बन्द रहेको माटो परीक्षण प्रयोगशाला पुषदेखि सञ्चालनमा आउने

भगीरथ भण्डारी
इलाम । इलाममा लामो समयदेखि बन्द रहेको माटो परीक्षण प्रयोगशाला पुषदेखि सञ्चालनमा आउने भएको छ । माटो परीक्षणका लागि अन्य जिल्ला जनुपर्ने किसानको गुनासो आएसँगै बन्द रहेको प्रयोगशाला पुनः सञ्चालनमा आउने भएको हो ।
तीन वर्ष यताबाट इलामका किसानको माटो परीक्षणका लागि सुनसरीस्थित क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्का, सुनसरी र झापाको माटो परीक्षण प्रयोगशाला शुरुङ्गा, झापामा पुर्याउनु पर्ने बाध्यता थियो । माटो परीक्षणको सर्वसुलभ सुविधाबाट बञ्चित हुँदा व्यवसायिक किसान मारमा परिरहेका थिए । इलाममा प्रयोगशाला सञ्चालन भएपछि भने किसानलाई राहात मिल्ने भएको छ । इलामका ग्रामिण क्षेत्रका माटो परीक्षण गर्नको लागि जिल्लासम्म ल्याउन नै लामो समय लाग्छ ।
जिल्ला ल्याएर पनि सुरुङ्गा वा झुम्का पठाउदा भने लामो समय लाग्ने भएकाले किसान झञ्झट मान्ने गरेको पाइन्छ । यसर्थ झन्झटिलो मानेर किसानले विगतदेखि हालसम्म परीक्षणका लागि माटो नै नल्याएको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिनुभयो । अधिकृत पन्तका अनुसार, प्रयोगशाला सञ्चालन केन्द्रले गर्नुपर्ने जिम्मेवारी भित्र नरहे पनि किसानका सुविधाका लागि सञ्चालन गरिने भएको हो ।
प्रयोगशाला सञ्चालनपछि माटोलाई प्रतिमहिना परीक्षण गरी आवश्यक उपचारका लागि फिल्डमा जान सहज हुने लक्ष्य राखिएको छ । माटोको पीएच मान ६ देखि सातसम्म भएको माटोलाई खेती योग्य माटो मानिने पन्तको भनाई छ । विरुवालाई चाहिने अर्थात माटोमा हुनुपर्ने नाइट्रोजन फसफोरसको मात्रा, पोटासको मात्रा चाहिने भन्दा कम छ वा मध्यम छ भनेर जाँच्ने गरिन्छ । माटो सम्बन्धि प्राविधिकका अनुसार माटोको पीएच मान सात भन्दा तल झर्दा अम्लियपन बढी र पीएच मान सात भन्दा माथि हुँदा अम्लियपन बढी हुन्छ ।
पीएच मान कम भई अम्लियपन बढ्दै गएको माटो अन्नबाली खेतका लागि उपयुक्त मानिदैन । दुई वर्ष अघि परीक्षण गरिएको माटोको नमुनालाई हेर्दा इलामका माटोमा अम्लियपन बढी (पिएच मान चार भन्दा कम) पाइएको थियो । पिएच मान चार भन्दा कम हुनु भनेको माटो विस्तारै खेतीका लागि काम नलाग्ने भएको मान्नपर्ने अधिकृत पन्त भन्नुहुन्छ । उचित समयमा माटोको परीक्षण गरेर उचित समयमा उपचार गरे किसानको पसिना खेर नजाने भएकाले स्थगीत रहेको प्रयोगशालालाई पुनः सुचारु गरिने भएको हो ।
आगामी पुस पहिलो साताबाट प्रयोगशाला सुचारु गरी किसानलाई सर्वसुलभ सेवा दिने र पहिलो चरणमा एक सय जना किसानको माटो परीक्षण गर्ने तयारीमा केन्द्र रहेको छ ।