Logo माघ ६, २०७७ मंगलबार


अस्पतालकाे बसाइ र काेराेना अनुभव

–गरिमा पाण्डेय
सात महिनापछि सोच्दै नसोचेको भयो जीवनमा। एक्कासी ९ रेक्टरको भूकम्प आएजस्तो, मुटु थर थर काम्न थाल्यो, शरीर पूरै शिथिल हुँदै जान थाल्यो, शरीरको तापक्रम अलि अलि गर्दै ९८.५ हुँदै १०३ डिग्री पुग्यो, सुरु सुरुमा त मौसमी फ्लू होला भन्ने भान भएको थियो तर मेरो सोचाइ त्यसको ठीक विपरीत भइदियो। विस्तारै अनेकथरी लक्षणले शरीरमा डेरा जमाउन थाल्यो। दिउँसो ज्वरो नाप्दा ९८.५ थियो। टाउको पनि दुखिरहेको थियो तर यसलाई सामान्य रूपमा लिएँ किनभने योभन्दा पहिले पनि मलाई बेलाबेलामा टाउको दुख्ने समस्या हुन्थ्यो ।

ज्वरो नापेको एक घण्टापछि अलि असहज महसुस भयो अनि फेरि ज्वरो नापेँ, तापक्रम ९९ डिग्री पुगेको थियो। शरीर भित्रैबाट अलि चिसो भएको अनुभव भयो, बाहिर छाम्दा अलि तातो तर भित्र चिसो भइरहेको थियो। फेरि आधा घण्टापछि ज्वरो नापेँ तापक्रम १०० डिग्री पुगिसकेछ। अनि एउटा प्यारासिटामोलको ट्याब्लेट खाएँ। हात खुट्टा पानीले अलि अलि भिजाएँ, मुख धोएँ। त्यसपछि अलि ज्वरो कम भयो र फेरि उही पहिलेको स्थितिमा झर्यो ९८.५ ।

राति अरुबेला भन्दा छिटो ६ बजेतिर खाना खाइयो । खाना खाएको केही समयपछि ढाड र कम्मर दुख्न थाल्यो, हात, खुट्टा, पूरै शरीर दुख्न थाल्यो, गलेको महसुस भयो, न सिधा उभिन मिल्यो न त बस्न नै सकियो। अनि केही सीप नलागेर खाटमा पल्टिएँ। जोर्नीहरू दुखेर उभिन मिलेन। म मात्र कहाँ हो र, मेरो पूरै परिवार नै। एकैपटक सबलाई त्यस्तो भयो।

असोजको २९ गते घरमा हामी सबैलाई एकैपटक भेट्यो कोरोना भाइरसले। बुबालाई तीन दिन अगाडि ज्वरो आएको थियो तर फेरि अलि कम भइसकेको थियो। उहाँ पहिले नै सावधानी अपनाएर छुट्टै कोठामा स्वयम् आइसोलेसनमा बस्नुभएको थियो। खाना पनि आफ्नै कोठामा खानुहुन्थ्यो। हामी कसैलाई भित्र छिर्न दिनुहुन्नथ्यो। सावधानीपूर्वक होम आइसोलेसनमा २७ गतेकै दिनदेखि बस्नुभएको थियो। उहाँ अलि ठिक भैसक्नु भएको थियो र अलि सामान्य अवस्थामा हुनुहुन्थ्यो। तर २९ गते राति हामी सबै थला पर्यौ।

मलाई १०२ डिग्री ज्वरो आइसकेको थियो साँझ ७ बजेतिर। एकतिर शरीर दुखेर हैरान भएको थिएँ अर्कोतिर पहिलेको भन्दा बढी टाउको दुख्न थालेको थियो। ज्वरो नियन्त्रण गर्न सकिएन भने त झन् गाह्रो हुन्छ भनेर हामी सबैले एउटा एउटा सिटामोल खायौँ। घरमा हामी सबैजना एकैपटक थला पर्दा एकदम गाह्रो भयो। भर्खर अलि सामान्य अवस्थामा आउनुभएको बुबालाई झन् कठिन भयो। यस्तो बेलामा बाहिरको मान्छे को आएर के गर्दिन्थ्यो र। सामान्य अवस्थामा जसरी बोलाउन सक्ने स्थिति पनि थिएन। हामी सबैजना एकैपटक लड्दा बिरामी भएको बुबा स्वयमले नै रातभरि आफू नसुती हाम्रो स्याहार सुसार गर्नुभयो। पानी पट्टी गर्नेदेखि पटक पटक कोठामा आएर ज्वरो नाप्दै सिटामोल खुवाउनुभयो। तातो पानी, अदुवा, बेसारे पानी सबै बनाएर खुवाउनुभयो। घरमा त्यही एउटा सिटामोलको एउटा पत्ता बाँकी थियो जुन बुबालाई ३ दिन अगाडि ज्वरो आउँदा ल्याइएको थियो। यदि त्यो पनि नभएको भए सायद आज आफ्नो अनुभव तपाईंहरूबीच साट्ने मौका पाउँन्नथेँ सायद। त्यही एउटा पत्ता सिटामोल र बुबाले गर्दा आज हामी सबै जीवित छौँ। रातीको समय कहाँ जानु , हस्पिटल जान सक्ने स्थिति पनि थिएन। एकजना भए त हो हामी सबैजना पीडित। बाटैमा केही भयो भने के गर्नु, गाडी कहाँ खोज्नु, हस्पिटलको अवस्था थाहा छँदै थियो। राति सबलाई एकदम सहनै नसक्ने गरी गाह्रो भएपछि न त हस्पिटल लिन सक्ने अवस्था थियो न त कोही डाक्टर घरमै आएर उपचार गरिदिने अवस्था थियो। जीवन र मृत्युको लडाइँ लड्दै थियौँ हामी सबै। आत्तिएर के गर्ने गर्ने भयो , हामी सबै त उठ्नै नसक्ने अवस्थामा थियौँ।आफ्नो आफ्नो कोठामा खाटमा पल्टिएका थियौँ हामी सबै । हामी सबैलाई ज्वरो नाप्दै सिटामोल र तातोपानी खुवाएर बुबा आफ्नो कोठामा जानुभयो।

केही समयपछि बुबाले दैलेखी सेवा समाजका अध्यक्ष तथा टिचिङ अस्पतालमा कार्यरत ल्याब अफिसर प्रताप शाहीलाई फोन गरेर सबै कुरा बताउनुभयो । मैले अलि अलि कुरा सुनिरहेको थिएँ आफ्नै कोठाबाट। उहाँले भन्नुभयो, ‘यदि कोरोना नै हो भने यसले २६ घण्टासम्म एकदम धेरै सताउँछ। यसबाट बँच्न जति सकिन्छ सकेसम्म यो पीडा सहन सक्नुपर्छ। यदि सहन सकेन भने बाँच्न गाह्रो हुन्छ। नडराउनुहोस् केही पनि हुँदैन। हिम्मत राख्नुस्, बाँचिन्छ। सकेसम्म जसरी पनि सहनुपर्छ २६ घण्टासम्म। हिम्मत नहार्नु, सबैभन्दा ठूलो कुरा त सहनशीलता र दृढ आत्मविश्वास हो, सहन सके बाँचिन्छ।’

