बिओपीमा चिसोको पीर

भगीरथ भण्डारी
इलाम । नेपाल भारत सीमाको सुरक्षा, तस्करी र आपराधिक घटना नियन्त्रणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्ने कामलाई सरकारले अघि बढाएको छ । सिमा क्षेत्रको सुरक्षाको लागि बिओपी थप गरेपनि चिसो मौसम शुरु भएसँगै इलामका उच्च पहाडी क्षेत्रमा स्थापना भएका ठाउँमा राम्रो व्यवस्थापन नभएका कारण चिसोकोे सताउने गरेको छ ।
हिमाली क्षेत्रमा भौगोलिक विकटता, पूर्वाधार अभाव, तुषारो र हिमपातबाट पर्ने असरले समस्या थपिएको हो । इलामको पशुपतिनगरसहित सलकपुर, समालवुङ, छब्बिसे, कालपोखरी र जौवारीमा बिओपी स्थापना भइसकेका छन् । मानेभञ्ज्याङमा बिओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ भने पाटापुर, मेघमा, गोर्खे र सन्दकपुर पनि प्रस्तावित छन् ।
स्थापना भएका र प्रस्तावितमध्ये अधिकांश ठाउँ हिउँदमा अत्याधिक चिसो हुने र बर्खाको समयमा यातायातका साधन ठप्प हुनेहुँदा समस्या हुने गरेको सहस्त्र प्रहरी निरीक्षक पशुपतिनगर इलामका नविन खतिवडा बताउनुहुन्छ । इलामको नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटर सिमानामा ७ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएका छन ।
स्थापना भएको पोष्टमध्ये शुरुमा स्थापना भएको पशुपतिनगरमा मात्र सवारी साधन छ भने अन्य ठाउँमा सवारी साधन नहुदाँ बिरामी पर्दा समेत समस्या हुनेगरेको छ । पछिल्लो समय थप गरिएका बिओपी कुनै विद्यालयको भवन त कुनै गोठमा राखिएका कारण पनि चिसोको समयमा समस्या भएको खतीवडा बताउनुहुन्छ ।
इलामले छोएको दशगजा र आसपासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २६ बिओपी र एउटा प्रहरी चेकपोस्ट छन् । सीमा क्षेत्र सुरक्षाकै लागि भारतपट्टि २/२ किलोमिटरमा बिओपी रहका छन् । नेपालतर्फ पशुपतिनगरमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय छ । छिरुवा, मानेभञ्ज्याङ र कालपोखरीमा प्रहरी चौकीमात्र रहेको कारण सीमामा समस्या हुने गरेको थियो ।
थप ६ वटा बिओपि स्थापनाले सीमाको समस्या समाधानमा केही सहज भएपनि त्यहाँ बस्ने सुरक्षाकर्मीलाई बस्ने ठाउँको राम्रो व्यवस्थापन हुन नसकेका कारण चिसोको समयमा समस्या भोग्नुपरेको छ । यो समस्या सशस्त्र प्रहरीलाई मात्र नभएर यसअघि देखि नै यस क्षेत्रको सुरक्षार्थ खटिएका नेपाल प्रहरीलाई पनि छ । शान्ति सुरक्षा कायम गर्दै सीमा रक्षा र तस्करी नियन्त्रणका लागि अवोरात्र खट्ने प्रहरीलाई न्युनतम आधारभूत सुविधा समेत नभएका कारण बास बस्नको लागि समस्या भएको छ ।