भारतीय विदेश सचिवको नेपाल भ्रमणको उपलब्धी : संवादहीनताको अन्त्य

काठमाडाैं । पूर्व परराष्ट्रसचिव प्रधुम्नविक्रम शाहले भारतीय विदेश सचिव हर्शवर्दन श्रृङ्गलाको नेपाल भ्रमणले दुई देशबीचको संवादहीनता तोडेको बताउनुभएको छ । दुईदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किनुभएका श्रृङ्गलाको नेपाल भ्रमणले नेपाल भारतबीच विगत एक वर्षदेखिको संवादहीनता तोडेको उहाँले बताउनुभयो । दक्षिण एसियाको महाशक्तिका रुपमा उदाइरहेको भारतलाई नेपाल लगायत छिमेकीहरुसँग चिसिएको सम्बन्धले फाइदा पनि नगर्ने उहाँले बताउनुभयो । श्रृङ्गलाको नेपाल भ्रमणले दुई देशबीचको चिसिएको सम्बन्ध सुमधुर मात्रै नभएर भारतको आन्तरिक जीवनमा पनि यसले ठूलो भूमिका खेल्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दुई पक्षीय वार्ता नभएर संवादहीनताको अवस्थालाई यसले चिरेको छ । भारतको चाहाना पनि छिमेकी राष्ट्रहरुसँग चिसिएको सम्बन्धले फाइदा गर्दैन भन्ने हो । आन्तरिक राजनीतिक र अन्तर्राष्ट्रियस्तरमा भारतको ‘क्रिटिसिजम’ नै हुन्छ । त्यसैले पनि भारतले नेपाल माल्दिभ्स, भुटान र बंगलादेश लगायतका देशहरुसँग सम्बन्ध विकास गरिरहेको छ । संयुक्त राष्ट्रसंघीय परिषदको सदस्यता पाउन प्रयासरत रहेको भारतलाई सबै देशहरुको सपोर्ट आवश्यकता पर्छ । त्यसैले भारतले सबै छिमेकीहरुसँको सम्बन्ध सौहार्द राख्न प्रयास गरेको छ ।’
पूर्व परराष्ट्रसचिव शाहले परराष्ट्रमन्त्रीस्तरमा हुने वार्तामा नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत ७१ ठाउँमा देखिएको सीमा विवादको विषयलाई मुख्य मुद्दा बनाउनुपर्ने बताउनुभयो । इपिजीले तयार पारेको प्रतिवेदनमाथि पुनः दुबै पक्षले छलफल गरी अन्तिम रुप दिनुपर्ने सुझाव पनि उहाँले दिनुभयो । नेपालको तराई क्षेत्रमा वर्षेनी डेढ दर्जनभन्दा बढी क्षेत्रमा डुबानको समस्या रहेको उल्लेख गर्दै उहाँले त्यो समस्या समाधान गर्दै नेपाल भारतको बढ्दो व्यापारघाटाको विषयमा पनि नीति परिवर्तनको मुद्दा उठाउनुपर्ने बताउनुभयो । उहाँले रक्सौल-काठमाडौं र पूर्व-पश्चिम रेल तथा हुलाकी राजमार्ग लगायतका एजेण्डा राख्नुपर्ने पनि बताउनुभयो ।
बिहीबार नेपाल आउनुभएका भारतीय विदेशसचिव श्रृङ्गला आज (शुक्रबार) स्वदेश फर्किनुभएको छ । नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्नुभएको थियो ।