विशेष गरी यही वाक्य मेरो कानमा ठोक्कियो की २६ घण्टा जसरी पनि सहनुपर्छ। उहाँको यही वाक्यले मलाई त्यो असह्य पीडा सहने अलिकति भए पनि आँट आयो। म भित्रै आफ्नो कोठामा छट्पटाइ रहेको थिएँ जसरी पानी विना माछा छट्पटिन्छ। टाउको दुखेर फुट्ला जस्तो भएको थियो, जुन कुनै सामान्य माइग्रेनको बिरामीलाई पनि भएको थिएन सायद। एकतिर शरीर भित्रैदेखि चिसो भएर थरथर कामिरहेको थिएँ म। अर्कोतिर हात खुट्टा दुखेर हैरान भएको थिएँ। घरी यता फर्किने घरी उता फर्किने केही सेकेण्डको अन्तरमा। खुट्टाको गाँठा बेस्सरी दुखिरहेको थियो, न त राम्ररी सिधा गर्न मिल्थ्यो न खुम्च्याउन नै। ढाड, कम्मर पनि बेस्सरी दुखिरहेको थियो। पूरै शरीर गिद्धले लुछेजस्तै महसुस भयो। एक्कासी घाँटी पनि दुख्न थाल्यो। ओठ, मुख र घाँटी पूरै सुख्खा भयो। विस्तारै छाती पनि बेस्सरी दुख्न थाल्यो, सास फेर्न एकदम गाह्रो भयो। सिरक नओड्दा पनि शरीरमा अक्सिजनको मात्रा कम हुन थालेको महसुस गरेँ। अनि एकछिन उठ्ने प्रयास गरेँ तर उठ्नै कठिन भयो। मलाई पानी चाहिएको थियो, पानी खानकै लागि भएपनि जबर्जस्ती उठ्ने प्रयत्न गरे अनि दुई ग्लास तातो पानी खाएँ। मोबाइल खोलेर टाइम हेरेँ जम्मा ११ बजेको रहेछ। मोबाइल हेर्न पनि झन् गाह्रो भयो।आँखा पोल्न थाल्यो, टाउको पनि झन् बढी दुख्न थाल्यो। समय कटाउनै एकदम गाह्रो भयो। अझै धेरै समय बाँकी थियो उज्यालो हुन। कतिखेर २६ घण्टा बित्ला भन्ने भएको थियो मलाई। पानी खाएर फेरि आएर खाटमा पल्टिएँ। बुबाले के छ स्थिति भनेर सोध्नुभयो अनि मैले अलि ठीक छ, खुट्टा एकदम दुःखिराछ भनें अनि पल्टिएँ खाटमा ।

एकतिर बुबा स्वयम् बिरामी अर्कोतिर हामी सबै। एकदम गाह्रो भइरहेको थियो टाउको दुखेर फुट्ला जस्तो भएको थियो, शरीर पूरै शिथिल भएको थियो। फेरि छाती दुख्न सुरु भयो पहिलेको भन्दा बढी, सास फेर्नै एकदम गाह्रो भयो। त्यस्तो असह्य पीडा सहन एकदम गाह्रो भइरहेको थियो, जीवनको अन्तिम सास लिँदै गरेको अनुभव भयो, सकेसम्म जबर्जस्ती सहन नसकेपनि सहने प्रयास गर्दै थिएँ म। तर म थाकिसकेको थिएँ सहँदा सहँदा कति सहनु सहन पनि। झन् झन् पीडा हुन् थाल्यो, टाउको झन् बढी दुख्न थाल्यो। शरीर पुरै चिसो भइसकेको थियो। मसँग अरू विकल्प थिएन अनि दुःख पर्दा भगवानले सहयोग गर्छन् भन्थेँ, त्यही सम्झिएर भगवानलाई सम्झिएँ। उनकै नाम जपेर एकघण्टा कटाएँ तर पहिलेको भन्दा झन् झन् बढी पीडा भयो मलाई सहनै नसक्ने गरी। के गर्न सक्थेँ र नभएका भगवानले भन्ने लाग्यो। के गर्नु न बोल्न सक्थेँ, न त उठेर बुबालाई बोलाउन नै सक्थेँ। यो सबै भन्दा त उहाँलाई झन् बढी तनाव हुन्थ्यो मेरो यस्तो अवस्था देखेर। बस् केही बोलिनँ ,खाटमा नै छट्पटाएँ रातभरि।

आजै हो मेरो अन्तिम रात भन्ने लागिसकेको थियो मलाई। भित्रै भित्रै एकदम थकित, गलित भइसकेको थिएँ, त्यो असह्य पीडा सहन सक्ने क्षमता ममा थिएन। त्यसपछि आफ्नो कुल देवतालाई सम्झिएर मनमनै प्रार्थना गरेँ कि यदि मलाई केही भइहाल्यो भनेपनि मेरो परिवारका कुनै पनि सदस्यलाई केही नहोस्। रक्षा गर्नुहोला मेरो परिवारको भन्दै । रुन मन थिएन तर धेरैपछि आँखाबाट आफै आँसुका थोपा तप तप चुहिन थालेछन् पत्तै पाइनँ। पीडा कम भएको थिएन, झन् झन् बल्झिँदै थियो। आज बाँचिन्न होला जस्तो भान भइसकेको थियो । एक एक गरी सबै दुःख सुखका नजिकका साथी, परिवारका सदस्य सम्झिएँ, आफन्तहरू सम्झिएँ, सँगै पढेका, खेलका साथीहरू सम्झिएँ, आफूलाई पढाउने गुरुहरू सम्झिएँ। सम्झिएँ सबैलाई अनि एक्कासी केही साथीहरूलाई कोरोना लाग्नुभन्दा अगाडि कोरोना भाइरसको बारेमा ख्याल ठट्टामा आफूले भन्ने गरेको कुरा समेत सम्झिएँ।

‘कोरोना भनेको त रोना हो हामी त हाँस्ने हो । कोरोना त रूनेलाई लाग्ने हो, हामीजस्ता हाँसिरहने मान्छेलाई लाग्दैन। लागिहाल्यो भने पनि त्यसको र हाम्रो क्याटोगोरी नै मिल्दैन। म त झन् जतिखेर पनि हाँसिरहने मान्छे। कोरोना रुनेलाई , डराउनेलाई लाग्छ। मलाई केहीगरी लागिहाल्यो भने पनि टिक्न नसकेर केही दिनमै छोडेर जान्छ।’ भनेर भन्थेँ। अनि अलिकति आँट आयो आफ्नै कुरा सम्झेर, अनि थप प्रताप अंकलले भनेको कुरा। साथमा मैंले नै जीवनदेखि हार खाएँ भने मेरो बुबाको हालत के होला, मेरो पूरै परिवारको हालत के होला, अरू को आएर सहयोग गर्दिन्छ र भन्ने जस्ता अनेकौं कुराहरू मन मस्तिष्कमा खेल्न थाले। परिवारकै लागि जसरी भएपनि बाँच्नुपर्छ म भन्ने आँट आयो अनि भयो अब म आफ्नै भनाइबाट कसरी पछाडि हट्न सक्छु र, म त हाँसिरहने मान्छे, मलाई केही हुँदैन, म बाँच्नुपर्छ जसरी भएपनि, मेरो सम्पूर्ण शक्ति परिवार हो अनि परिवारको शक्ति म भन्ने आभास भयो अन्तिम चरणमा। त्यही कुराले पनि अलिकति साहस आयो बाँच्ने।

