Logo बैशाख १, २०७८ बुधबार


कपडामा कला भर्दै साहित्यमा कलम चलाउने हातहरु

अम्बिका खड्का
काठमाडौं । विश्वका धेरै मुलुकमा साहित्य एउटा आफैँमा पेशा हो । लेखेरै दैनिकी चलाउने मात्र होइन, शानदार जीवन बिताउने धेरै स्रष्टाहरु छन् । तर नेपालमा साहित्यले मात्र जीवनयापन हुने स्थिति हामी कहाँ अझै बनिसकेको छैन । त्यसैले विभिन्न साहित्यकार एवं कवि लेखकहरुले आफ्नो अनुकुल जागिर व्यवसाय गरेका छन् । जसमध्ये केही महिला लेखक छन् जसका हातले साहित्यमा कलम मात्र चलाउँदैनन् कपडामा बुट्टा (बुटिक) समेत भर्ने गर्छन् । साहित्य लेखेर पाठकलाई मन्त्रमुग्ध मात्र बनाउँदैनन् कपडा बेचेर, कपडामा कला भरेर ग्राहकलाई पनि मख्ख बनाउने काम गर्दै आएका छन् ।

एकथरी भन्छन् यो सयम ढाँट्ने, छल्नेहरुको हो,
के काम टुकी, बिजुलीझैँ झलमल्ल बल्नेहरुको हो,
ब्रम्हमुहुर्तमा निन्द्राबाट ब्युझाउँदै भन्छ समय, उठ
यो समय, मभन्दा एक कदमअघि चल्नेहरुको हो ।

यो मुक्तक साहित्यकार निशा केसीको हो । यस्ता सयौँ मुक्तक लेखिसक्नु भएकी केसीले ‘रहरले किनार हुँदा’ नामक मुक्तक संग्रह समेत प्रकाशन गरिसक्नु भएको छ । साहित्यकार केसीको मनले मुक्तकसँगै कथा, कविता, गजल फुराउँछ भने हातले कपडामा बुटिक भर्छ । करिब १० वर्षदेखि साहित्य क्षेत्रमा सक्रिय भएर कलम चलाउन थाल्नुभएकी केसीले विगत २६ वर्षदेखि गर्दै आउनुभएको बुटिकको काम भर्खरै मात्र छोड्नुभएको छ । हाल उहाँ गाउँगाउँ, घरघरमा गएर महिलाहरुलाई अर्गानिक मलसम्बन्धी ट्रेनिङ दिनमा व्यस्त हुनुहुन्छ । केसी भन्नुहुन्छ, ‘आर्थिक आम्दानीका लागि व्यवासय गरेकी हूँ, साहित्य रुचि हो । यसका लागि मैले छुट्टै समय निकाल्नुपर्दैन, जतिबेला जहाँ जे फुर्छ त्यहिँ लेख्ने गरेकी छु । पसलमा (बुटिक) हुँदा पनि म लेखिरहेकी हुन्थेँ ।’

साहित्यकार अनुपम रोशी उपन्यास तथा कथा लेख्नुहुन्छ । उहाँका ‘कुमारी आमा’, ‘नाङ्गो मान्छे’, ‘कालो छायाँ’ गरी ३ वटा उपन्यास र ‘मध्यान्तर’ एक कथासंग्रह प्रकाशित भइसकेका छन् । करिब २० वर्षदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आउनुभएकी अनुपम रोशी पनि विगत एक वर्षदेखि कपडामा बुटिक भर्न हात चलाउन थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘साहित्यमा मात्र लागेर त जीवन चल्दैन, जीवन गुजारा गर्न अन्य साहित्यकारले जसरी कुनै व्यवसाय वा जागिरमा समय दिनुहुन्छ मैले पनि त्यहि समय दिने हूँ, साहित्य त जुन बेला फुर्छ त्यहि बेला लेखिन्छ ।’

इलामको पशुपतिनगरमा करिब २२ वर्षदेखि कपडाको व्यवसाय गर्दै आउनुभएकी साहित्यकार कविता राईको नशा नशामा साहित्य छ । विद्यालय पढ्दादेखि ‘कामना’ लगायतका पत्रिकामा कविता छपाउने राईले आफ्नै कविता संग्रह समेत प्रकाशन गरिसक्नु भएको छ । कविता, मुक्तक, गीत, कथा लेखेर पाठकलाई खुशी बनाउने राई व्यापारबाट ग्राहकलाई समेत मख्ख बनाउनुहुन्छ । उहाँ चाइनाबाट सामान ल्याएर भारतका लागि होसलेसमा पठाउने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘साहित्यको कुनै निश्चित समय हुँदैन, जतिबेला फुर्छ त्यहिबेला लेख्ने हो तर व्यवसायको निश्चित समय हुन्छ त्यसैले यी दुवै क्षेत्रलाई म सहजै व्यवस्थापन गर्न सक्छु ।’ राईले पसलमा भएका बेला फुरेका कुराहरु बीलको पछाडिपट्टि लेख्ने गरेको र बिर्सिएर ग्राहकलाई त्यहि बिल दिएर पठाउने गरेको रमाइला अनुभव समेत सुनाउनुभयो ।

देवकी अविलाशी नाम साहित्य क्षेत्रमा एक अर्को परिचित नाम हो । उहाँका ‘धरातलभित्रको जिन्दगी’, ‘भावनाको फूलहरु’ नामका कविता संग्रह र ‘आसु पिउँदै हाँस्नेहरु’ नामक गीत संग्रह बजारमा आइसकेका छन् । उहाँले पनि विगत एक वर्षदेखि काठमाडौंको रातोपुलमा बुटिक व्यवसाय गर्दै आउनुभएको छ । १५ वर्षदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आउनुभएकी देवकी अविलाशीका हातहरुले यतिबेला कपडामा बुटिक समेत भर्न थालेका छन् । उहाँ भन्नुहुन्छ, ‘साहित्य भावना हो, भावनाले मात्र पेट भरिँदैन, त्यसैले कुनै न कुनै व्यवसाय त गर्नै पर्यो ।आफ्नो व्यवसायबाट सन्तुष्ट छु । ’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…