७२ प्रतिशत जनतालाई कोरोना विरूद्धको खोप दिइने, स्वास्थ्यकर्मी पहिलो प्राथमिकतामा

काठमाडौं । नेपाल सरकारले कोरोनाभाइरस विरूद्धको खोप नेपालमा पहिलो चरणमा स्वास्थ्यकर्मीलाई लगाउने योजना बनाएको छ ।
विश्व स्वास्थ्य संगठनको ’कोभ्याक्स’ योजनाअन्तर्गत प्राप्त हुने २० प्रतिशत खोप लगाउन सरकारले शुरूमा स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखेको हो । त्यसैले नेपालमा खोप आउनेबित्तिकै सुरूमा स्वास्थ्यकर्मीलाई लगाइनेछ ।
यसैगरी, सरकारले कुल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाभाइरस विरूद्धको खोप दिने योजना बनाएको छ । कोरोनाभाइरस विरूद्धको खोप विश्व बजारमा आउनेबित्तिकै तत्काल नेपाल ल्याउने गरी सरकारले आवश्यक पूर्वतयारीको काम समेत थालनी गरिसकेको ’कोभिड भ्याक्सिन सल्लाहकार समिति’ का डा. श्यामराज उप्रेतीले बताउनुभयो ।
समितिले नेपाललाई आवश्यक पर्ने खोप, खोप पाउने समूहको प्राथमिकता निर्धारणलगायत कार्ययोजना तयार पारिसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना रहेको छ । त्यसमा २८ प्रतिशत १५ वर्षमुनिका उमेर समूहका छन् । २० प्रतिशत खोप विश्व स्वास्थ्य संगठनको ’कोभ्याक्स’ योजनाअन्तर्गत आउनेछ । बाँकी ५२ प्रतिशतलाई भने नेपाल सरकारले नै व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो।
विश्व स्वास्थ्य संगठनले खोप प्रयोगमा आएपछि गरीब देशहरूलाई समेत समेट्ने गरी खोपको निष्पक्ष वितरण होस् भन्ने उद्देश्यले ’कोभ्याक्स’ नामक योजना ल्याएको हो।
कोरोनाविरुद्धको खोप एकैचोटी नभएर चरण चरणमा आउने उहाँले जानकारी दिनुभयो।