त्यसपछि सकी नसकी जबर्जस्ती असह्य अप्राकृतिक पीडा सहँदै मृत्युसँग लड्ने प्रयास गरिरहेँ। म हाँस्छु, म बाँच्छु पनि भन्दै निरन्तर प्राण बचाउँन सङ्घर्ष गरिरहेँ। यमराजसँग प्राणको भिख मागेको जस्तो महसुस भयो। जबर्जस्ती सहँदा सहँदै पूरै गलिसकेको थिएँ म। पीडा उस्तै थियो। एक्कासी बुबा कोठामा आएर ज्वरो नापेर सिटामोल खाइस् त भनेर सोध्नुभयो, रातीको २ बजेको रहेछ। सिटामोल खाएको आठ घण्टाभन्दा बढी भैसकेको रहेछ। होसमा भएको भए पो खान्थेँ, मर्न लागिसकेको थिएँ। त्यसपछि बुबाले ज्वरो नाप्दिनुभयो। ज्वरो १०३ डिग्री पुगेको रहेछ अनि सिटामोल खाएर पल्टिएँ। पीडा उस्तै थियो, तर जसरी भएपनि सहनुपर्छ भन्ने भइसकेको थियो मलाई। रातभरि सुतिएन, अनिधो बसी जीवन र मृत्युको लडाइँमा निरन्तर सक्रिय भएँ। कसरी निदाउन सकिन्थ्यो र त्यो छटपटाहटमा। जसरी पनि बाँच्नु थियो मलाई, हिम्मत र अदम्य साहस जुटाएर। त्यो रात त्यसरी नै बित्यो जीवन र मृत्युको लडाइँ लड्दा लड्दै।

अर्को दिन असोज ३० गते बिहानको सूर्यको उज्यालो किरणले अलिकति भए पनि बाँच्ने आशा जगायो तर पनि हामी सबैको स्थिति यथावत् नै थियो। न उठ्न सकियो न त बस्न नै। केवल खाटमा पल्टिएका थियौँ। घाँटी दुखेर हैरान भएको थिएँ म, एकतिर रुघा खोकी लागेको थियो अर्कोतिर शरीर पूरै शिथिल भएको थियो। ज्वरो पनि आइरहेकै थियो। त्यसपछि बिहान बुबाले बेसार, ज्वानो पानी बनाएर खुवाउनुभयोे। त्यो खाएको केही समयपछि बाफ लिनुपर्यो भनेर एउटा भाँडामा तातो पानी हालेर बाफ लिन थालेँ तर बाफ लिँदा लिँदै भोमिट भयो मलाई। झन् बढी कमजोरी भयो शरीरमा। उठेर खाना पकाएर खाने स्थिति पनि थिएन अनि त्यसको लगातार ३ दिनसम्म घरको सबै काम बुबाले गर्नुभयो आफूले सकी नसकी भएपनि। हामीलाई खाना पकाएर खुवाउनेदेखि भाँडा माझ्ने काम सबै बुबाले गर्नुभयो। खाना रुच्दैनथ्यो, मुख खल्लो खल्लो भयो। के खाएको हो भन्ने केही स्वाद थाहा पाइनँ मैले। अलिकति खाना पनि बढी हुन्थ्यो। न त स्वाद थाहा पाइयो न त गन्ध नै। असोज ३० गते आयुर्वेदको चिकित्सकको सल्लाहमा विभिन्न आयुर्वेदिक औषधि जस्तै, गुडुचि सत्व, सितोपलादी, जेटीमधु, पारिजातको पात, अदुवा, कस्तूरी भूषण, भिटामिन सी आदि सेवन गर्न थाल्यौं। गुर्जो पहिलेदेखि नै खाइरहेका थियौँ। अन्य आयुर्वेदिक औषधी अंकल र दाइले ल्याएर घरको गेटसम्म छोड्नुभयो। त्यही औषधी हामी सबैले खान थाल्यौ।

कार्तिक १ गते राति १ बजे झन् बढी गाह्रो भयो मलाई। ओठ, मुख घाँटी सबै सुक्यो। सास फेर्न पनि एकदम गाह्रो भयो। सुख्खा खोकी पनि लाग्यो। टाउको पनि बेस्सरी दुख्यो। त्यसपछि उठेर दुई ग्लास तातो पानी खाएँ तर पानी खाएको २ मिनेटमै घाँटी र पेट दुख्ने गरी सबै भोमिट भयो । भोमिट भैसकेपछि केही हलुका महसुस त भयो तर एकदम गाह्रो भयो। ज्वरो पनि आइरहेकै थियो। एक्कासी पहिलो दिनमै सबै लक्षणले शरीरमा डेरा जमाउन थालेपछि म निष्कर्षमा पुगेँ की कोरोना नैं लाग्यो भनेर। तर कसरी कताबाट कसबाट लाग्यो भन्ने कुरा ठम्याउन सकिनँ। देखिने भएको भए पो देख्नु फेरि। घरबाट बाहिर अरू कुनै ठाउँमा त्यस्तो घुम्न पनि गइएको थिएन। हुने हार दैव नटारजस्तै भयो हाम्रो जीवनमा।

असोज २९ गते हामी सबैलाई कोरोना भाइरसले भेटेको अनुभूति हुनासाथ हामीले अरू कसैलाई असर नपरोस् भनेर उच्च सतर्कता अपनाउदै छिमेकीलाई पनि जानकारी गरायौँ र घरमा चाहिने आवश्यक सामग्री अंकल, आन्टी, दिदी र दाइले ल्याएर गेटसम्म छोडिदिनु हुन्थ्यो। घरभित्र कसैलाई पनि पस्न दिएनौँ। सधैँ आवश्यक पर्ने पानीको जार, तरकारी आदि अन्य खाद्य सामग्री पनि पसलको दाइलाई घरको गेटसम्म छोडिदिनु भन्यौँ। घरभन्दा बाहिर निस्किन पनि गाह्रो महसुस भयो। भित्रैदेखि मन पूरै डर र त्रासको सिकार भइसकेको थियो। सधैँ मलाई देख्ने बित्तिकै दिदी भन्दै टाढैबाट दौडेर अंगालोमा बेरिन आउने टोलका साना बच्चाहरूको झन् बढी पीर लाग्यो अनि तिनीहरूलाई केही गरी मबाट सर्यो भने के होला भन्ने डर लाग्यो।

