मन्त्री मगरको नामबाट नक्कली ट्वीटर

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको नामबाट नक्कली ट्वीटर बनाएको पाइएपछि मन्त्रालयले आपत्ति जनाएको छ । ट्वीटरमार्फत् अनावश्यक पोष्ट गरिएको पाइएपछि मन्त्री मगरको सचिवालयले एक नोट जारी गर्दै भ्रममा नपर्न आग्रह गरेको हो ।
मन्त्रीको सचिवालयले ट्वीट गरिएका कतिपय विषयले आम मानिसमा भ्रम सिर्जना गर्ने भएकाले त्यस्तो नक्कली एकाउण्ट बन्द गरिदिन नेपाल प्रहरीको साइबर ब्यूरोमा अनुरोध गरिएको जनाएको छ ।
मन्त्री मगरका निजी सचिव गुणराज श्रेष्ठद्वारा जारी अपिलमा भनिएको छ, ‘मन्त्रीज्यूको नाममा खोलिएको नक्कली ट्वीटर एकाउण्ट बाट अनावश्यक विषय ट्वीट गरी सञ्चार जगत र आम नागरिकमा भ्रम सिर्जना गरिएकाले उक्त एकाण्ट बन्द गर्न प्रहरीमा अनुरोध गरिसकिएको छ।’
नक्कली ट्वीटरमा पोष्ट गरिएका सामग्रीबाट भ्रमित नहुन सञ्चारकर्मी एवं सम्पूर्ण नेपालीहरुमा मन्त्री सचिवालयले अनुरोध गरेको छ ।