Logo माघ १०, २०७७ शनिबार


पार्टी एकताका आधारहरू

–डा.विजयकुमार पौडेल
अहिले नेकपाको नेतृत्वमा तीब्र विवाद चलिरहेको छ । नेकपाभन्दा बाहिरका मानिसहरुलाई यो पदीय भागवण्डाको झगडा मात्रै हो भन्ने लागिरहेको छ वा उनीहरु त्यही कुरा प्रचार गरिरहेका छन् । नेकपाभित्रैका कतिपय मानिसहरुलाई पनि त्यस्तै लागिरहेको छ । नेकपाका तमाम इमान्दार कार्यकर्ता एकता चाहिरहेका छन् । नेकपाको एकता खल्बलिने पो हो कि भनेर कार्यकर्ता र समर्थकहरु धेरै चिन्तित छन् । कसले एकतामा भाँजो हाल्ने तीब्र प्रयास गरिरहेको छ, कस्ता प्रवृतिहरु एकताका बाधक हुन् ? विवादहरुका बीचको सत्य वा वास्ताविकता के हो त ? अहिलेको समयमा यस्ता जल्दाबल्दा विषयको उत्तर चाहिएको छ । आज यी र यस्तै विषयमा आम कार्यकर्ता साथीहरुका जिज्ञासा मेटाउने सानो प्रयास हुन सक्छ कि भन्दै प्रश्नोत्तरको शैलीमा लेख्न चाहन्छु ।

१. किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ?
आम नेपाली जनता श्रम गरेर इज्जतसाथ बाँच्न पाउने व्यवस्थाको खोजीमा छन् । छोटकरीमा भन्दा जनता देशभित्रै गाँस–बास–कपास (खाना, छाना र नाना) को ब्यवस्था होस् भन्ने चाहन्छन् । जतिसुकै कठोर मिहिनेत गर्न पनि नेपाली जनता तयार हुन्छन् तर त्यस्तो मिहिनेत गर्न पाउने वा रोजगारीको प्रत्याभूति हुने ब्यवस्था देशभित्र नभएका कारण लाखौंलाख युवाहरु विदेशमा आफ्नो रगत पसिना बगाउन बाध्य भएका छन् । नेपाली जनताका चाहना पुरा गर्ने काम समाजवादी कार्यक्रम बोकेको पार्टीले मात्र गर्न सक्छ भन्ने ठानेर नै गत चुनावमा नेकपाका पूर्व दुबै घटकहरू (नेकपा एमाले र माओवादी केन्द्र)ले संयुक्तरुपमा अगाडि सारेको साझा घोषणापत्र लाई विश्वास गरेर जनताले दुईतिहाई मत दिएका हुन् । यो पार्टी निर्माणमा हजारौं कार्यकर्ताको रगत र पसिना बगेको छ र लाखौं समर्थक–सुभेच्छुकहरुको सहयोग र त्याग समाहित छ । प्रगतिशील विचार र चरित्र बोकेको सुदृढ कम्युनिष्ट पार्टीले मात्रै समाजको पछौटेपन हटाउन सक्छ, बलियो राजनीतिक शक्तिले मात्रै देशको सीमा र अखण्डताको सुरक्षा गर्ने सरकार दिन सक्छ भन्ने कुरा जनताले पनि बुझेका छन् । अहिले नेकपा विभाजित भयो भने त्यही स्तरको ठूलो आकारको राजनीतिक शक्ति विकल्पमा छैन । यसैले नेकपाको एकता मूलतः यसका इमान्दार नेता–कार्यकर्ता र स्वाभिमानी नेपाली जनतालाई चाहिएको छ ।

