चिनियाँ रक्षामन्त्री फेङ्हो काठमाडौं आउँदै, यस्ता छन् आजका कार्यक्रम

काठमाडौं । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो एकदिने कार्यशील भ्रमणका लागि आज (आइतबार) काठमाडौं आउँदै छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
एक दिनका लागि नेपाल आउने वेइ आजै साँझ स्वदेश फर्किने छन् । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरेर शुक्रबार साँझ स्वदेश फर्किएका छन् । विदेशमन्त्री स्वदेश फर्किए लगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
उनको भ्रमणलाई राजनीतिक सन्तुलन मिलाउने कसरतका रुपमा समेत व्यख्या गरिएको छ । भारतले निरन्तर नेपालको सम्बन्धलाई लिएर चीनमाथि उठाएको चासो र नेपाल भारतका उच्च प्रतिनिधिको लगातार भइरहेको भ्रमणलाई मध्यनजर गर्दै चिनियाँ पक्षले वेइलाई नेपाल भ्रमण पठाएको विज्ञको अनुमान छ ।
फेङ्होले सैनिक मुख्यालय जंगी अड्डामा केही समय बिताउने छन् भने राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटलाई प्राथमिकता दिएका छन् । उनको भ्रमणमा चीनले नेपाललाई गर्दै आएको सहयोगको विषयमासमेत छलफल हुने बताइएको छ ।