आर्थिक अनियमितताको आरोपमा एक इन्स्पेक्टर र दुई एसपी निलम्बित

काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) र दुई जना प्रहरी उपरीक्षक (एसपी) निलम्बित भएका छन् । गृह मन्त्रालयले इन्सपेक्टर मेघराजप्रसाद चौरासिया र एसपी रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरेको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा आर्थिक अनियमितता गरेको आरोपमा उनीहरुलाई निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक बस्नेत महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाह पथमा र प्रहरी निरीक्षक चौरासिया जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत छन् ।