सकेसम्म सिटामोल लिन बाहिर मेडिकलमा जाँदा उनीहरू नभेटिउन जस्तो लाग्यो। त्यसपछि यसरी बसेर भएन तुरुन्त पीसीआर टेस्ट गरिहाल्नु पर्यो भनेर अरूलाई हामीबाट संक्रमण नहोस् भनी विस्तारै भएपनि हिँडेरै कार्तिक २ गते बुबाले र कार्तिक ३ गते मम्मी र मेरो ह्याम्स हस्पिटलमा गएर पीसीआर टेस्ट गरायौँ। कार्तिक ४ गते मम्मी र मेरो, अनि कार्तिक ६ गते बाबाको हामी सबैको रिपोर्ट पोजिटिभ आयो। आफ्नो कार्यक्षेत्रबाट दशैँ मान्न कार्तिक ३ गते फर्किएकी दिदीलाई समेत घरमा छिर्न नदिएर अंकलको घरमा पठाइयो। ५/६ दिनमा हामी सबैको ज्वरो कन्ट्रोल भइसकेको थियो तर बाबालाई १२/१३ दिनसम्म ज्वरो कन्ट्रोल भएन। हाम्रो स्याहार सुसार गर्दा गर्दै हामीबाट फेरि सर्यो बुबालाई। अर्थात् डबल यट्याक पर्यो।

एउटा कोरोना लागेको व्यक्ति अर्को सामान्य व्यक्ति मात्र नभएर कोरोना लागेको व्यक्तिको सम्पर्कमा पनि आउनुहुँदैन। तर के गर्नु बाध्यता भएपछि। आफू मात्र बाँचेर के गर्नु भनेर रातदिन हाम्रै लागि खट्नुभयो बुबा। एकतिर ज्वरो रोकिएको थिएन अर्कोतिर छाती पनि दुख्न थालेको थियो । त्यसपछि ह्याम्स हस्पिटलमा कार्यरत एकजना साथीको सल्लाहमा अक्सिजनको मात्रा समय समयमा चेक गरेर रेकर्ड राख्नुपर्ने र अक्सिजन लेवल ९० मा झर्यो भने तुरुन्त अक्सिजन दिनुपर्छ भनेपछि कार्तिक ९ गते म अक्सिमिटर लिन ह्याम्स हस्पिटल नजिकैको मेडिकलमा गएँ तर बन्द थिए सबै। त्यसपछि म घर फर्किएँ। घर फर्किँदा बाबालाई एक्कासी एकदम गाह्रो भइसकेको थियो। त्यसपछि हस्पिटल तुरुन्तै जानुपर्छ भनेर सोही दिन नवमीमा ११ बजे टिचिङ हस्पिटलको इमरजेन्सीमा गयौँ। त्यहाँ गएको केही मिनेटमा एकजना नर्सले बुबाको प्रेसर, अक्सिजन सबै नापिदिनुभयो। सुरुमा नाप्दा प्रेसर एकदम बढेको थियो। म झन् बढी आत्तिएँ, नर्स पनि एकछिन् आत्तिनुभयो र फेरि अर्को हातमा प्रेसर नाप्नुभयो र अलि कम देखायो अनि अलिकति राहत भयो । प्रेसर ठिकै भएपनि बाबा पूरै गलिसक्नुभएको थियो।

त्यसपछि त्यहाँ अरू दुईजना डाक्टर आएर एकछिन बिरामीको सोधपुछ गर्दा सम्पूर्ण कुरा मैले बताइसकेपछि हामीलाई गणेशमान भवनमा बुझ्न पठाइयो तर त्यहाँ सोध्दा यो त छुट्टै प्रोटोकल हो, यहाँ होइन उता इमरजेन्सीमै जान भनियो।डाक्टर को हो कतिखेर आउनुहुन्छ भनेर सोध्दा उनीहरूको जवाफ थियो, डाक्टर कतिखेर आउनुहुन्छ ठेगान हुँदैन, कुरेर बस्नु भनियो। आफूले विश्वास गरेको संस्थामा समेत उपचार पाउन गाह्रो रहेछ। इमरजेन्सीबाट गणेशमान भवनमा जा भन्छ एकतिर अर्कोतिर गणेशमानबाट इमर्जेन्सीमा जा भन्छ कि डाक्टर कुरेर बाहिर बस् भन्छ। बाबाको अवस्था एकदम नाजुक भइसकेको थियो तर हस्पिटलको त्यस्तो व्यवहार देखेपछि एकदम नरमाइलो लाग्यो । भित्रैदेखि चित्त दुख्यो। बाबाको त्यो अवस्था देख्दा आत्तिसकेको थिएँ म । त्यसपछि अब यसरी बसेर हुँदैन भनेर तुरुन्त फेरि इमरजेन्सी वार्डमा गयौँ। त्यहाँ भएका ३/४ जना डाक्टर र नर्स सँग कुरा गरेँ मैले तर उनीहरूले खासै वास्ता गरेनन्। उपचारको लागि तड्पिदा तड्पिँदै १२: ३० बजिसक्यो तर सामान्य प्राथमिक उपचारको व्यवस्था पनि गर्दिएनन् । बेड खाली छैन भन्न थाले। त्यसपछि फेरि गएर तिनै डाक्टरसँग कुरा गरेँ । डाक्टर भएर जाबो सामान्य ल्याब टेस्ट पनि गराउन सक्नुहुन्नरु कम्तिमा के भएको हो, न्युमोनिया भएको हो कि टाइफाइड भएको हो, छातीको एक्सरे त गरिदिनुस् कम्तीमा भनेर भनेपछि छातीको एक्सरे गर्न लगायो। एक्सरे गर्दा छातीमा निमोनिया देखियो।

त्यसपछि हजुरको हिस्ट्री हेर्दा हजुरलाई घर पठाउन चाहिँ मिल्दैन,यहाँ पनि बेड खाली छैन, बरु हामी अर्को कुनै प्राइभेट हस्पिटलमा कि त वीर हस्पिटलमा रिफर गर्दिन्छौँ, त्यतै जानुस् भने। बिरामीको अवस्था झन् झन् बिग्रिँदै छ,अर्को हस्पिटलमा जा भन्दा झन् रिस उठ्यो मलाई। ‘त्यसपछि बिरामीको अवस्था हेर्नुस् हजुरहरू, यता जा र उता जा, अर्को हस्पिटलमा पठाइदिन्छु भन्नेरुयता उता गर्दा गर्दै बाटोमा नै बिरामीलाई केही भयो भने ? हजुरहरूको जिम्मेवारी, उत्तर दायित्व के हो ? हजुरहरुलाई त्यसै भगवानको स्थान दिएका होइनन् मान्छेले। डाक्टर प्रतिको विश्वास नै उडाउने काम गर्नुहुन्छ हजुरहरू ?  डाक्टर भैसकेपछि आफ्नो कर्तव्य के हो, त्यो पूरा गर्नुस् नत्र सिधै भन्नुस् हामी केही गर्न सक्दैनौँ भनेर । हामी अरू कुनै हस्पिटल जाँदैनौं अहिले, यहीँ उपचार गर्न भनेर आफूले विश्वास गरेको संस्थामा आएका हौँ हामी। सक्नुहुन्छ तुरुन्तै प्राथमिक उपचारको व्यवस्था गर्नुस्, आवश्यक ल्याब टेस्ट गर्दिनुस् र औषधी लेख्दिनुस, मिल्छ भने त्यसपछि घरमै गएर होम आइसोलेसन बस्छौँ’  मैले भनेँ। त्यति भनिसकेपछि एकजना डाक्टरले औषधि लेखिदिए र एकजना नर्सको सहयोगमा आवश्यक ल्याब टेस्ट पनि गराइदिए। हामी बेडको लागि व्यवस्था मिलाउने कोसिस गर्छौं, घर जान मिल्दैन भनेर उनीहरूले भने। त्यसपछि उक्त औषधि ल्याएर बुबालाई खुवाएँ। त्यसपछि अलि ज्वरो कन्ट्रोल भयो।

