सांसद चौधरीलाई जन्मकैदको फैसला

काठमाडौं । कैलालीबाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई उच्च अदालत दिपायल राजपुरले जन्मकैदको फैसला सुनाएको छ। बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनालाइन्मकैदको सजाय हुने गरी फैसला सुनाइएको हो ।
जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेशको सदर गर्दै च्च अदालत दिपायलले यस्तो फैसला सुनाएको हो । अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ। घटनाका एक अर्का दोषीलाई भने जिल्ला अदालत कैलालीले धरौटीमा छाडेको थियो।
नेपाल प्रहरीका एक प्रहरी वरिष्ठ उपरीक्षक तथा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहटको माग गर्दै निकालिएको जुलुसमा भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीकै निर्णय सदर गरेको हो। उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले टीकापुर घटनामा दोषी देखिएका सांसद चौधरी तथा अर्का नेता थारूलाई जन्मकैदको फैसला सुनाएको हो।
उच्च अदालतले गरेको निर्णयमा भनिएको छ, ‘प्रतिवादीहरूमध्ये रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीसमेत जना सातको हकमा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं को कसुरमा सोही महलको १३ (घ) नं बमोजिम जन्मकैद हुने र सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजायसमेत हुने ठहर्याई भएको शुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेको देखिँदा सोहीबमोजिम सदर हुने ठहर्छ।’
मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जिल्ला अदालत कैलालीले प्रतिनिधिसभा सदस्य तथा सांसद चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि जिल्ला अदालतको उक्त आदेशविरुद्ध सांसद चौधरी उच्च अदालत दिपायल राजपुर गएका थिए। उच्च अदालत दिपायल राजपुरमा पुनरावेदन गरे पनि सांसद चौधरीलाई सफाइ दिन उच्च अदालतले अस्वीकार गरेको उच्च अदालत दिपायलका निमित्त रजिस्ट्रार सीता रेग्मीले जानकारी दिनुभयो । चौधरीले थुनामै रहेको समयमा २०७५ पुस १९ गते सांसद पदको शपथ ग्रहण गरेका थिए ।