Logo माघ ६, २०७७ मंगलबार


म लेखनमा स्वतन्त्र छु र चाहन्छु : मुना चौधरी,लेखक

मुना चौधरी युवा पुस्ताकी सशक्त लेखक हुन् । मुलतः मधेसका विषयमा लेख्दै आएकी मुनाका जयवद्र्धन र सलहेश, दुलारी गरी दुई पुस्तक प्रकाशित छन् । हाल पोर्चुगलमा रहेकी मुनाको लेखन सक्रियता वास्तवमै लोभलाग्दो छ । उनी निरन्तर लेखिरहने थोरै लेखकमा पर्छिन् । गत वर्षको राष्ट्रव्यापी बाह्रखरी कथा प्रतियोगितामा उनको कथा लारले प्रथम पुरस्कार जितेको थियो । उक्त कथा लार लगायत मुनाको श्रृंखलावद्ध कथा मचान त्यसमा अभिव्यक्त यौनका कारण विवादित बनेका थिए । प्रस्तुत छ उनीसँग जनता समाचार डट कमका लागि दीपेन्द्र दोङ तामाङले गरेको संवाद :

तपाईलाई के कुराले लेखूँ लेखूँ लाग्ने बनाउछ ?

विद्यालय र विश्वविद्यालय पढ्ने नेवेलामा मैले आफ्नो परिवेश र समुदायको साहित्य पढ्ने अवसर पाइनँ । म मेरो गाउँ, ठाउँ र समाजको कथा पढ्न चाहन्थेँ । आफ्नो समुदायको कथा पढ्न नपाउँदा धेरै उदास हुन्थेँ । आफ्नो समुदायबाट अलग भएर शिक्षा आर्जन गरेको अनुभव हुन्थ्यो । आगामी पुस्ताहरुले म जस्तै आफ्नो संस्कृतिबाट अलग भएर शिक्षा आर्जन गरेको अनुभव नगरुन् भनेर म लेखन कार्यमा लागेँ । आफ्नो गाउँ, समाजको कथा सबैलाई पढाउन, सुनाउन र स्वस्थ समाज स्थापना गर्न लेखूँलेखूँ लाग्छ ।

विषय बस्तुको चयन कसरी गर्नुहुन्छ ?

म सबैभन्दा पहिला कथावस्तु निर्धारण गर्छु । मैले आफ्नो समाजमा देखेको, सुनेको तर समाजबाट बाहिर नआएका समाजका अँध्यारा पक्षहरु, समस्या, भोक , गरिबी, हिंसा, बिकृति र विसङ्गतिहरु के कस्ता खालका छन् ? त्यस्तो परिस्थिति कसरी सिर्जना भयो ? समाधानका लागि के गर्न सकिन्छ ? अबको समाज कस्तो हुनुपर्छ ? यी कुराहरुलाई म मनन गर्छु । सामाजिक पर्यावरण र समाजका घटनाहरुलाई केलाउँछु । समाजमा घटिरहेका जुन घटनाले मेरो मुटु छुन्छ त्यही घटनालाई म रोज्छु । प्रायः समय सान्दर्भिक घटना र विषयवस्तु चयन गर्छु ।

लेख्न बस्नु अघि केमा बढी ध्यान दिनुहुन्छ ?

लेख्न बस्नुअघि म समय र एकाग्रतामा ध्यान दिन्छु । मैले लेख्नुपर्ने कथावस्तुको प्रतिबिम्ब दिमागमा पहिला नै बनिसकेकी हुन्छ । लेख्न बस्दा म समय दिन सक्छु कि सक्दिनँ । कथावस्तुमा ध्यानकेन्द्रित गरेर एकाग्र भएर लेख्न सक्छु कि सक्दिनँ । लेख्नको लागि म तयार छु कि छुइनँ ? लेख्न बसे भने लेख्न सक्छु कि सक्दिनँ ? दिनभरि काम गरेर बेलुकी घर फर्किँदा थकाइ र आलस्य अनुभव भइरहेको हुन्छ । शरीरले आरामको माग गरिरहेको हुन्छ । ल्यापटप लिएर बस्दा पनि केही लेख्न मन लाग्दैन । त्यतिवेला म लेख्दिनँ । जतिवेला मेरो दिमागले लेख्न सक्छु भनेर निर्धारण गर्छ त्यतिवेला लेख्छु ।

