Logo माघ ९, २०७७ शुक्रबार


कथा : अठोट

घाम, झुल्किसक्यो, महारानी अझै उठेकी छैनन् ? खुट्टा बजार्दै कर्कसे चर्काे स्वरमा बोल्दै हिँडेकी सासूको आवाजले शारदा झल्याँस्स ब्यँुझी । सासूको फत्–फत् जारी थियो .., हाम्रो पालामा कति दुःख थियो, यतिखेरसम्म त जोर गाग्रीमा जरुवाको पानी तीन खेप ल्याइसक्थ्यौँ । दैलो कुचो र बडार, कुँडार सकेर घांँस काट्न जाने बेला भैसक्थ्यो । आजकालका लाज हराएकाहरूलाई अबेरसम्म पोइसँग टाँसिएर सुत्न लाजै लाग्दैन । हामी त आफ्नो पोइसँग बोल्न पनि डर मान्थ्यौं । आजकलका छँडुलीहरूको के कुरा गर्नु ?

प्रत्येक दिन बिहानै उठ्नु, सासू, ससुरा र नन्दको सेवा गर्नु, चुलो चौको, घरधन्दा र खेतीपातीको काममा नै शारदाको दिनचर्या चलिरहेको थियो । परिवारका सबैले खाना खाइसकेपछि मात्रै खाना खानु उसको नियती नै बनेको थियो ।

शारदाले सानैमा पढ्न पाएकी थिइन । पढेर जागिर खाएका महिलालाई देखेर उसको पनि मनमा म पनि पढेकी भए यस्तै जीवन जिउन सक्थेँनी भन्ने लाग्थ्यो । त्यसैले ढिलै भएपनि उनमा पढ्ने जाँंगर पलाएको थियो । दिनभरीको थकाईको पनि वास्ता नगरेर ऊनी राती अबेरसम्म अक्षर चिन्ने ध्याउन्नमा लागेकी हुन्थिन् ।

उनका श्रीमान् दिनेश पढालेखा र भद्र स्वभावका थिए । आफ्नी पहिली श्रीमतिको मृत्यु भएपछि उनले शारदासँग बिहे गरेका थिए । शारदा जस्ती सोझी र लगनशील श्रीमती पाएका कारणले उनले पहिली श्रीमती बितेको चोट बिस्तारै बिर्सँदै गएका थिए । परिवारको नेतृत्व दिनेशकी आमाको हातमा थियो ।

आफ्नी श्रीमतीलाई आमाले बिना कारण गाली गर्दा पनि दिनेश एक शब्द बोल्न सक्दैनथे । त्यसै गरी उनले आफ्नी श्रीमतीलाई पनि हप्काउन सक्दैनथे । कहिलेकाहीँ त स्थिति यस्तो हुन्थ्योकि सासूबुहारी दुवैको झगडा छ, कता लागौँ ? यस कुरालाई महसूस गरेपछि शारदा दुःखी हुँदै पछुतो मान्थिन् ।

दिनेशको मनमा शारदालाई शिक्षित बनाउने ठुलो धोको थियो । त्यसैले उनले राति राति भए पनि अक्षर चिनाउन थालेका थिए । पढ्नलाई उमेरले छेक्दैन, भन्दा पत्रपत्रिकामा छापिएका साहसी महिलाका बर्णन र तस्वीर ल्याएर देखाँउथे र पढ्न हौसला दिन्थे । राती पनि अबेलासम्म पठनपाठन चलेका कारणले गर्दा शारदा भुतुक्क निदाइछ । उज्यालो भएको उसलाई पत्तै भएन ।

शारदा हतारिँदै जराक्–जुरुक् उठी । बुहारी आजभोली किन अबेरसम्म निदाउँछे भन्ने कुराको हेक्का सासूलाई थिएन ।

बाहिरी रूपमा बुहारीमाथि हप्कीदप्की देखाए पनि भित्रीरूपमा उनलाई यसो गर्नु हुँदैन भन्ने पनि लाग्थ्यो । उनलाई छोराको पहिलो घरबार बिग्रेको घटनाले घरी–घरी झस्काइराख्थ्यो, तर पनि छोरा बुहारीलाई काबुमा राख्नुपर्छ भन्ने आफनो मान्यतामा उनी दृढ थिइन् । छोरा–बुहारीको माया लागेपनि यस कुरालाई व्यक्त गर्दा आफ्नो हैकममा कमी आउला भन्ने चिन्ताले गर्दा उनले आफ्नो स्वभावलाई कडा राख्नु नै उचित ठानेकी थिइन् ।

