । राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सीसी क्यामराले सहयोग गर्ने विश्वास लिइएको छ । सीसी क्यामराको उद्घाटनपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सीसी क्यामरा जडान हुनु मानव सभ्यता, विकास र समृद्धिको प्रतिक भएको बताउनुभयो । नगरपालिकाले छाेटो समयमा सीसी क्यामरा जडान गरेपछि सडक सुरक्षा र अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नगरपालिकाले एक करोडको लागतमा सीसी क्यामरा जडान गरेको हो । नगरपालिकाको वडा नम्बर २ नागढुङ्गादेखि वडा नम्बर १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन् । क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरप्रुमख घनश्याम गिरीले बताउनुभयो ।