पतिको निधनपछि रेनुका भन्छिन् ‘उहाँले सौभाग्यका रुपमा सुम्पेका सिन्दूर-पोते फाल्दिन’

तस्बिर : सजेश शिवाकोटी
झापा । विर्तामोड नगरपालिका वडा नम्बर ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर-पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छिन् । रेनुकाका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको हो ।
सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि रेनुकाको पतिको मिर्गौलामा समस्या थपिएको थियो । बि एन्ड सी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार हुन सकेन र शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो ।
नेपाली समाजमा दिवंगत पतिको दाह संस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने चलन छ । तर रेनुका भने आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किइन् । हाल निजी निवासमा पतिको किरिया बारिरहेकी उनको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन् ।
‘यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको हो’, पतिको निधनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण बताउँदै रेनुका भन्छिन्, ‘उहाँ (पति) ले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो ।’ रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको बतानुभयो ।
रेनुका नेपालले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिलेको झापास्थित वीरता जेसिजका पूर्वअध्यक्ष सजेश शिवाकोटीले बताए । उनको साहसिक कार्यलाई सामाजिक सञ्जालमार्फत समर्थन र हौसला दिनेहरु बढिरहेका छन् ।
रेनुकाका पति स्व. केशव नेपाल कुनै नेता तथा पदीय ओहोदामा रहेका व्यक्ति होइनन् ।उनी विर्तामोडस्थित आफ्नै घरमा सानो पसल चलाउँथे । रेनुकासमेत सामान्य गृहिणी हुन । रेनुका र स्व. केशव नेपालका दुई छोरा र दुई छोरी छन् । – रासस