‘आज ओलीका कुरा सुन्छौं’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आजको सचिवालय बैठकमा अरु नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कुरा सुन्ने बताउनु भएको छ । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्रीको प्रस्तुत गर्ने विषय सुन्ने मात्रै काम हुने उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले पार्टी अध्यक्षका रुपमा बैठकमा राख्ने विषय आगामी स्थायी कमिटी बैठकको छलफलको विषय बन्ने खनालको भनाइ छ । अध्यक्षद्वयको तर्फबाट बैठकमा प्रस्तुत भएका प्रस्तावलाई स्थायी कमिटी र केन्द्रिय कमिटीको बैठकबाट विधिवत टुंगो लगाइने पनि उहाँले उल्लेख गर्नुभयो ।
सचिवालय बैठकमा प्रचण्डले संगीन आरोप लगाउँदै १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव प्रेस गर्नु भएपछि आक्रामक बन्नुभएका प्रधानमन्त्री ओलीले आजको बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई निकै महत्वपूर्ण मानिएको छ । बैठकमा ओली आक्रामक रुपमा प्रस्तुत भए के हुन्छ भन्ने प्रश्नमा वरिष्ठ नेता खनालको भनाई छ, ‘केही पनि हुन्न, उहाँलाई आफ्ना कुरा राख्नकै लागि सचिवालयले समय दिएको हो । आफ्ना कुरा राख्नुहुन्छ, उहाँका प्रस्तावहरुलार्ई पनि लगेर स्थायी कमिटीमा छलफल हुने त हो नि ?’
आन्तरिक संघर्ष चरम उत्कर्षमा पुगिरहेको बेला नेकपा विभाजन हुन सक्ने अनुमान भइरहेको छ नि ? भन्ने जिज्ञासामा खनालले भन्नुभयो, ‘त्यो त ओलीमा नै भर पर्छ, मुख्य नेतृत्वको रुपमा उहाँको पहलकदमी सकारात्मक हुँदा परिस्थिति सहज हुन्छ, नकारात्मक हुँदा बिग्रिन्छ ।’ एक अर्को प्रश्नमा खनालले ओली समूहले आरोप पत्र भनिरहेको र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक दस्तावेज फिर्ता हुनै नसक्ने पनि प्रष्ट पार्नुभयो ।