दिनहरू त्यसै प्रकारले बित्दै थिए । शारदा आफनो दिनचर्यामा नियमित थिइन् । रातिको नौ बजेसम्म घरधन्दा गरेर भएपनि पढ्नका लागि समय निकालिछाड्थिन् । उनले अनेक समस्या पर्दा पनि आफनो अध्ययनको निरन्तरतामा कुनै कमी आउन दिएकी थिइनन् । समाजमा बढिरहेको महिला जागरणका गतिबिधिले उनलाई आफ्नो लक्ष्यमा लागिरहदा थप हौसला दिन्थ्यो । अब त हरेक क्षेत्रमा महिलाको हक अधिकार सुुनिश्चित गरिएको छ ।

अहिलेलाई महिलाहरूको सहभागितालाई हरेक क्षेत्रमा तेत्तीस प्रतिशत सुनिश्चित गरिएको छ । पछि–पछि त यसलाई बढाएर पचास प्रतिशत पु¥याइन्छ रे भन्ने हल्ला गाउँमा पनि आएको थियो । यसबारेको सबै कुरा नबुझेपनि शारदा भित्रभित्रै खुशी थिई ।

घरका दैनिक काम कुनै आनाकानी नगरीकन अगाडि बढिरहेकी शारदा जसरी टुकीको उज्यालोमा पढिरहेकी थिई, उसैगरी उसको चेतनाको दियो पनि निरन्तर तेजिलो हुँदै गैरहेको थियो । श्रीमान्को सहयोग समेत पाएर अन्तः शारदाले एस. एल.सी. को परीक्षा दिई र उत्तिर्ण भई ।

निरन्तरको प्रयासले मानिसलाई सफलताको शिखरमा पु¥याउँछ भन्ने कुराको सार्थकता उसैको जीबनमा घटित भएको थियो । अहिले शारदा छैमले गाउँको प्राथमिक विद्यालयमा शिक्षिका भएकी छन् । ऊ एक प्रकारले गाउँका अरु दिदीबहिनीको प्रेरणाकी स्रोत भएकी छन । बिगतका दिनमा उनलाई बिरामी पर्दाका बखत दशरूपैयाँ दिन हिच्किचाउनेहरू अहिले उनलाई मागेजति रकम दिन तयार भएका छन् । परिवारको नेतृत्व पनि सुस्तरी उनकै हातमा आउन थालेको छ ।

गाउँका महिलाहरूले कुनै नयांँ काम गर्नुपर्दा शारदालाई नै सोध्ने गर्दछन् । शारदाको मनमा आत्मविश्वास बढ्न थालेको छ । उनले सबै प्रगतिको जरो शिक्षा रहेछ भन्ने बुझेकी छन् ।

आफै कमाएको रकमले दिने आत्मविश्वास र सन्तोष नै फरक खालको हुँदोरहेछ भन्ने उनले जीवनमा पहिलो पटक थाहा पाइन् । शारदाको मनमा यस्तो कुरा उठ्दैछ । महिलालाई सशक्त बनाउनका लागि सबै भन्दा ठुलो कुरा शिक्षा रहेछ । उनले अठोट गरिन् म आफना सन्ततीहरूलाई शिक्षाको उज्यालोबाट कस्तै कठिनाइमा पनि बञ्चित गर्ने छैन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । संसद विघटनको मुद्दाको सुनुवाइ शुरु हुने वित्तिकै महान्यायाधिवक्ता अग्नि खरेल अधिवक्ता उभिएर बहस गर्ने ठाउँ (पोडियम) को दायाँपट्टि…

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।

सरकारकाे असंवैधानिक कदम अदालतले रोक्न सकेन भने अन्तिम निकायको रुपमा जनअदालतले नै छिनोफानो गर्ने पाैडेलकाे भनाइ छ ।

गणतन्त्रविरोधी केही तत्वहरु सलबलाई रहेका बेलामा ओली चुप बस्नुको अर्थ उनी पनि गणतन्त्रविरोधी भएकाे उहाँको भनाइ थियो ।