Logo बैशाख ६, २०७८ सोमबार


अध्यादेश प्रकरण : पार्टी निर्देशन आलटाल गर्दै प्रधानमन्त्री

  • नरेश न्याैपाने

काठमाडौं । मन्त्रिपरिषदका सदस्यलाई समेत थाह नदिई राष्ट्रपतिबाट जारी गराइएको अध्यादेशको चौतर्फी आलोचना र विरोध भएपछि फिर्ता गराउन सहमत हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली सहमतिअनुसार अध्यादेश फिर्ता गराउन भने आलटाल गरिरहनुभएको छ । आफैँसमेत सहभागी भएको पार्टी स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि त्यसलाई फिर्ता गराएर निर्णयको कार्यान्वयन गर्नुको सट्टा बुधबार मात्रै प्रधानमन्त्रीले त्यही अध्यादेशअनुसार संवैधानिक परिषदकाे बैठक बोलाउनु भयो ।

अध्यादेश फिर्ता गर्नेबारे पार्टी स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन नगर्नुले प्रधानमन्त्रीको आफ्नै पार्टीमा मात्रै नभई आम मानिसमा साख घट्दै गएको विश्लेषण हुन थालेको छ । नेकपाले मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद्को विशेष अधिवेशनका लागि राष्ट्रपतिकहाँ समावेदन दर्ता नगर्ने र संवैधानिक परिषद्का प्रमुख र पदाधिकारीको नियुक्ति सहमतिमा गर्ने निर्णय गरेपनि प्रधानमन्त्रीले फेरि संवैधानिक परिषदको बैठक बोलाएपछि उहाँमाथि छलछामको राजनीति गरिरहेको आरोप पार्टीभित्रैबाट लाग्न थालेको छ ।

पार्टीका ८३ जना सांसदले संसद्को विशेष अधिवेशनका लागि राष्ट्रपति कहाँ समावेदन दर्ता गर्न गएपछि त्यसलाई फिर्ता गर्न प्रधानमन्त्रीले गरेको आग्रह पार्टीले स्वीकारेको तर अध्यादेश फिर्ताबारे पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगरेको नेकपा स्थायी कमिटी सदस्य लिलामणी पाखरेलले बताउनु भयाे । प्रधानमन्त्रीले बिहीबार साँझ मन्त्रिपरिषद् बैठकबाट अध्यादेश फिर्ताबारे निर्णय गराउने अपेक्षा गरिए पनि पार्टी निर्णयप्रति गम्भीरता नदेखाएको असन्तुष्ट नेताहरुले बताउने गरेका छन् ।

 पुन: विशेष अधिवेशनको आवेदन गर्ने चेतावनी

अध्यादेश फिर्ता गर्न प्रधानमन्त्रीले चासो नदेखाउनु भएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति उल्लंघन गरेर पार्टी निर्णयलाई चुनौती दिए तत्काल स्थायी कमिटी डाक्ने र पुनः राष्ट्रपति कार्यालयमा संसद्को विशेष अधिवेशनको आवेदन गर्ने चेतावनी दिनुभएको छ । प्रचण्ड सचिवालयका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता प्रक्रिया तुरुन्तै अगाडि बढाउन बिहीवार नै आग्रह  गरिसक्नु भएको छ ।

स्रोतका अनुसार प्रचण्डले ओलीलाई प्रष्ट भन्नुभएको छ, ‘अध्यादेश फिर्ताबारे स्थायी कमिटीले तपाईंकै उपस्थितिमा सर्वसम्मत निर्णय गरिसकेको अवस्था छ । त्यही अध्यादेशमा टेकेर बैठक बोलाएर गलत त गरिहाल्नु भो । अब यसलाई आज (हिजो) कै मन्त्रिपरिषद् बैठकबाट फिर्ताको प्रक्रिया अगाडि बढाउनुस् ।’

एक/दुई दिन कुर्न अनुरोध

प्रचण्डले स्थायी कमिटी डाक्ने र पुनः राष्ट्रपति कार्यालयमा संसद्को विशेष अधिवेशनको आवेदन गर्ने भन्दै चुनौती दिएपनि प्रधानमन्त्रीले एक/दुई दिन कुर्न अनुरोध गर्नुभएको छ ।

स्रोतका अनुसार बिहिबार बोलाइएको संवैधानिक परिषदको बैठक रोक्न प्रचण्डले अनुरोध गर्दा ओलीको भनाइ थियो, ‘यसलाई धेरै गम्भीरतापूर्वक लिनुपर्दैन । पुरानै बैठकको निरन्तरता हो ।’ तर प्रचण्डले तत्काल जालीझेली कुरा नगर्न र बैठक स्थगित नभए पार्टीले अर्को निर्णय लिने चेतावनी दिनुभएको थियो ।

प्रचण्डले पार्टी निर्णय हेक्का राख्न जति अनुराेध गरे पनि  प्रधानमन्त्री ओलीले तत्काल अध्यादेश फिर्ता नहुने स्पष्ट पार्नुभएको छ । स्रोतका अनुसार ओलीले अध्यादेश प्रकरणमा राष्ट्रपति कार्यालय पनि जोडिएकाले परामर्श गरेर मात्रै  फिर्ता हुने अडान राख्नुभएकाे छ ।

‘ओली थप जालझेल गर्दैछन्’

नेकपा स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले आफैँ उपस्थित भएको पार्टी बैठकले गरेको अध्यादेश फिर्ताको निर्णय कार्यान्वयन नगरेर प्रधानमन्त्री ओलीले थप जालझेल गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले अध्यादेशमा राष्ट्रपति कार्यालय पनि जोडिएकोले फिर्ताकाे लागि एक/दुई दिन समय लाग्ने भन्नुभएको छ नि ? भन्ने प्रश्नमा पोखरेलले जनतासमाचारसँग भन्नुभयो, ‘त्यो भनाइ मात्रै हो, मुख्य कुरा नियतको हो । उहाँले मन्त्रिपरिषदकै सदस्यलाई समेत जानकारी नदिई १५ मिनेटमा अध्यादेश ल्याएर राष्ट्रपतिबाट जारी गराउन सक्ने, अनि मन्त्रिपरिषद बैठकबाट फिर्ता गर्ने निर्णय गराउन नसक्ने पनि हुन्छ र ?’

अनावश्यक बखेडा झिकेर प्रधानमन्त्री ओलीले जालझेल मात्रै गरिरहेको पोखरेलको भनाइ छ । ‘प्रधानमन्त्रीले यसरी  पार्टी निर्देशन आलटाल गर्नु कुनै हालतमा पनि ठिक भएन’ उहाँले प्रष्ट पार्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…