डाबर र पतञ्जलीसहितका चर्चित ब्राण्डकै उत्पादनमा हानिकारक मिसावट

काठमाडौं । भारतका चर्चित कम्पनी डाबर र पतञ्जलीसहितका कम्पनीका उत्पादनहरुमा हानिकारक मिसावट रहेको खुलासा भएको छ । भारतको सेन्टर फर साइन्स एन्ड इनभाइरोमेन्ट (सीएसई)ले बहुचर्चित ब्राण्डका महमा हानिकारक मिसावट भेटिएको खुलासासहित आफ्नो अनुसन्धानको नतिजा बुधबार सार्वजनिक गरेको हो ।
१३ ब्राण्डका नमूनामाथि गरिएको ’न्यूक्लियर म्याग्नेटिक रेजोनेन्स’ परीक्षणमा अधिकांश ब्राण्डमा मिसावट पाइएको हो । विश्वस्तरमा मोडिफाइ सुगर सिरप जाँच्न प्रयोग गरिने यस परीक्षणमा १३ मध्ये ३ ब्राण्ड मात्रै पास भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उक्त परीक्षणमा ७७ प्रतिशत नमूनामा सुगर सिरपसँगै अन्य मिसावट पाइएको थियो । जसमा महका प्रमुख ब्राण्ड डाबर, पतञ्जलि, वैद्यनाथ, झन्डु, हितकारी र एपीसी हिमालयका उत्पादनमा समेत हानिकारक चिनीतत्व मिसावट रहेको पाइएको थियो । यी सबै ब्राण्डका उत्पादनहरु नेपालमा समेत खपत हुने गरेको छ ।
१३ प्रमुख ब्राण्डका महमा अनुसन्धान गरेको सीएसईले यो घटनालाई अहिलेसम्मकै कुटिलतापूर्वक रचिएको ’फूड फ्रड’को संज्ञा दिएको छ । बजारमा पाइने अधिकांश ब्राण्डका महमा सुगर सिरप मिसाइएको अध्ययन प्रतिवदेनमा उल्लेख छ । अर्थात महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको उक्त प्रतिवेदनको निष्कर्ष रहेको छ ।
चिनीले प्रत्यक्ष रुपमा मोटोपन बढाउने र मोटोपनसँग जोडिएका हानिकारक संक्रमणलाई समेत बढाउने विज्ञहरुको भनाइ छ ।