दिउँसोको २ बजिसकेको थियो त्यसपछि उनीहरूले भनेअनुसार मैले आइसोलेसन भर्नाको लागि बेड चार्ज तिरेर आएँ तर साँझ ४ बजे ल्याब टेस्टको सबै रिपोर्ट आइसक्दा पनि आइसोलेसन वार्डमा पठाइएन। बीच बीचमा गएर सोधेँ डाक्टर नर्सलाई तर बारम्बार उनीहरूको प्रतिक्रिया केवल यही थियो कि ‘प्रोसेस चल्दै छ, पर्खिनुस् न’। त्यसपछि साँझ ६ बजेतिर एकजना डाक्टर आएर तपाईंहरू किन यहाँ बसेको, बेड खाली छैन, हजुरहरू अहिले नै बाहिर निस्किनुस् भने। म अचम्मित परेँ, उनको कुरा सुन्दा। बिहान ११ बजे देखि साँझ ६ बजेसम्म बाँकी उपचार पाउने आशामा हरेक पल हरेक क्षण छट्पटाइ बसेका हामीलाई दिउँसो २ बजेतिर नै बेड चार्ज तिरिसकेपछि पनि साँझ बेड खाली छैन भन्न कसरी सकेका होलान्। डाक्टरले त्यसो भन्दा झनक्क रिस उठ्यो अनि रिस कै पारामा झोक्किएर भनेँ  ‘के भनेको यस्तो ,अलि कति पनि लाज लाग्दैन हजुरलाई , दिउँसो २ बजे बेड खाली छ भनेर बिल तिरेर आइसकेपछि यस्तो भन्ने अहिले ? यस्तो लापरबाही गर्ने मान्छेको जीवनसँग ? त्यति भनेपछि पैसा तिरेको बिल देखाएँ हेर्नुहोस प्रमाण भनेर। त्यसपछि हामीलाई यस्तो लापरबाही भन्ने शब्द प्रयोग नगर्नुस् भन्दै क्रोधित भए। हजुरहरू आफ्नो काम इमानदार पूर्वक गर्नुहोस् हामी केही भन्दैनौँ र अरूलाई पनि भन्ने मौका नदिनुस् भनेँ मैले। हजुरहरू यति गर्न सक्नुहुन्न भने सिधै डिरेक्टरलाई फोन गरेर भन्नुपर्ने भए पनि भन्छौँ हामी भनेर हामीले भन्यौँ। त्यसपछि होइन हामी केही गर्छौ भनेर गणेशमान भवनको मान्छेलाई फोन गरे । त्योभन्दा अगाडि फोन नैं उठाउँदैनन् भनेर टार्ने काम गरे। कतिखेर उता पठाउँछन् भनेर कुर्दा कुर्दै साँझको ७ बजिसक्यो तर पनि केही वास्ता गरेनन्। फेरि गएर उनीहरूसँग सोधे तर उनीहरूले भने ‘हामीले कागजातहरू उता पठाइसकेका छौँ, उताबाट मान्छे लिन आफै आउँछन्। हामीले गर्ने यत्ति हो अब ।’ त्यसपछि फेरि फोन गर्न लगाएँ एकजना नर्सलाई त्यसपछि बल्ल एकजना सिस्टर आएर हिँड्नुस म पुर्याइदिन्छु आइसोलेसन वार्डमा भनेर भनिन् । त्यसपछि गणेशमान भवनको इएन् टि आइसोलेसन वार्डमा गयौँ तर त्यहाँ पनि हामीलाई नसोधेर किन आएको, बेड खाली छैन भनेर भने। त्यसपछि हामीले बिल तिरेर आइसकेपछि बेड खाली गराउने हजुरहरूको काम हो भनेर बेड खाली गर्न लगाएर त्यहाँ साँझ ७ :३० बजेतिर आइसोलेसनभित्र गयौँ।

यसरी जीवन बचाउनका लागि दिनभरि झगडा गरेर जबर्जस्ती हस्पिटलमा भर्ना हुनुपर्यो। हुन त सोही हस्पिटलमा कार्यरत स्टाफले समेत आइसियु, भेन्टिलेटर नपाएर आफ्नो ज्यान गुमाउन पुगेको दुःखद खबर पनि सुनेँ मैले। हामी त झन् सामान्य मान्छे, झन् गाह्रो हुँदो रहेछ, बल्ल बल्ल झगडा गरेर भएपनि जबर्जस्ती एउटा बेड पाइयो। भिआइपी मान्छेको लागि हस्पिटलमा छुट्टै कक्ष भनेर छुट्याइएका हुन्छन् तर सामान्य मान्छे बिरामी हुँदा उसको लागि विशिष्ट सेवा के छ सरकाररु जीवन त सबै मानिसहरूको एउटै हो नि, सबैलाई बाँच्ने अधिकार छ, उपचार पाउने अधिकार छ तैपनि किन यस्तो बिजोगरु उपचारका लागि तड्पिदा तड्पिदै मर्नुपर्ने अवस्थाको सिर्जना भएको छ। कठै मेरो देशको अवस्था अनि सरकारले बिरामीको लागि उपचारार्थ गरेको व्यवस्था। अहिले कोरोना परीक्षण निःशुल्क गराउने भने पनि के यो पूर्ण रूपमा लागू भएको छ त सरकाररु आफ्नै देशमा आफैले विश्वास गरेको सरकारी संस्थामा बिरामी हुँदा उपचार गराउन झगडा गर्नुपर्ने यो कस्तो विडम्बना सरकाररु रिपोर्ट आएको धेरै समयपछि फोन गरेर कता हो , कस्तो छ भनेर सोध्ने र तथ्याङ्क सङ्कलन गर्ने मात्र काम हो र सरकारको ?