२. के पूर्व एमाले एकजूट हुनु र माओवादीलाई एक्ल्याउनु वा पूर्व माओवादी केन्द्र एकजुट भएर पूर्व एमालेमा विग्रह ल्याउनु एकताको आधार हुन सक्छ ?
केही मानिसहरु ‘पूर्व एमाले एकजुट हुुनु पर्दछ, अनि मात्र माओवादीलाई तह लगाउन सकिन्छ’ भनेर हिँडिरहेका छन् । के यसरी एकता हुन सक्छ ? यसरी त विभाजन वा फूटलाई नजिक ल्याउने काम हुन्छ । यसैगरी कसैले पूर्व माओवादी एकजुट हुुनु पर्दछ भन्छ भने त्यो पनि घातक हुनेछ । जब दुई सामाजिक–राजनीतिक शक्ति मिल्छन् र नयाँ राजनीतिक शक्ति बन्दछ भने त्यसलाई पुनः विभाजित गरेर यथावत पूर्व अवस्थामा फर्काउन किमार्थ सकिन्न । मानिसका समूहहरुको एकता र विभाजन यान्त्रिक (मेकानिकल) हुँदैन । दुईभाग हाइड्रोजन र एकभाग अक्सिजन मिलाएर पानी बनाउने र पुनः टुक्रयाएर पूर्ववत घटक द्रब्य बनाउन सकिएजस्तो मानिसका बीचको सम्बन्ध हुँदैन । मानिस सचेत प्राणी हो, त्यो यान्त्रिक तत्व मात्रै हैन । यसैले राजनीतिक कार्यकर्तालाई लामो समयसम्म नक्कली कुराले भ्रममा राख्न सकिन्न । ढिलो चाँडो सबैले सापेक्षिक सत्य बुझ्छन् । यसैले पूर्व समूह एकजुट बनाउने वा योसंग त्यो लडाउने तरिकाले एकता हुन्न, त्यसो गर्ने तत्व आफैं विनास भएर जान्छ ।

३. के वर्तमान कचकच पदीय झगडा मात्रै हो ?
वर्तमान संकटका मूलभूत कारणहरु, यसअघि भनिएझै वैचारिक, सांगठनिक र सांस्कृतिक हुन् । यी तीनवटैमध्ये वैचारिक अस्पष्टता र त्यसबाट निस्केको चरम अवसरवाद नै संकटको मुल कारण हो । पदीय झगडा मूल कारण हो भनेर सरकार बाहिरका अध्यक्ष प्रचण्ड र अरु नेताहरुलाई आरोप लगाउन मिल्ने देखिन्न । प्रधानमन्त्री रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पटकपटक ‘सरकार चलाउने ब्ल्यांक चेक’ दिने अध्यक्ष प्रचण्डलाई अहिलेको सन्दर्भमा पदलोलुप भन्न त मिल्दै मिल्दैन । अध्यक्ष प्रचण्ड, निसन्देह, कमजोरीरहित हुनुहुन्न । तर पार्टी एकता गर्दा आधाआधा समय प्रधानमन्त्री चलाउने सम्झौतालाई चटक्क छोडेर, प्रधानमन्त्रीको पदलाई लात मारेर, पार्टी चलाउन पाउँ भन्नु पदलोलुपता हुँदै हाेइन ।

पार्टीमा जालझेल गर्ने, एउटै पदको आश्वासन तीन/चार नेतालाई बाँडेर खेल्न खोज्ने, भ्रष्ट र चाकरीबाजहरुलाई राजनीतिक नियुक्ति दिने प्रवृति नै मूल समस्या हो । आफ्नो मन्त्रिपरिषद्का कुनै मन्त्री वा राजनीतिक नियुक्ति पाएका व्यक्तिले आर्थिक भ्रष्टाचार गरेको गुनासो सुनिएमा वा आरोप लागेमा छानविन गर्नुको साटो हत्तपत्त सफाइ दिनका लागि प्रधानमन्त्री आफै अगाडि सर्ने कुराले प्रधानमन्त्रीप्रति नै आशंका जन्माउनु स्वाभाविक हो । पार्टीका समस्याबारे गहन छलफल गर्न तयार हुने, स्थायी समिति र केन्द्रीय समितिको बैठक समयमा राख्ने, संसदीय दललाई जीवन्त बनाउने, सरकारका नीति तथा कार्यक्रम र बजेटबारे संसदीय दल र पार्टी केन्द्रमा छलफल हुन दिने र ती छलफलका निश्कर्ष मान्न तयार हुने र जोकसैमाथि भ्रष्टाचारको आरोप लाग्यो भने हत्तपत्त निजी सफाइ दिन थाल्ने हैन, छानविन गर्न तयार हुने हो भने सबै समस्या सामसुम भैहाल्छन् ।

