Logo माघ १०, २०७७ शनिबार


अध्यक्ष पद छोड्नु परे ओलीका लागि कुन नेता उपयुक्त ?

टिप्पणी 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा लामो समयदेखि जारी अन्तरविरोध न निरुपण हुन सकेको छ, न त निरुपण हुने बाटोमा छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकार दुवै राम्ररी सञ्चालन गर्न नसकेको र मनोमानी बढाएको भन्दै असन्तुष्ट बनेका बहुमत सचिवालयका नेताहरुले उहाँले ‘त्याग’ गरेर निकास दिनुपर्ने बताइरहेका छन् । तर प्रधानमन्त्रीले विद्यमान परिवेशमा आफूले प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने प्रष्ट बताउँदै आउनुभएको छ ।

आफू जनताले निर्वाचित गरेको प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित भएको पार्टी अध्यक्ष भएकाले कुनै पद नछाड्ने प्रधानमन्त्रीको अडान छ । तर पार्टी र सरकार सञ्चालनमा आफ्नो गुटको संरक्षणबाहेक कुनै उल्लेख्य काम नगरेको आरोप लगाइरहेको बहुमत पक्ष कुनै पनि हालतमा प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउने योजनामा लागेको देखिन्छ ।

यसरी दुवै पक्षका आ-आफ्ना अडानका कारण पार्टी फुटको संघारमा पुगेको भन्दै केही नेताहरु समस्या समाधानको मध्यमार्गी उपाय खोज्न थालेका छन् । पार्टीलाई फुटको संघारबाट जोगाउन लागि परेका मध्यमार्गी नेताहरुले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट नभई एक पद छोड्न र दुवै पद छोड्नुपर्ने अडान लिइरहेका नेताहरुलाई प्रधानमन्त्री परिवर्तन गर्दा गलत सन्देश जाने हुनाले पार्टी अध्यक्ष परिवर्तनको मागमै सिमित रहन सुझाव दिइरहेका छन् । खासगरी पार्टीका दोस्रो तह र स्थायी कमिटीमा रहेका सबै पक्षका केही नेता यो अभियानमा छन् ।

अध्यक्ष  पद छोड्ने अवस्थामा उपयूक्त विकल्पको खोजीमा बालुवाटार

पार्टीमा उत्पन्न गतिरोधबारे बालुवाटारमा बिहीबार भएको छलफलमा सहभागी एक ओलीपक्षीय सांसदका अनुसार प्रधानमन्त्री पार्टी विवाद समाधानका लागि निकै संवेदनशील बन्नुभएको र उपयुक्त वातावरण निर्माण भए अध्यक्ष पद छोड्न तयार देखिनुभएको छ । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘प्रधानमन्त्री आफ्नो विचार अर्थात जनताको बहुदलिय जनवादको लिगेसी बोक्न सक्ने नेतालाई अध्यक्ष पदका लागि अघि सारेरै भएपनि पार्टी एकतालाई बचाउने मनस्थितिमा हुनुहुन्छ ।’

जबजको लिगेसी बोक्ने र प्रधानमन्त्रीका लागि उपयूक्त पनि हुने त्यस्तो नेता को हुनसक्छन त ? भन्ने प्रश्नमा ति सांसद भन्छन्, ‘मेरो विचारमा त्यस्तो नेताका रुपमा उहाँले वामदेव गौतमलाई अघि सार्ने सम्भावना छ ।’

पार्टी विवाद निरुपणबारे बालुवाटारमा भइरहेको उल्लेखित छलफलबारे सचिवालय सदस्य तथा उपाध्यक्ष वामदेव गौतम निकट केन्द्रीय सदस्य तथा पूर्व कृषिमन्त्री हरि पराजुलीले पनि गौतमलाई भावी अध्यक्षको रुपमा अघि सार्ने गरी छलफल भइरहेको साँचाे भएको बताउनुभएकाे छ । जनतासमाचारसँग कुराकानी गर्दै पराजुली भन्नुहुन्छ, ‘प्रधानमन्त्रीका विश्वासिला पात्रहरुबाट त्यस्तो कुरा बारम्बार आइरहेको त छ, तर प्रस्ताब आउने र कार्यान्वयन नहुने पुरानो पृष्ठभूमिका कारण विश्वास गर्ने आधार देखिदैन ।’ स्रोतका अनुसार ओली पक्षका नेताहरु पनि अध्यक्ष पद त्याग्नैपर्ने अवस्था आउँदा तुलनात्मक रुपमा अन्य नेताभन्दा वामदेव गौतम नै बढी उपयुक्त हुने निश्कर्षमा छन् ।

ओली समूहमा वामदेव गौतमपछि वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि पार्टी अध्यक्षका रुपमा समर्थन गर्न सकिने वा नसकिने बारे पनि विमर्श भइरहेको बताइन्छ । खासगरी त्यो समूहको दोस्रो तहका केही नेताहरुले चलाएको यो बहसमा आफ्नो छुट्टै कुनै गुट नभएका खनाललाई अध्यक्ष पद छोड्दा आफ्नो समूहलाई कुनै हानी नहुने, पार्टीमा आफ्ना गतिविधि सहजै गर्न सकिने र आउँदो महाधिवेशनको नेतृत्व पनि आफ्नै पक्षमा पार्न सम्भव हुने विश्लेषण हुने गरेको छ ।

त्यस्तै, केही नेताहरु वरिष्ठ नेता माधवकुमार नेपाललाई नै अध्यक्ष पद छोड्दा राम्रो हुने र त्यसो गर्दा पूर्व एमाले एकढिक्का गर्न सकिने भन्दै आजको त्याग नेपालको पक्षमा गर्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिइरहेको बताइन्छ । यद्दपी प्रधानमन्त्री ओलीले आफूले कुनै पनि किसिमको त्याग गर्नेबारे सार्वजनिक रूपमा संकेत गर्नुभएको छैन । बरु प्रधानमन्त्रीले आफू दुवै पदमा निर्वाचित व्यक्ति भएकोले दुवै संरचनाबाट अर्को निर्वाचन नहुञ्जेलसम्म छोड्न नमिल्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पछिल्लो समय निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा…

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…

शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नयाँ काम आईपर्नेछ ।