मैले समाचारमा आएको, सुनेको र देखेकोभन्दा एकदम धेरै फरक पाएँ हस्पिटलको अवस्था। एकदम नराम्रो लाग्यो, एकदमै चित्त दुख्यो हस्पिटलमा केही डाक्टर नर्सहरुले बिरामीप्रति गर्ने त्यो अमानवीय व्यवहार देखेर। त्यसपछि लाग्यो मानवता भन्ने शब्द केवल अब शब्द कोषमा मात्र सीमित भइसक्यो। आइसोलेसन वार्डमा म आफू संक्रमित भएपनि १० दिनसम्म बाबाको कुरुवाको रूपमा बसेँ। आइसोलेसन वार्डमाभित्र डाक्टर कहिल्यै छिरेनन्। बाहिरै आउँथे कतिखेर आउँथे, कतिखेर जान्थेँ केही थाहा भएन। विभिन्न रोगका बिरामीहरूको उक्त रोगसँग सम्बन्धित उपचार गर्नुभन्दा अगाडि पीसीआर परीक्षण गर्न लगाउँदा रिपोर्ट पोजिटिभ आएपछि सोही आइसोलेसन वार्डमा भर्ना गरिने रहेछ। जबसम्म उनीहरूको रिपोर्ट नेगेटिभ आउँदैन तबसम्म उनीहरूको रोगको उपचार नगरिने रहेछ। किड्नीका बिरामी, प्रेसरका बिरामी, मुटुका बिरामी लगायत अन्य सवारी दुर्घटनामा परेर खुट्टा भाँचिएका बिरामी र सुत्केरी महिला समेत आइसोलेसन वार्डमा भर्ना भएको देखेँ।

आइसोलेसन वार्डमा नै एउटा सुत्केरी महिलाको डेलिभरी पनि भयो। सबैको आफ्नो आफ्नो पीडा थियो। केही बिरामीले समयमै आइसियु नपाएर आफ्नो ज्यान गुमाउन पुगे अनि केही बिरामी कतिखेर डाक्टर आउँछ र उपचार गरिदिन्छ भन्ने आशामा छट्पटाइरहेका थिए। बिरामीको अवस्था बिग्रिँदै जाँदा पनि एक दुई घण्टासम्म पनि डाक्टर नआएपछि कहाँबाट कसरी बाँच्दा हुन् त बिरामी। यस्ता दृश्य देखेर भित्रैदेखि मन चिसो भयो। निराश पनि भएँ म। डाक्टरको दर्शन पाउन पनि एकदम गाह्रो रहेछ। दैनिक समय समयमा बिरामीको प्रेसर, अक्सिजन, पल्स रेट देखि तापक्रम, सुगर सबै आफैले यानकी बिरामीको कुरुवाले नापेर उनीहरूलाई रिपोर्टिङ गर्नुपर्ने रहेछ। कस्तो अचम्म लाग्यो तर मैले त्यसलाई सिक्ने अवसरको रूपमा लिएँ र केही नयाँ कुरा सिकें पनि। त्यसमा खुसी थिएँ म तर डाक्टर नर्सले आफ्नो डिउटी न निभाएकोमा साह्रै दुःख लाग्यो। बाँच्नु उनीहरूको पनि अधिकार हो तर एउटा डाक्टर भैसकेपछि पिपिइ लगाएर पनि बिरामी चेक गर्न हिच्किचाउने रु डाक्टर रक्षक होइन भक्षक जस्तो लाग्यो। जिउँदै मान्छेलाई मार्छन् तिनीहरूले त जस्तो लाग्यो। न नर्सले नाप्ने गर्थे न त डाक्टरले नै। डाक्टरको त अनुहार देख्नै गाह्रो रहेछ। नर्सहरू भने दिनमा तीनपटसम्म एन्टिबायोटिक दिन आउँथे। अरू त अरू आफ्नो बिरामी छोडेर अर्को कोठाको बिरामीको सुगर जाँच्न समेत कुरुवालाई लगाइयो। त्योभन्दा घिन लाग्दो कुरा अरू के भयो र कर्तव्य विमुख केही डाक्टर नर्सलाई। आफ्नो कर्तव्य बाट पन्छिन खोज्नेहरू। आइसोलेसन वार्डमा भर्ना भएको दिनको राति १ बजेतिर बुबालाई ज्वरो आयो।त्यसपछि नर्सहरू कोही छन् की भनेर बोलाउन बाहिर निस्केँ म तर त्यो वार्ड पूरै सुनसान थियो। कोही पनि भेटिएनन् अनि फर्केर आएर आफैले बुबालाई दिउँसो दिएको एउटा सिटामोल खुवाइदिएँ। त्यसरी डाक्टरको दर्शन पाउनै गाह्रो हुने हस्पिटलमा बस्नुभन्दा त घरमै एकदम ठीक लाग्यो तर के गर्नु बाध्यता पर्यो। यसरी नै हस्पिटलमा रात दिन अनिधो बसेर चिसो भुइँमा एउटा म्याट र तन्ना ओछ्याएर ब्ल्यान्केट ओढेर कुरुवाको रूपमा बसियो। बस् केवल मलाई मेरो बुबा ठीक भइदिए पुग्छ भनेर मनमनै प्रार्थना गर्थेँ। तर हस्पिटलको त्यस्तो अवस्था देखेर म अलि निराश भएँ।

दैनिक बिहान बिरामीको लागि आवश्यक औषधि र अन्य सामग्री लिन पठाइन्थ्यो । त्यहाँ बसेको ५/६ दिनसम्म पनि डाक्टर नआएपछि मैले नै गएर भेट्ने निधो गरेँ। डाक्टरसँग भेट त भयो तर यति नम्बर बेडको प्यासेन्ट हेर्नुपर्यो भनेँ तर ५/६ मिटरको दुरीमा बसेर भन्दा पनि उनी किन नजिक आइस् अलि पर जा भन्दै क्रोधित भए। उनको बोलीमा अलिकति पनि शिष्टता थिएन। उनको त्यो व्यवहारले मुटु नै च्वास्स भयो। जे जस्तो भएपनि मलाई मेरो बुबाको बढी चिन्ता थियो। त्यसैले म त्यहीं उभिरहेँ, उनले अझै वास्ता गरेका थिएनन् तर म पनि आफ्नो अडान नछोड्ने पक्षमा थिएँ अनि फेरि उनलाई बुबाको अवस्था बारे बताएँ अनि रिपोर्ट हेर्न लगाएँ जबर्जस्ती ।

त्यसपछि छातीको एक्सरे र अन्य ल्याब टेस्टको रिपोर्ट हेरिदिए अनि अर्को एउटा ल्याब टेस्ट गर्न लगाए। त्यसपछि अर्को एउटा औषधि पनि थपियो अर्कोदिन। दिनहुँ बिहान औषधि लिन जानुपर्थ्यो। दिनमा तीनपटक सलाइनबाट औषधि चढाइन्थो। ल्याएको सबै औषधि प्रयोग भएको थिएन। सबै रेकर्ड राखेको थिएँ मैले। अर्कोदिन फेरि त्यही औषधिको मात्रा बढाएर किनेर ल्याउन भनियो। त्यसपछि मैले यो औषधि केमा कसरी केका लागि प्रयोग हुन्छ भनेर मेडिकलबाट पहिले नै बुझेर आएको थिएँ। त्यसपछि आइसोलेसन वार्डमा केही नर्सलाई पनि सोधेँ। त्यो दिन केही भनिनँ। अर्कोदिन फेरि त्यही औषधिको मात्रा बढाएर किनेर ल्याउन भनियो। एउटा बाँकी हुनुपर्ने यो औषधि त, त्यो कहाँ प्रयोग भयो भनेर सोध्दा एकजना सहयोगी शिष्ट स्वभाव भएकी सिस्टेरले त्यो पछि इमरजेन्सी पर्यो भने काम लाग्छ भनेर एक्स्ट्रा मगाएको हो भनेर भनिसकेपछि अलि ढुक्क भएँ। तर एकहप्तापछि उहाँहरूको डिउटी सकिएर नयाँ नर्सहरूको आगमन भयो। डिउटी चेन्ज भएको सुरुको दिन दुईटा औषधि बाँकी हुनुपर्ने थियो तर फेरि त्यो दिन त्यही औषधि ४ ओटा मगाइयो। उक्त औषधी ल्याएर उनीहरुलाई बुझाउनु पर्थ्यो।

