‘नेकपाको विवाद पश्चगमन र अग्रगमनबीचको संघर्ष हो’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि केन्द्रिय सदस्य देवी खड्काले आफ्नो पार्टीभित्रको विवाद पश्चगमन र अग्रगमनकारी सोच र चिन्तनका बीचमा भएको बताउनुभएको छ । नेकपा दोलखा जिल्ला इन्चार्जसमेत रहनुभएकी खड्काले प्रधानमन्त्री केपी शर्मा ओली, उनको समूह र केही नेतामा वर्तमान व्यवस्थाप्रतिको प्रतिबद्दता नदेखिएका कारण नेकपामा अन्तरविरोध चर्किन पुगेको दावी गर्नुभयो ।
जनतासमाचारसँगको संवादमा खड्काले पार्टीमा वर्तमान व्यवस्था, लोकतन्त्र र गणतन्त्रलगायतका उपलब्धिहरुको संस्थागत विकास गर्न सरकार र पार्टीलाई निश्चित विधि, पद्दति र सामूहिकताको आधारबाट अघि बढौं भन्ने पंक्ति र अर्को पार्टीभन्दा माथि व्यक्ति हुने र ‘आजका सबै उपलब्धिको नेतृत्व गर्ने म एक्लैले हो’ भन्ने हठका बीचमा अन्तरविरोध बढेर कम्युनिष्ट आन्दोलन नै बिडम्बनापूर्ण स्थितिमा आइपुगेको बताउनुभयो । पार्टीको मूल नेतृत्वमा देखिएको व्यक्तिवादी र पश्चगमनकारी सोच तथा विधि एवं पद्ददति नमान्ने अडानले नेकपा गम्भीर अवस्थामा आइपुगेको खड्काको भनाइ छ ।
व्यक्तिगत र गुटगत आधारमा चल्ने प्रवृत्ति पार्टीमा हावी भएको उल्लेख गर्नुहुँदै खड्काले भन्नुभयो, ‘पार्टीमा देखिएको विवादको मुख्य कारण व्यक्तिगत हठ नै हो । पार्टी विधान र समाजतिर फर्केर नहेर्ने मूल नेतृत्वको सोच र सरकार सञ्चालनको कार्यशैलीले आजको अवस्थामा पुर्याएको देख्छु ।’
नेतृृ खड्काले आज बस्ने स्थायी कमिटी बैठकले पूर्वनिर्धारित पार्टीको विधिबाट समस्याको समाधान निकाल्ने अपेक्षा गर्नुभयो । केही नेताहरु पाटीमा उत्पन्न समस्याले विभाजनको रेखा नकोरोस् भन्नेर भनेर सहमतिको प्रयासमा जुटिरहेको कारण सहमति बनाउनकै लागि बैठक सर्ने गरेको उहाँको बुझाइ छ । यो पटक पनि सहमति नहुने देखिए पार्टीले आफ्नो वैधानिक व्यवस्थामा प्रवेश गर्ने र निकास निकाल्न सक्नेमा आफू विश्वस्त रहेकाे खड्काले बताउनुभयो ।