साहित्य एकान्तमा मात्र लेख्न सकिन्छ भनेर भनिन्छ पनि तर म लेख्न बस्दा चार, पाँचजना साथीहरु मेरो छेउमा बसेर कुरा गरिहेका छन् भने पनि मेरो ध्यान साथीहरुको कुरा सुन्नेतिर जाँदैन । मेरो ध्यान विषयवस्तुमा केन्द्रित रहन्छ । कुनै कुनै वेला अफिसको ब्रेक टाइममा सबै साथीहरु मेरो छेउमा सँगै बसेर कुरा गरिरहेका हुन्छन् तर म लेखिरहेको हुन्छु । उनीहरु के बोलिरहेका हुन्छन् मेरो ध्यान त्यता हुँदैन । लेखनमा नै केन्द्रित हुन्छ ।

तपाईको लेखनीभित्र तपाईको उपस्थिति चाहिं कति प्रतिशत हुन्छ ?

मेरो लेखनीभित्र मेरो उपस्थिति शतप्रतिशत हुन्छ । कुनै पनि लेखनीमा लेखकको उपस्थिति भएन भने लेख्न सकिन्नँ । त्यो लेख फितलो हुन्छ । लेखक शतप्रतिशत उपस्थित हुनैपर्छ । त्यस्तो भएन भने कलापक्ष कमजोर हुन जान्छ । जुन विषयवस्तु पस्किन खोजिएको हुन्छ त्यो पस्किन सकिँदैन । एउटा पक्ष बलियो भए पनि अर्को पक्ष कमजोर हुन जान्छ । खाना पकाउने वेलामा तरकारीमा नुन, बेसार, मसला र खुर्सानी सही मात्रामा हाले मात्र त्यो तरकारी स्वादिलो बन्छ । लेखक पनि एक प्रकारको स्वादिलो लेख पस्केर पाठकलाई आस्वादन गराउन चाहन्छ । सबै पक्षलाई सन्तुलन मिलाएर स्वादिलो लेख पस्किन लेखक लेखनीभित्र शतप्रतिशत उपस्थित हुनैपर्छ ।

तपाईका कथामा यौनको उपस्थिति कुन बेला हुन्छ ?

घटनाले कुन परिवेशलाई समेटेको छ । कथावस्तु कतातिर गइरहेको छ ? कुन कथानक चित्रण गर्न खोजिरहेको छु ? पात्रहरु कुन अवस्थामा छन् ? पात्रहरुको बीचमा कस्तो खालको संवाद भइरहेकको छ ? घटना कतातिर गइरहेको छ ? पात्रहरु केको माग गरिरहेका छन् ? पात्र र परिवेशको मागअनुसार यौनको उपस्थिति हुन्छ ।

यौनलाई विषयले निर्धारण गर्छ कि यौनले विषयलाई ?

विषयले यौनलाई निर्धारण गर्छ । यौनले विषयलाई निर्धारण गर्दैन् । कथामा विभिन्न पात्रहरुको बीच घटना घट्छ । यौनले विषयवस्तु कहिले निर्धारण गर्दैन । एउटा लेखकले म यौनका बारेमा लेख्छु भनेर लेख्न बस्दैन । लेखक साहित्य लेख्न बस्छ । लेख्दै जाने क्रममा लोग्ने स्वास्नी वा प्रेमी, प्रेमीका बीचको दृश्य, एकान्त ठाउँ, सुमधुर जुनेली रात छ भने त्यतिखेर पात्रहरुको मागअनुसार यौन साहित्यको अनिवार्य प्रयोग हुन जान्छ र यो साहित्यको एउटा अंश बन्न पुग्छ ।

लेखनमा यौनको तागत कहिल्यै महसुस गर्नुभएको छ ? छ भने कहिले ?