त्यसै समयमा मैले एकजना नर्सलाई सोधेँ र बाँकी औषधि खोइ भनेर सोधेँ र हेर्न लगाएँ। बाँकी भएको दुईटा औषधिमा केवल एउटा मात्र थियो। अर्को कहाँ गयो भनेर सोध्दा उनीहरूले थाहा छैन हामीलाई भने। त्यसपछि किनेर ल्याएको औषधि मध्ये एउटा औषधि तपाईं नै राख्नुस् , हामी मिलाउँछौं अरू, भोलि दिउँसोसम्म पुग्छ भनेर भनियो तर त्यही १७ गते राति सलाइनबाट १०० एमएलको बोतलबाट सलाइन चढाएर औषधि दिनुपर्ने ठाउँमा २० एमएलको इन्जेक्सनबाट औषधी दिइयो। त्यो राति सबै बिरामीलाई त्यही इन्जेक्सनबाट औषधि दिइयो। अझ एकजनाको पूरै औषधि छैन भनेर बोलाए। बिहान किनेर ल्याएको औषधि गायब भयो।

त्यसपछि त्यो आन्टीले औषधी किनेको बिल देखाएपछि चुप लागे। त्यसको भोलिपल्ट १८ गते बिहान पनि त्यस्तै इन्जेक्सनबाट औषधि दिइयो सबै बिरामीलाई। बुबालाई पनि । त्यसपछि सधैँ सलाइनबाट १०० एमएलको बोतलबाट औषधि दिने गरेको थियो तर आज किन इन्जेक्सनबाट दिएको भनेर मैले सोधेँ । तर उनले केही हुँदैन, यो इन्जेक्सनमा औषधि बढी र पानी कम छ, नत्र ओभर लोड हुन्छ, दुख्छ भनेर मात्रै टारिन्। सोही दिन बिहान केही नर्सको अभद्र व्यवहार देखेर त्यहाँ एकछिन् पनि बस्न मन लागेन। पूरै सिण्डिकेट लगाएजस्तो गरे, औषधिको लिस्ट त दिए तर औषधी लिन बाहिर जान दिएनन्। ‘पैसा हामीलाई दिनुहोस्, हामी नै ल्याइदिन्छौँ औषधि र अन्य आवश्यक सामग्री । तपाईंहरू त यहाँ नबसे पनि हुन्छ, यत्रा ५०/५४ वर्षका मान्छेलाई नी कुरुवा चाहिन्छ कहीँ। आफ्नो ख्याल आफै गर्न सकिहाल्छन् नी । तपाईंहरू आफ्नो आफ्नो ओछ्यान उठाएर बाहिर गएर सुत्नुस्’ भनेर एकजना सिस्टरले भनिन्। कसरी त्यस्तो भन्न सकेकी होलिन् जस्तो लाग्यो। यस्तो घिन लाग्दो अमानवीय व्यवहार देखेर भित्रैदेखि मन कुँडियो। पूरै नाकाबन्दी लगाएको जस्तो गरे, बाहिर जाने बाटोमा लहरै कुर्सीहरु राखेर बन्द गरिदिए। त्योभन्दा बाहिरको ढोकामा गार्ड राखेर ढोकाको बीचमा डोरी बाँधेर भित्रकालाई बाहिर जान र बाहिरका मान्छेलाई भित्र छिर्न दिएनन् । यस्तो व्यवहार त जेलमा पनि एउटा कैदीलाई गर्दैनन् होला जुन स्वास्थ्य उपचारका लागि खोलिएका सरकारी हस्पिटलमा गरियो। उनीहरूको व्यवहार देखेरै त्यहाँ एकछिन पनि बस्न ठीक लागेन।

त्यसको अघिल्लो दिन १७ गते नै मैले हस्पिटलबाट निस्किन सजिलो हुन्छ भनेर एकजना डाक्टरको सल्लाहमा मेरो पहिलेको पोजिटिभ रिपोर्ट आएको चौध दिनमा फेरि पीसीआर टेस्ट गराएँ। बाबालाई पनि स्वास्थ्यमा अलिकति सुधार आएको थियो। हस्पिटलको त्यस्तो बिजोग देखेर त्यहाँ एकछिन् पनि बस्न मन थिएन। न त खाने पानीको राम्रो व्यवस्था थियो न त बिरामीले खाने खानाको। पानी बाहिर पसलबाट किनेर ल्याएर खानुपर्थ्यो। बिरामीको लागि मात्र खाना आउन त आउँथ्यो तर बिरामीले खानेजस्तो खाना र नास्ता कहिल्यै आएन। नास्तामा चिउरा चना, चाउचाउ, पास्ता, चाउमिन चिल्लो पिरो रोटी तरकारी र खाना पनि चिल्लो पिरो आउँथ्यो। के यो सबै एउटा बिरामीले खाने खाना हो तरुयस्तो खाना कसरी खान सक्छ एउटा बिरामीलेरु बिरामीले समयमै खाना खान नपाउने, कहिल्यै १२ बज्थ्यो त कहिल्यै २/३ बज्थ्यो। खाना आएर पनि खानाको समस्या थियो सबैलाई।

कार्तिक १८ गते बिहान उनीहरूले गरेको त्यो अशिष्ट, अभद्र र अमानवीय व्यवहार देखेपछि त्यही दिन हस्पिटलबाट निस्किने निर्णय गरेँ। त्यस्तो वातावरणमा मैले बुबालाई कसरी राख्न सक्थेँ र। बाबाको ज्वरो पनि कन्ट्रोल भएर स्वास्थ्यमा सुधार आएको थियो। त्यसपछि एकजना डाक्टरलाई भेटेर स्वास्थ्य अवस्था भनिसकेपछि उहाँले बुबाको छातीको फेरि एक्सरे गर्न लगाउनुभयो र पहिलेको तुलनामा अहिले धेरै सुधार आएको छ, घरमै गएर सेल्फ़ होम आइसोलेसनमा बस्दा हुन्छ र रिपोर्ट आएको चौध दिनमा फेरि पीसीआर टेस्ट गर्ने सल्लाह दिनुभयो। बुबाको स्वस्थ्यमा सुधार आएको देखेर भित्रैदेखि एकदम खुसी लाग्यो मलाई अनि डिस्चार्जको प्रोसेस अघि बढाएँ। सोही दिन राति पाँच बजे तिर मेरो रिपोर्ट पनि नेगेटिभ आएर सजिलो भयो डिस्चार्ज हुन। त्यसपछि हस्पिटलबाट साँझ करिब ७ बजेतिर घर आइपुग्यौँ हामी। सबैभन्दा पहिले त बुबाको स्वास्थ्यमा पहिलेको भन्दा धेरै सुधार आएको देखेर एकदम धेरै खुसी थिएँ म अनि साथमा हस्पिटलबाट डिस्चार्ज भएकोमा। यसरी केही डाक्टर र नर्ससँग लडाइँ झगडा गर्दै बुबाको स्वास्थ्य उपचार गराउन सफल भएँ। यसरी नै हस्पिटलको दस दिने बसाई सकियो।