४. के जबज पार्टी एकताको आधार हुन सक्छ ? के जबज सर्वकालिक हो ? के यसमा समयानुकूल सिर्जनात्मक विकास हुन आवश्यक छैन ?
अहिले कुनै पनि पूर्वघटकले आफ्ना विचार अर्को घटकमाथि लादेर वा एक पक्षले अर्कोपक्षलाई वैचारिक विषयमा आत्मसमर्पण गराउन खोजेर एकता बलियो हुन्न । यही कुरालाई बुझेर नै अहिलेका दुई अध्यक्षले संझौता गर्दा ‘समाजवाद उन्मुख जनताको जनवाद’ भनेर शब्द चयन गर्नुभएको होला भन्न सकिन्छ । तर महाधिवेशनको बहस खुला नहुँदै जबजको नाम र भावना जोडजोडले उचाल्ने प्रयास गर्नु वैचारिक अवसरवाद हो भन्न सकिन्छ । महाधिवेशनमा ‘जबजको वैचारिक लाइन ठीक छ’ भनेर बहस गर्न पाइन्छ । सर्वसम्मत वा बहुमतले त्यो स्विकार्यो भने त्यही कुरा पार्टी लाइन बन्न पनि सक्छ तर अहिले नै कुनै लाइनलाई एकताको सर्त बनाउन थालियो भने त्यसले विभाजनको खाडललाई अझै गहिरो बनाउने छ ।

महाधिवेशनमा जबज छलफलको विषय बनाउने हो भने पनि यसमा समयानुकूल के–कस्तो सिर्जनात्मक विकास गर्नु पर्ने हो भनेर छलफल हुनु पर्दछ । कुनै पनि वैचारिक कुरामा परिमार्जन नै हुनु पर्दैन, वा अमुक विचार सर्वकालिक हो भन्ने मान्यता कसैले पनि राख्न हुँदैन । दुई भिन्न कार्यशैली र वैचारिक पृष्ठभूमि भएका कम्युनिष्ट पार्टीहरु आपसमा एकता गर्दा एकले अर्काको विचारको सम्मान गर्नु पर्ने हुन्छ, आफ्ना कुरा एकोहोरो रुपमा थोपर्न खोजेर एकता जोगाउन सकिन्न ।

५.जबज अनुसारको आचरण के हो ? एक्काइसौं शताव्दीको जनवाद अनुसारको आचरण के हो ?
अन्तर पार्टी लोकतन्त्र वा जनवादलाई निरन्तर बलियो बनाउन तयार हुनु, फरक मतलाई सम्मान गर्नु, सबै कार्यकर्तालाई योग्यता अनुसार जिम्मा दिन तयार हुुनु, गल्ती–कमजोरीलाई निशर्त स्विकार्न तयार हुनु, निश्चित विधि र पद्धतिलाई अनुशरण गर्नु जबजको वैचारिक लाइनले माग गर्ने कार्यशैली हुन् । एक्काइसौं शताब्दीको जनवादको वैचारिक लाइन पनि त्यही हो । छलफलबाट भाग्नु र आन्तरिक लोकतन्त्र नमान्ने कुरा जबजको लाइन हाेइन।

६. जबज बारे मदनकुमार भण्डारीले के भन्नुभएको छ ?
नेपाली क्रान्तिको चरित्रबारे मदन भण्डारीले भन्नुभएको छ–
“सामन्तवाद–साम्राज्यवादको उन्मूलन गर्ने, अर्धसामन्ती र अर्धउपनिवेशी उत्पादन सम्बन्ध समाप्त पारेर जनवादी र राष्ट्रिय उत्पादन सम्बन्ध कायम गर्ने तथा आमजनताको संयुक्त राज्यसत्ता स्थापना गर्ने हुनाले यसै अर्थमा हाम्रो क्रान्ति पनि नयाँ जनवादी नै हो र हाम्रो कार्यक्रम पनि नयाँ जनवादी नै हो । अरु मुलुकमा कतिपय आफ्ना विशेषताहरुको सन्दर्भलाई लिएर त्यसलाई कहीँ नयाँ जनवाद, कहीँ जनताको जनवाद, र कहीँ राष्ट्रिय जनवाद जस्तो नाम दिइयो । सारतत्वमा त्यो सबै नयाँ युगको सन्दर्भबाट जनताको जनवाद नै थियो ।” (मदन भण्डारी, संकलित रचनाहरू, भाग–१, (काठमाडौंः नेकपा एमाले, २०५२), पृ. ३३९ ।

