तनहूँमा नेकपा–काँग्रेस कार्यकर्ताबीच तनाव, साँझ ६ बजेसम्म निषेधाज्ञा

फाइल तस्बिर
तनहूँ । पुल उद्घाटनको विषयमा विवाद भएपछि तनहूँको दमौलीको स्थिति तनावग्रस्त बनेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गर्नुभएको थियो ।
उक्त उद्घाटनप्रति नेकपा तनहुँले विरोध जनाएको हो । कांग्रेसले जबरजस्ती गरेको भन्दै नेकपाले विरोध जुलुस समेत निकालेको छ । नेकपाको विरोधपछि बुधबार अर्को बुल्दीखोला पुल उद्घाटन कार्यक्रम अनिश्चित बनेको छ । उक्त पुलको पनि काँग्रेस उपसभापति पौडेलले उद्घाटन गर्ने कार्यक्रम थियो । तर नेकपा तनहुँले उक्त पुल उद्घाटन गर्न नदिने भन्दै दमौलीमा प्रदर्शन गरेको छ ।
पुल उद्घाटन रोक्न भन्दै नेकपा निकट युवा संघले दमौलीमा विरोध जुलुस निकालेको छ । झडपको स्थिति बनेपछि पुल भएको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । बुल्दी पुल भएको क्षेत्रलाई अहिले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर अचार्यले बताउनुभयो ।
प्रदेशको पूर्वाधार कार्यालयलाई नै जानकारी नगराई उद्घाटन गर्न लागेपछि विरोध गरिएको नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले बताउनुभयो । यता, कांग्रेसले पनि पुल उद्घाटन गरेरै छाड्ने बताएको छ ।
पुल उद्घाटनका विषयलाई लिएर दमौलीमा कांग्रेस र नेकपाबीच झडप हुने अवस्था आएपछि निषेधाज्ञा जारी गरिएको सिडिओ आचार्यले जानकारी दिनुभयो ।