शब्दमा त्यस्तो तागत हुन्छ जुन तागतले जस्तोसुकै कठोर मान्छेलाई पनि आफ्नो बनाउन सकिन्छ । लेखनमा मात्र होइन मानिसको ९० प्रतिशत दिमाग नै यौनमा हुन्छ । पुरुष होस् कि महिला । बाहिर कतै जानेवेला लुगा लगाएर ऊ पटक पटक ऐनाको अगाडि उभिएर आफैँलाई हेर्छ । कपाल मिलेको छ कि छैन् ? अनुहार राम्रो देखिएको छ कि छैन ? जिउको लुगा मिलेको छ कि छैन् ? ऊ अरुको आँखामा राम्रो देखिन्छ कि देखिँदैन ? उसले यो सबै कुराको विचार पटक पटक गरिरहन्छ । त्यो पनि त एकप्रकारको यौनात्मक संवेग हो ।
लेखनमा म यौनको कुरा मात्र हेर्दिनँ । सबै कुरालाई लिएर हिँड्नुपर्छ । विषयवस्तुमा केन्द्रित हुन्छु । त्यही कुरामा डुब्दिनँ । किनकि सबै पक्षलाई समेट्नुपर्छ । कथावस्तु, पात्रहरुबीचको संवाददेखि लिएर सबै पक्षलाई कलात्मक बनाउनुपर्छ । सबै पक्ष निखार्नुपर्छ । अविवाहित र विवाहित सबैलाई यौनको तागत अनुभव हुन्छ भने म झन विवाहित मान्छे । शब्दलाई उच्चारण गर्दा, वाक्य वा त्यस्तो घटनाक्रम पढ्दा यौनको तागत सबैलाई अनुभव हुन्छ । यो कुनै नौलो कुरा होइन ।

तपाईको कथामा मधेस, महिला अनि यौन किन घुमिफिरी आइरहन्छ ?

हरेक कुरालाई खोल्नको लागि केही न केही आएको छ । यौन मात्र होइन मेरा कथाहरुमा जनचेतना, गरिबी, दहेजप्रथा, प्रतीकार, हिंसाबिरुद्ध चेतना, समाज रुपान्तरण आएको छ । तपाईले मेरो कथामा घुमिफिरि यौन मात्र देख्नुभयो ? त्यति मात्र पाउनुभएको छ भने कथाभित्र जानुस् । अझै खोज्नुस् । विकृतिबाट समाजलाई अगाडि बढाइएको भावना छ । समाज परिवर्तनको आवाज छ ।

तपाई विद्रोहका लागि बोल्ड विषय छान्नुहुन्छ कि रुपान्तरणका लागि ?

रुपान्तरणका लागि म लेख्छु । समाजलाई मार्ग निर्देशन गर्न र जनचेतना फैलाउन लेख्छु । मैले बोल्ड विषय छानेको होइन । हाम्रो समाजले त्यस्तो विषय छान्न बाध्य बनाएको हो । तराई परिवेशका महिलाहरु हिंसा बिरुद्ध आवाज उठाएका भए म बोल्ड विषय छान्ने थिइन् होला । अहिले पनि समाजमा खुलेआम दहेज लिने, दिने काम जारी छ तर सबैजना चुप लागेर बसेका छन् । यसको बिरुद्धमा आवाज उठाउन महिला स्वयम् अगाडि आएका छैनन् । महिलाले आवाज उठाए बल्ल यो प्रथा समाप्त पार्न सकिन्छ ।
महिला हिंसाका घटनाहरु घटिरहेका हुन्छन् तर बोल्न कोही अगाडि आउँदैनन् । समाजमा बदनामी र बेइज्जत हुने डरले समाजमा त्यस्ता घटनाहरु भित्रभित्रै लुकाइन्छ । लुकाएर समस्याको समाधान हुने होइन । समस्याको पहिचान गरेर आगामी दिनमा त्यस्ता घट्ना घट्न नदिन र समाज रुपान्तरण गर्नका लागि म बोल्ड विषय छान्छु ।

तुलनात्मक रुपमा थारु समाजको खुलापनले लेखनीमा कतिको सहयोग पुगेको छ ?

