बाल कथा : चन्द्रमा र खरायो

धेरै वर्ष पहिलेको कुरा हो । एउटा खोला नजिकै जङ्गल थियो । जङ्गलमा खरायो, जरायो, स्याल र बाँदर बस्थे । उनीहरु साथी साथी थिए । चारैजना दानवीर बन्न चाहन्थे ।
एकदिन चारैजनाले भगवान इन्द्रलाई केही दान गर्ने निर्णय गरे । उनीहरुले केही न केही खोजेर ल्याउने उदेश्यले आ–आफ्नो घरबाट निस्किए ।
जरायोले खोलाबाट सातवटा राता माछा लिएर आयो । स्यालले मासुका केही टुक्रा लिएर आयो । त्यसको केही समयमा बाँदर पनि आँपका दाना लिएर उफ्रदै आयो । साँझ पर्नै लागिसकेको थियो तर खरायोले भने अझै के लिएर आउने भन्ने सोच्न सकेको थिएन ।
घाँस दान गरे पनि केही फाइदा नहुने उसले सोच्यो र खाली हात घर फर्कियो । उसलाइ खाली हात फर्किएको देखेर उसका तीन जनै साथी छक्क परे । उनीहरुले भने,तिमी किन खाली हात फर्किएको ? आज दान गर्यो भने मात्र महादानको फल मिल्छ भन्ने थाहा छ हैन तिमीलाई ?
साथीहरूको कुरा सुनेर खरायोले जवाफ दियो, थाहा छ मलाई । त्यसैले मैले आफै दान हुने निर्णय गरेको छु । खरायोको कुरा सुनेर उसका तीनैजना साथी छक्क परे । उनीहरुको कुरा सुनेर भगवान इन्द्र धरतीमा आउनुभयो । उहाँ ती जनावर भएको ठाउँमा पुग्नुभयो । भगवान इन्द्रले सबैभन्दा पहिले स्याल र जरायोबाट दान लिनुभयो । त्यसपछि उहाँले बादरलाइ भेटेर दान लिनुभयो ।
इन्द्रले अन्तिममा खरायोसग भेट गर्नुभयो र सोध्नुभयो, तिमी मलाइ के दान दिन चाहन्छौ ।
खरायोले आफै दान हुने कुरा सुनायो । त्यो सुनेर इन्द्रले आफ्नो शक्ति देखाउनुभयो । त्यहाँ आगो निस्कियो । भगवान इन्द्रले खरायोलाइ भन्नुभयो, तिमी आफै दान हुन चाहन्छौ भने यो आगोभित्र पस । खरायोले हिम्मत गरेर आगोभित्र पस्यो । खरायोलाइ देखेर इन्द्र छक्क पर्नुभयो र खरायो साँच्चै दानी रहेछ भन्ने कुरा सोच्नुभयो ।
उता खरायो आगोभित्र पनि सकुशल उभिरहेको थियो । खरायोलाई इन्द्रले भन्नुभयो, मैले तिम्रो परीक्षा लिइरहेको थिएँ । यो आगो माया भएको आगो हो । यसले तिमीलाई केही गर्न सक्दैन । तिमी साँच्चै दानी रहेछौ । तिमीलाई अब दुनियाँले सम्झने छन् । म चन्द्रमामा तिम्रो तस्बिर बनाउछु ।
त्यसपछि इन्द्रले एउटा पर्वतलाई लिएर चन्द्रमामा खारायोको आकृति बनाउनुभयो । त्यो दिनदेखि चन्द्रमामा सधै खरायोको आकृति देखिन थाल्यो । खरायोको आकृति चन्द्रमामा देखेर उसका साथीहरु पनि दङ्ग परे ।