कम्युनिष्ट पार्टीभित्र वैचारिक छलफलको महत्वबारे मदन भन्नुहुन्छ–
“… हाम्रो पार्टीले सैद्धान्तिक वैचारिक संघर्षमा गंभीरता र उत्साहका साथ भाग लिनुपर्छ । आफ्ना विचार–विश्लेषणहरूलाई दृढताका साथ अघि सार्नु पर्छ । स्वतन्त्रतापूर्वक पार्टीलाई बलियो बनाउन साहसका साथ कदम चाल्नु पर्छ ।” (उही, पृ. ३४९–३५०) ।

कम्युनिष्ट पार्टीमा लेनिनवादी संगठनात्मक सिद्धान्तको महत्व र पार्टी विभाजन हुने कारणबारे मदन भन्नुहुन्छ–
“विभाजनको निम्ति सिद्धान्त र राजनीतिको मतभेद नै प्रमुख हो भने फुटेर पुनर्गठित भएका समूहहरुमा फेरि उही फूट र विभाजन देखिने थिएन । विचारधारात्मक संघर्ष गहिरिएर जाने थियो र अहिलेसम्म धेरै कुरामा सही र गलतको फैसला भैसक्ने थियो । तर त्यसो भएन । यसको मतलब नेपाली कम्युनिष्ट आन्दोलनमा अरु कुरा बाहेक लेनिनवादी संगठनात्मक सिद्धान्तलाई बुझ्ने, समाउने र इमान्दारिपूर्वक पालन गर्ने काम भएन, बरु त्यसको घोर उल्लंघन भयो । पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूमा गैर सर्वहारा प्रवृतिहरु प्रभावशाली भए, तिनीहरुले नै पार्टी र आन्दोलनलाई पनि विकृत पारे ।” (उही, पृ. १–२) ।

कम्युनिष्ट पार्टीको आधारभूत चरित्र उल्लेख गर्दै मदन भन्नुहुन्छ–
“शास्त्र र सूत्रहरूको निम्ति जीवनको बलिदान दिने होइन, जीवनको निम्ति शास्त्रहरुको रचना गर्ने पार्टी हो । गल्ती हुन्छ कि भनेर कामै नथाल्ने वा गल्ती नहोस् भनेर शास्त्रमा भने जस्तो मात्र गर्ने र गल्ती भएपछि त्यसैको जिम्मा लगाएर आफू पन्छिने पार्टी होइन । काम गर्न आँट गर्नु पर्छ, रचनात्मक ढंगले काम गर्ने शैली अपनाउनु पर्छ र गल्ती भए सच्याउने तत्परता र साहस गर्नुपर्छ । हाम्रो पार्टी त्यस्तै पार्टी हो ।” (उही, पृ.५) ।

कमिटी प्रणालीको महत्वबारे मदन भन्नुहुन्छ–
“… कमिटी व्यवस्थालाई सुदृढ बनाउनु पर्दछ । कमिटीहरु भनेका नेताहरु संगठित भएका ठाउँहरु हुन्, तिनीहरु कार्यार्थ हुन्, केवल बोधार्थ वा मानार्थ मात्र होइनन् ।” (उही, पृ. १७) ।

कमरेड मदनले उहिले नेपाली कांग्रेसको सरकारका बारेमा भनेका कुराहरु एकपटक सम्झौं, कतै ती अहिलेका लागि भनिए जस्ता त लाग्दैनन् ?–
“…व्यवस्था परिवर्तन भएर पनि जनताले रोजेको, जनताले चाहेको व्यवस्था र सरकार स्थापित भएर पनि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा खासगरी आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा मुलुकले कुनै परिवर्तन महशुस गर्न पाएको छैन र विस्तारै राजनीतिक क्षेत्रका कुराहरु पनि बादलमा लुक्न थालेका छन् र धमिलोमा तिनीहरु ओझेल पर्न थालेका छन् । त्यसो भएको हुनाले यस्ता कुराहरुलाई समाान गर्दै साँच्चै स्वच्छ, प्रजातान्त्रिक ढंगको प्रक्रिया अवलम्बन गर्ने र यसलाई अगाडि लैजाने हो भने पूर्वाग्रहबाट मुक्त भएर, प्रतिशोधको भावनाबाट मुक्त भएर, साँचो अर्थमा औचित्य, अनौचित्यका कुरा र कम्तिमा पनि संविधान र ऐन कानुनहरुमा व्यवस्थित गरिएका प्रजातान्त्रिक हक अधिकारका कुराहरुलाई निर्वाधढंगले उपयोग गर्न दिएर मात्रै यो सिष्टम र यो परिपाटी बहाल रहन र प्रगति गर्न सक्छ ।” (उही, पृ.१८३)