धेरै सहयोग पुगेको छ । मेरो परिवारका सदस्यहरु सबैजना शिक्षित र साहित्य बुझ्ने भएका कारणले मैले लेख्दै गेरेको विषय वस्तुमाथि आजसम्म कहिले कसैले विरोध सिर्जना गर्नुभएको छैन् । यस्तो विषयवस्तु लेख्नुुहुन्न भनेर न मलाई समाजले दमन गरेको छ न त परिवारले । म लेखनमा स्वतन्त्र छु । समाज र परिवार सबैले यति मात्र भन्नुहुन्छ लेख्न छोड्नु हुँदैन । तिमीले लेख्नैपर्छ । समाज र परिवारको साथले नै म खुलेर लेख्न सकेकी हुँ । तर, थारु समुदाय मात्र होइन हाम्रो देशको पुरै समुदाय नै यौनको विषयमा घेरै सङ्कुचित छ । यो विषयमा जति खुल्नुपर्ने हो त्यति खुल्न सकेको छैन ।

बजारले लेखकलाई मार्गनिर्देशन गर्छ कि लेखकले बजार सिर्जना गर्छ ?

बजार सिर्जना गरेर लेखकले के पाउँछ ? लेखक वस्तु, भाव वा काउली, आलु होइन । अर्थात लेखक कुनै बिकाउ वस्तु होइन । लेखक कुनै व्यपारी होइन जसले व्यापार सिर्जना गर्छ । बोका काट्ने वेलामा व्यापारीले पैसा मात्र देख्छ । निर्दौष घर पालुवा जनावरलाई देख्दैन । तर लेखक सबै जीवजन्तु, पशुपक्षी र प्राणीको भलाइ र सुन्दर जीवन चाहन्छ । समाज परिवर्तन चाहन्छ । सबैको न्याय चाहन्छ । व्यापारी पैसाको पछि लागेको हुन्छ तर लेखक पैसाको पछि कहिले लाग्दैन ।

किताब लेखेर धनी भएको वा पैसा कमाएको कुनै लेखक तपाईँले भेटाउनुभएको छ ?  लेखक किन कुनै वस्तु होइन भने लेखक बजारमा बस्दैन । बजारले लेखकलाई खोज्छ ।लेखकले बजार खोज्दैन । लेखक बजारको मार्ग निर्देशनमा कहिले हिँड्दैन । लेखक स्वयम् फल्छ फुल्छ । आफूमा निहित भएको क्षमता उजागर गर्छ । निस्वार्थ भावनाले लेखक सबैलाई आफ्नो समाज र समाजको भावना पढाउन चाहन्छ । लेखक निष्पक्ष कुरा प्रष्ट निस्वार्थ भावनाले लेख्छ । नाफा र घाटा कहिले हेर्दैन । लेखक एउटा समाज सेवक हो ।

उदाहरणको लागि सन् २००८ मा लेखक सिल्भिया ब्राउनको पुस्तक ‘एन्ड अफ डेज, प्रिडिक्सन्स् एन्ड प्रोफेसिज, एबाउट द इन्ड एफ द वल्ड’ पुस्तक आएको थियो । यो पुस्तकमा कोरोना भाइरसको विश्वव्यापी प्रकोपको पूर्वानुमान गरिएको थियो । त्यतिवेला यो पुस्तक त्यति धेरै पढिएन । त्यतिवेला किन लेखकले बजार सिर्जना गर्न सकेन ? जब कोरोना महामारी संसारभरि फैलियो अनि बल्ल यो किताब खोजी खोजी पढ्न थालियो । यसको अर्थ न लेखकले बजार सिर्जना गर्छ न बजारले लेखकलाई मार्गनिर्देशन गर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।