असोज २६ गते राति डर लाग्दो सपना देखेको थिएँ। उक्त सपनामा म मर्दा मर्दै बाँचेको थिएँ। प्रायः सपना वास्तविक जीवनमा अनेक रूपमा देखा पर्छन् र कुनै न कुनै समस्या हुन्छ नै। यो सपना आजसम्म देखेका सपना मध्य एकदम डरलाग्दो सपना थियो जुन अकल्पनीय थियो। त्यो सपना देखिसकेपछि मनमा अनेकथरी कुरा खेल्न थाले अनि भगवानसँग प्रार्थना गर्न थालेँ, अनुनय, विनय गर्न थालेँ की हे भगवान ! बिन्ती छ हजुरलाई यो सपना जत्तिको भयानक घटनासँग जुध्नु नपरोस्। रक्षा गर्नुस् हे प्रभु भन्दै । तर किन सुन्थेँ र ती निष्ठुरी भगवानले । आखिरमा सबैलाई थला पारेरै छोडे।कोरोना लागेर रिपोर्ट नेगेटिभ आएको पनि दुई महिना पुगिसक्यो तर अझै पनि कमजोरीले भने छोडेको छैन। शरीरलाई भित्रैदेखि खोक्रो बनाइदिने रहेछ कोरोना भाइरसले। धेरैबेर उठ्न, बस्न र हिँडडुल गर्न पनि गाह्रो हुन्छ। हिँड्न खोज्दा १०/१५ मिनेटमै पूरै शरीर गल्छ। अझै पनि बेला बेलामा छाती दुख्ने र सास फेर्न गाह्रो बनाइदिन्छ। चिसो मौसममा झन् बढी असर गर्छ। प्राकृतिक रोगले समेत यति धेरै दुःख दिँदैनथ्यो जुन कोरोना भाइरसले दियो।

अतः कोरोना महामारीसँग जुध्दै गर्दा त्यस्तो कठिन परिस्थितिमा मेरो, बाबा र सम्पूर्ण परिवारको स्वास्थ्यका बारेमा निरन्तर चिन्ता र चासोका साथ उपचारका लागि विशेष गरी अहोरात्र खटेर व्यवस्थापन गर्ने सहृदयी समस्त आफन्तजन, आदरणीय अग्रजहरू, शुभेच्छुकहरू र अस्पतालमा फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मी सबैप्रति हार्दिक आभारी छु । मलाई र मेरो बाबालाई हस्पिटल बस्दा बीचमा स्वास्थ्यमा केही समस्या पर्दा वा गाह्रो हुँदा सहयोग गर्ने सम्पूर्ण सहृदयी, शिष्ट स्वभावका मानवीय भावना भएका नर्सहरूलाई पनि हृदयदेखि नै धन्यवाद तथा हार्दिक आभार। मानवता अझैँ पनि केही मान्छेहरुमा जीवित नै छ भन्ने उदाहरण हो यो। यसका साथै फोन र मेसेज गरेर तथा सामाजिक सञ्जाल फेसबूक र मेसेन्जरका माध्यमबाट निरन्तर सम्पर्कमा रहेर शुभेच्छा र सद्भाव प्रकट गरी कोरोना महामारीविरुद्धको लडाइँमा अदम्य साहस र हौसलाका साथ लड्न उच्च मनोबल बनाएर विजयको शिखरमा पुर्याउनुहुने सम्पूर्ण मान्यजन, आदरणीय गुरुहरू, आत्मीय तथा प्रिय मित्रहरू सम्पूर्णलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद छ ।

साँच्चै भन्ने हो भने सुनाइ, देखाइ र सोचाइभन्दा पनि भोगाइमा धेरै नै फरक रहेछ कोरोना। यसलाई सामान्य मजाकको रूपमा नलिदिनुहोला। यो अत्यन्त घातक छ। यसविरुद्ध लड्न सबैभन्दा ठूलो कुरा त आत्मबल हो। कोरोनाको एकमात्र लक्षण नभएकाले समयअनुसार विभिन्न लक्षण देखिने गरेको पाइन्छ। त्यसैले सतर्कता अपनाउनु जरुरी छ। यो लक्षण रहित र लक्षण सहितको हुने भएकाले केही व्यक्तिलाई लक्षण देखिँदैन र केही व्यक्तिलाई लक्षण देखिन्छ। सबैभन्दा गाह्रो लक्षण देखिनेलाई हुन्छ भने लक्षण नदेखिनेलाई त्यस्तो केही हुँदैन। कोभिड निमोनिया एकदम खतरनाक हुन्छ जसले गर्दा समयमै उपचार पाएन र शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको खण्डमा मान्छेको ज्यान पनि जान सक्छ। साथै सबैले प्रशस्त मात्रामा तातो पानी खाइरहनुहोला। तातोपानीले एकदम धेरै काम गर्छ। स्वास्थ्यमा केही समस्या आएँ तुरुन्त हस्पिटल जानुपर्छ। सास फेर्न गाह्रो भयो र यदि अक्सिजनको मात्रा ९२ भन्दा तल झरेको छ वा ९० मा झरिसकेको छ भने तुरुन्त अक्सिजनको व्यवस्था गर्नुपर्छ नत्र बाँच्न गाह्रो हुन्छ। आफ्नो स्वास्थ्यप्रति सचेत तथा सजग र सुरक्षित हुन र चिसोबाट बच्न सम्पूर्णमा विनम्र अनुरोध गर्दछु ।

नोट : कोरोना महामारीसँग जुद्धै गर्दा र हस्पिटलबाट घर फर्किसकेपछि केही साथीहरूले मलाई सामाजिक सञ्जाल र फोन मार्फत कोरोना लाग्दा के के हुन्छ ? कस्ता खालका लक्षणहरू देखिन्छन् ? मिडियामा हस्पिटलका बारेमा आएका समाचार र आफै हस्पिटलमा बस्दा के अन्तर पायौ ?  भनेर प्रश्न गर्नुभएको थियो तर पूर्ण रूपमा स्वास्थ्य अवस्था ठीक नभएकाले सबैलाई उत्तर दिन असमर्थ भएकोमा माफी चाहन्छु। हुन त व्यक्तिगत भोगाइ शब्दले व्यक्त गर्न गाह्रो हुन्छ र पूर्ण रूपमा व्यक्त गर्न पनि सकिन्न। तैपनि ढिलै भएपनि आफ्नो कोरोना अनुभव र हस्पिटलको बसाईबारे यो लेखमार्फत सम्पूर्णलाई एकमुष्ट रूपमा उक्त प्रश्नहरूको उत्तर दिने प्रयास गरेको छु।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।