राष्ट्रपति सीको सन्देशसहित आइपुगे चिनियाँ रक्षामन्त्री

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही घण्टाका लागि काठमाडौं आएका फेङहेले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने तय भइसकेको छ ।
भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै भएको चिनियाँ रक्षामन्त्रीको आगमनलाई राजनीतिक वृत्तमा अथपूर्ण रुपमा हेरिएको छ । विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा गएका रक्षामन्त्री फेङहे केहीबेरमै औपचारिक भेटवार्ताका लागि निस्किने जनाइएको छ ।
रक्षामन्त्री फेङहेले सबैभन्दा पहिले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । दिउँसो दुई बजे जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङहेलाई सम्मानगारथ अर्पण गरेपछि प्रधानसेनापति थापासँग फेङहेको शिष्टाचार कल (अफिस कल) हुनेछ ।
रक्षामन्त्री फेङहेको टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न फेङहे प्रधानमन्त्री निवास बालुवाटार पुग्ने कार्यक्रम छ । प्रधानमन्त्रीसँगको भेटवार्तापछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न फेङहे शितल निवास जानेछन् । राष्ट्रपतिलाई भेटेपछि उनी सीधै स्वदेश फर्कने कार्यक्रम छ ।
भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्रीले दुई देश बिचको राजनीतिक सम्बन्ध र बेल्ट एण्ड रोड लगायतका द्विपक्षीय सम्बन्ध बारेको राष्ट्रपति सी चिनफिङको सन्देश प्रधानमन्त्री र राष्ट्रपतिलाई सुनाउने छन् । यसबाहेक उनले क्षेत्रीय सुरक्षाका विषय र नेपालमा हुनसक्ने चीन विरोधी गतिविधिप्रति चासो राख्ने पनि अनुमान गरिएको छ ।
स्रोतका अनुसार दुई पक्षबीच केही महिनायता हुम्लामा चीनले नेपाली भूभाग मिचेको विषयमा पनि संवाद हुने बताइएको छ । चीनले सीमा मिचेको सम्बन्धमा केही समययता नेपालमा भएका प्रदर्शनको विषयलाई चीनले निकै गम्भीर रुपमा लिएको देखिन्छ ।