७. पार्टी एकताका आधार के हुन सक्छन् ?
अहिले नेकपामा एकैपटक तीनवटा संकट देखिएका छन्– वैचारिक, सांगठनिक र सांस्कृतिक ।
अत्यधिक बहुमत प्राप्त गरेको कम्युनिष्ट पार्टीको सरकारले कस्तो नीति तथा कार्यक्रम अगाडि बढाउनु पर्ने हो, त्यस्तो नीति तथा कार्यक्रमका लागि कस्तो राष्ट्रिय योजना चाहिने हो, अहिलेको वर्गीय संरचना अनुसार समाज विकासको प्रमुख बाधक शक्ति र प्रवृति के हो भन्ने विषयमा स्पष्टता नहुनु र सो बमोजिम कम्युनिष्ट सरकारले कस्ता अर्थराजनीतिक शक्तिहरुलाई नजिक राख्ने र कस्तालाई निषेध गर्ने वा कस्ताबाट टाढा हुने भन्ने कुराको निक्र्यौल नहुनु नै मूल समस्या हो । मूल वैचारिक समस्या समाधान नभएपछि गलतलाई सही र सहीलाई गलत देख्न पुगिन्छ । अहिले नेकपाको नेतृत्व र सरकारमा रहेको समस्या यही हो ।

विडम्बनाको कुरा हो– अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शक्तिशाली सरकार बनेदेखि आजका मितिसम्म पार्टीको शीर्ष नेतृत्व तहमा र संसदीय दलमा समेत कम्युनिष्ट सरकारले लिनुपर्ने नीति तथा कार्यक्रम र त्यसअनुसार कस्तो राष्ट्रिय योजना र सोही अनुसारको बजेट विनियोजन हुनु पर्दछ भन्ने बारेमा एकपटक पनि छलफल गराइएन, हुन दिइएन । वैचारिक छलफलप्रति अरुची हुनु नै अहिलेको नेतृत्वको संकट हो ।

सांगठनिक संकटका बारेमा त कुरै गर्नु परेन । पार्टी एकीकरण भएको दुई वर्ष वितिसक्दासम्म पनि एकीकरणको कामलाई पूर्णता दिनेतिर नेतृत्व लागेन । केन्द्रदेखि वार्डसम्मका कमिटीहरु प्रायशः बेवारिसे भएका छन् । अहिले कमिटीहरुमा जीवन छैन । सांस्कृतिक संकटको त के कुरा गर्नु र ? कम्युनिष्ट पार्टीका अध्यक्ष र सरकारका प्रधानमन्त्री र अर्का अध्यक्षका बीचमा तिक्त सम्बन्ध हुनु र धम्कीको भाषा समेत प्रयोग हुनुले सांस्कृतिक चेतनाको स्तरलाई बताइरहेका छन् ।

समस्याको वैचारिक तहमा समाधान खोज्नु, संगठनलाई चुस्त दुरुस्त बनाउनु र सही विचार अनुसार आचरण र कार्यशैली अपनाउनु पार्टी एकताका आधार हुन् । यी कुराहरु नै पार्टीलाई जीवन्त बनाउने आधारसमेत हुन् । एक–अर्कामा आरोप–प्रत्यारोप हाेइन गहन छलफल र त्यसबाट निस्कने निश्कर्ष सबैले मान्नु नै अहिलेको लागि पार्टी एकताको प्रमुख आधार हो । अन्तरपार्टी जनवाद वा पार्टीभित्रको लोकतन्त्रलाई सबैले मान्ने कुरा नै समाधानको प्रस्थानविन्दू र निकासविन्दू दुबै हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…

शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नयाँ काम आईपर्नेछ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।

साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।