४ महिनामा धादिङमा मात्रै भित्रियो १ अर्ब रेमिट्यान्स

धादिङ । जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७/ ०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट ९९ करोड ८२ लाखभन्दा बढी रेमिट्यान्स भित्रिएको हो ।
जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट्यान्स महिलाको नाममा आउने गरेको कला इन्टरनेशनलका प्रबन्धक रामचन्द्र गिरीले बताउनुभयो । विभिन्न रेमिट्यान्स कम्पनीको आधिकारिक प्रतिनिधिको रूपमा काम गरिरहेको कला इन्टरनेशनल प्रालिमार्फत उत्तरी धादिङ र मध्य क्षेत्रका स्थानीयवासीका विदेशमा काम गर्न गएकाले रकम पठाउने गरेका छन् ।
असोज महिनामा मात्रै ३३ करोड ५५ लाख बराबरको रेमिट्यान्स आएको छ । विदेशबाट आएको रकममध्ये सबैभन्दा धेरै मलेशियालगायत खाडी मुलुक साउदी, कतार, बहराइन, दुवई, कुवेत, इराक, अफगानिस्तानबाट रेमिट्यान्स भित्रिने गरेको छ ।